Edukhabar
आइतबार, ०९ बैशाख २०८१
राम्रा कसरी राम्रा

विद्यालय सुधारको कथा : शिक्षक, कर्मचारीका सन्तान आफ्नै विद्यालयमा

मंगलबार, १९ बैशाख २०८०

भक्तपुर  -  चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालको नाउबारी स्थित महेन्द्रग्राम माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी पाएपछि शिक्षक सोम श्रेष्ठको अगाडि पहिलो चुनौति थपियो : ‘विद्यालयमा विद्यार्थी संख्या कसरी बढाउने ?’

यसअघि नै उनले नमिठो र मुटु चिमोट्ने अनुभव गरिसकेका थिए, विद्यार्थी संख्या नभए पछि विद्यालयलाई हेर्ने र शिक्षकलाई हेर्ने दृष्टि । 

‘विद्यार्थी कम भएपछि शिक्षाका सरोकारवालाहरुले गर्ने व्यवहार नै फरक हुने रहेछ’, उनले पाँच वर्ष अघिको अनुभव सम्झे, ‘कहिँ कतै, अझ भनौं, नगरपालिका, शिक्षा कार्यालय जाँदा, कुन स्कुल सोध्थे, स्कुलको नाम भन्यो नाक खुम्च्याउँथे ।’

तीतो अनुभवकै बीचमा उनी महेन्द्रग्राम माविमा सरुवा भए । त्यहाँ पनि अवस्था लगभग उस्तै थियो, २०७५ मा । त्यो समयमा जम्मा जम्मी २ सय जना विद्यार्थी पढ्थे ।

त्यो अवस्थामा विद्यालयको नेतृत्व गर्ने जिम्मेवारी आफूलाई आएपछि उनले संकल्प गरे, ‘म यो स्कुलमा विद्यार्थी संख्या कम्तिमा पनि ५ सय भन्दा बढी बनाउँछु ।’

‘एकातिर आफूले पहिला पढाएको स्कुलमा विद्यार्थी संख्या कम हुँदाको पीडाको चोट निको पार्नु थियो मलाई, अर्कोतिर, म यहीँको स्थानीय भएकाले यो स्कुललाई पहिला भन्दा राम्रो बनाउनु थियो,’ उनले भने, ‘त्यही भएर सुरुवात आफैंबाट गर्नुपर्छ भन्ने लाग्यो, मैले आफ्नै छोरालाई भर्ना गरेँ ।’

उनकै पछि लागे, विद्यालयका लेखापाल शिक्षक राजन ठकुरी पनि । ठकुरीले भक्तपुरकै नाम चलेको निजी स्कुलमा पढिरहेका छोरालाई निकालेर आफूले काम गर्ने मै भर्ना गरे । विद्यालय र ठकुरीको घरको दूरी करिब ५ किलोमिटर फरक भए पनि उनले परिवारका सदस्यलाई आफू काम गर्ने विद्यालयमै राम्रो पढाइ गराउने ग्यारेण्टी दिएर भर्ना गरे ।

त्यो भन्दा अघि विद्यालयले विद्यार्थी संख्या बढाउनका लागि पटकपटक घरदैलो गर्दा पनि स्थानीय अभिभावकले विद्यालय प्रति विश्वास नगरेपछि प्रधानाध्यापक श्रेष्ठ र लेखापाल ठकुरीको ‘त्यो आँट’ ले साँच्चै सुधार देखिन थाल्यो ।

‘पहिला घरदैलो जाँदा विश्वास नगरे पछि मैले आफ्नै छोरालाई भर्ना गर्न ल्याएँ, छोरालाई मात्र हैन, भाइ भतिजाका सन्तानलाई पनि स्कुलमा भर्ना गरेँ, उनीहरुको पढाइको जिम्मा म लिन्छु भनेर आश्वस्त बनाएँ । त्यो गरेकै वर्ष अर्थात् २०७६ मा एक सय जति विद्यार्थी बढ्यो, त्यो वर्ष स्कुलमा २९८ विद्यार्थी पुग्यो,’ प्रअ श्रेष्ठ सम्झन्छन् ।

उनले अभिभावकको विश्वास जित्नका लागि आँफैबाट सुरु गरेको र विद्यालयमा भर्ना हुन आउने विद्यार्थीको सिकाइ र पढाइको ‘ग्यारेण्टी’ लिँदा विश्वास बढाउन सजिलो भएको बताए ।

‘हामीले सुरु गरेपछि अभिभावकले पनि चोक चोकमा र बेलामौकामा त्यहाँको हेडसर र शिक्षकका सन्तान त त्यहीँ पढेका छन्, नराम्रो पढाइ हुने भए, त्यहाँ पढाउँछन् र ? भनी कुरा गर्न थाले, त्यो कुरा गराइ नै विद्यालयमा विद्यार्थी संख्या बढाउने सहयोगी विषय बन्यो’ ठकुरी भन्छन् ।

अहिले विद्यालयका प्रअ श्रेष्ठका छोरा सोभित, लेखापाल ठकुरीका छोरा, रिराज कक्षा ७ मा पढिरहेका छन् भने विद्यालयका शिक्षकहरुका सन्तान पनि यही विद्यालयको  विभिन्न कक्षामा अध्ययन गरिरहेका छन् ।

विद्यालयकी शिक्षक लक्ष्मी फुलाराकी छोरी जिविका पनि कक्षा ७ मै पढ्छिन् भने अनुदान शिक्षक लक्ष्मी दुलालकी छोरी सिर्जना कक्षा ८ मा, शिक्षक अम्बिका धितालका छोरा आदित्य, प्लेगु्रपमा खेलिरहेका छन् ।

शिक्षक मनोजकुमार सिंहका छोरी आरुषी एलकेजीमा, प्रकृति चौलागाइँकी छोरी ग्रिष्मा प्ले गु्रपमा, जुना तामाङ हेम्बाकी छोरी प्रशंसा एलकेजीमा, विना केसीकी छोरी सुवानी कक्षा ४ मा, प्रमिका मुसिख्वालका छोरा र छोरी, सम्यूल प्ले ग्रुपमा र स्मृति कक्षा १ मा, शिक्षक कमलीमाया श्रेष्ठका छोरीहरु श्रेया कक्षा ७ मा र अर्की छोरी समीक्षा प्ले गु्रपमा पढिरहेका छन् ।

त्यस्तै विद्यालयका कार्यालय सहयोगीहरुका सन्तानहरु पनि सोही स्कुलमा पढ्ने गरेका छन् । कार्यालय सहयोगी सबिना तामाङका दुई छोरामध्ये निर्जल कक्षा ४ मा र निर्मल एलकेजीमा, कार्यालय सहयोगी रेखा कार्कीका नाति श्रीराज कक्षा १० मा अध्ययन गरिरेका छन् ।

विद्यालयकै शिक्षक सुस्मिता श्रेष्ठका छोरा प्राञ्जल एलकेजी, अञ्जना कोजूका छोरा आरब नर्सरीमा, सानुकान्छी धाँजुकी छोरीहरु रसिका ४ कक्षामा र सारा एलकेजीमा, लक्ष्मी तिमल्सिनाका छोराहरु विश्वास कक्षा ३ बरुण एलकेजीमा, संगीता सुवालका छोरा सिमन कक्षा २ मा पढिरहेका छन् ।

अभिभावकलाई विश्वास दिलाउँदै र आफूप्रति आँफै विश्वस्त हुन थालेपछि विद्यालयले हरेक वर्ष थप एकसय जना नयाँ विद्यार्थी पाउँदै गएको छ । 

शैक्षिक सत्र २०७६ मा २९८ जना विद्यार्थी रहेको सो विद्यालयमा शैक्षिक सत्र २०७७ मा ३७५ जना, २०७८ मा ४१७ जना, २०७९ मा ५४९ जना पुगेको थियो । चालू शैक्षिक सत्र २०८० को बैशाख १८ गतेसम्म विद्यालयमा ६ सय १५ जना विद्यार्थी पुगिसकेका छन् ।

‘हामीले आफ्नो लक्ष्य पूरा गर्दैछौं, हामीले जुन लक्ष्य लिएर विद्यालयको नेतृत्व लिएका थियौं, त्यो पूरा हुँदैछ’, प्रअ श्रेष्ठले भने । विद्यालयमा शैक्षिक वातावरण मात्रै हैन भौतिक सुविधामा पनि उल्लेख्य सुधार भईरहेको छ । 

विद्यालयमा अध्यापनरत ४२ जना शिक्षकमध्ये १९ जना शिक्षकका सन्तान आँफैले पढाउने विद्यालयमा पढिरहेका छन् । अब क्रमशः शिक्षकहरुमा आफ्ना सन्तानलाई पनि आफूले पढाउने विद्यालयमै पढाउँदा राम्रो हुन्छ भन्ने भावना बढ्न थालेको छ ।

अहिले विद्यालयले विद्यार्थीको सिकाइ स्तर बढाउने रणनीति बनाएको छ । विद्यालयका प्रधानाध्यापक श्रेष्ठले अभिभावकले गरेको विश्वासलाई कायम गर्नका लागि शिक्षकहरुसँग सामूहिक छलफल गरी आवश्यक नीति र कार्यक्रम तय गर्ने गरेको बताए ।

‘हामीले हाम्रा विद्यार्थीको र आफ्ना सन्तानको भविष्य बिगार्ने छुट हामीलाई छँदै छैन, यसैले हामी अहिले गुणस्तर बढाउन तिर लागिरहेका छौं ।’

वि.सं. २०१५ सालमा स्थापना भएको विद्यालयले पछिल्लो समयमा शिक्षामा फड्को मार्दै गएको छ । विद्यालयको असल शैक्षिक अभ्यासका कारण विद्यालयले २०७८ सालको एसइईमा औसत २.७८ जिपिए हासिल गरी चाँगुनारायण नगरपालिकामा उत्कृष्ट तीन भित्रको विद्यालयमा परेको थियो । यसैगरी विद्यालयले नगरपालिकाले सञ्चालन गरेको कक्षा ८ को नगरस्तरीय परीक्षामा विद्यालयले २.७९ अंक हासिल गरेको थियो । यस विद्यालयको कक्षागत सिकाइ उपलब्धि सन्तोषप्रद छ । विद्यालयले कक्षागत सिकाइ उपलब्धिलाई ५० प्रतिशत भन्दा तल जान दिएको छैन ।

प्रतिक्रिया