Edukhabar
शुक्रबार, १८ असोज २०८१
राम्रा कसरी राम्रा

मेधावी मेधाको मेहनत

देशभरीका छ हजार आठ सय ४६ सामुदायिक विद्यालय १० कक्षाको अन्तिम परीक्षामा सहभागि भएकोमा सबैलाई पछि पार्दै भक्तपुर तेखापुखुको मेधा माध्यमिक विद्यालय उत्कृष्ट भएको छ ।

सोमबार, २४ भदौ २०८१

भक्तपुर - विद्यालयको उत्तर तर्फ रहेको घडीमा बिहानको ९ : १० बजेको छ । मुल गेटमा कार्यालय सहयोगीले ढिला भयो है ढिला, भोलीदेखि अलि छिटो आउनु ! भन्दै विद्यार्थीलाई सम्झाउँदै भित्र छिराइरहेकी छन् । गेटको ठ्याक्कै भित्र पट्टी उभिएका शिक्षकहरु विद्यार्थीलाई स्वागत गरिरहेका छन् । 

medha_gate

विद्यार्थी हतार हतार कक्षा तिर लम्किरहँदा शिक्षकहरुको हस्याङ् फस्याङ् पनि उस्तै छ ! विद्युतीय हाजिर मेसिनमा औंला थिचेर शिक्षक कोठामा पुगेका उनीहरुको पहिलो काम झोलाबाट ल्यापटप निकाल्नु हुन्छ । ल्यापटप निकालेको झोला थन्क्याएर कक्षामा जान उस्तै हतार ! 

९ः१५ मा पहिलो घण्टी लाग्यो । घण्टी लाग्नु अघि नै सबैजसो विद्यार्थी र शिक्षक कक्षामा छिरिसकेका छन् । घण्टी लागेपछि न विद्यार्थी भित्र छिरे न त शिक्षक नै । प्रधानाध्यापक पनि पहिलो घण्टी लाग्ने बित्तिकै कक्षामा छिरे । हरेक कक्षामा बज्न थाल्यो–‘धुन सहितको सयौँ थुङगा फुलका माला.....’ र विद्यालयको  आफ्नै गित । अनि सुरु भयो नियमित कक्षा । विद्यालयमा सबै विद्यार्थी अट्ने खुला ठाउँ नभए पछि विहानी प्रार्थना कक्षाकोठा मै हुन्छ । 

...                                                     ...                                                    ... 

भक्तपुरको मेधा माध्यमिक विद्यालयको दृष्य हो यो । सामान्यतया अरु विद्यालयहरुमा नियमित कक्षा विहान १० देखि चार बजेसम्म हुन्छ भने यहाँ विहान ९ः१५ देखि सुरु हुने कक्षा  बेलुका पाँच बजेसम्म चल्छ ।

‘मेधालाई मेधा बनाउन शिक्षकको योगदान त छदैँ छ तर, नियमित कक्षा भन्दा थप एक पिरियड योगदान दिनको लागि बिहान एक पिरियड र बेलुका एक पिरियड थप कक्षा चलाउने गरेका छौँ’ प्रधानाध्यापक श्याम हाडाले भने । 

medha_classroom

यसरी थप कक्षा चलाए बापत शिक्षकले थप सुविधा पनि पाउँदैनन् । विद्यालय बिहान ९ः१५ अगाडि र बेलुका ५ बजेपछि मात्रै चल्छ । एक जना शिक्षकले कम्तीमा पाँच पिरियड पढाउनै पर्छ । प्रधानाध्यापक हाडाले पहिलो घण्टीको कक्षा आँफै पढाउँछन् । उनी कक्षा १० मा गणित पढाउँछन् । चार बजे पछिको दुई वटा घण्टी पनि उनी १० कक्षामा अर्को सेक्सनमा पढाउँछन् । 

medha_classroom_2

अंग्रेजी माध्यममा पढाई । हरेक कक्षामा प्रोजेक्टरको व्यवस्था । ३ कक्षासम्म हरेक कक्षामा दुई जना शिक्षक । कुनै पनि पिरियड खाली नहुने गरी शिक्षक व्यवस्थापन । बार्षिक ८० लाख भन्दा बढी खर्चेर २३ जना नीजि स्रोतका शिक्षकको व्यवस्थापन । यी सबै तौर तरिका सुन्दा कुनै नीजि विद्यालयको व्यवस्थापन जस्तो लाग्न सक्छ तर यो यही मेधाको अभ्यास हो । 
नतिजाले देखाएको सुधारको चित्र 

राष्ट्रिय परीक्षा बोर्डले लिएको १० कक्षाको अन्तिम परीक्षा (एसईई) मा मेधाको नतिजा गजपको आयो । एक सय भन्दा धेरै विद्यार्थी सहभागि गराएर सत प्रतिशत विद्यार्थी ग्रेडेड गराउने देशभरीमै मेधा एक मात्रै विद्यालय हो । यो विद्यालयलबाट एक सय १५ जना विद्यार्थी परीक्षामा सहभागि भएकोमा एक जनाले चार जीपीए ल्याएका छन् । ३.२० जीपीए भन्दा माथि जीपीए ल्याउने एक सय ११ जना (९६ प्रतिशत) छन् । ३.६ भन्दा बढी जीपीए आउने ७८ जना छन् । सामुदायिक तर्फ चार जीपीए ल्याउने विद्यालय जिल्लामा मेधा मात्रै हो । 

व्यवस्थापकीय कमजोरीले २१ वर्षअघि बन्द हुने अवस्थामा पुगेको मेधा कक्षा १० को नतिजाका आधारमा यसपाली दोस्रो पटक देशकै सर्वोत्कृष्ट बन्न सफल भएको हो । 

एक सय भन्दा बढी विद्यार्थी सहभागि गराएको, ३.२ जीपीए भन्दा बढी ल्याउने विद्यालयको नतिजा तुलना गर्दा मेधा देशकै उत्कृष्ट विद्यालय हुन सफल भएको हो । यस बारेमा सरकारले भने कुनै औपचारिक निर्णय गरेको छैन । कक्षा १० को अन्तिम नतिजा माथि एडुखबरले गरेको विश्लेषणमा मेधा अब्बल देखिएको हो ।  

विद्यार्थीकोे नतिजा राम्रो आएको विद्यालयका शिक्षक कर्मचारीलाई थाहा छ तर, फेरी पनि देशकै उत्कृष्ट भएको हेक्का भने छैन । ‘भक्तपुर नगरपालिका र वागग्मती प्रदेशकै उत्कृष्ट भएको खबर चाहिँ पाएका छौँ’ प्रधानाध्यपाक हाडाले भने । 

कक्षा १० को नतिजा एक ठाउँमा छ । यो अब्बल नतिजा भन्दा पनि अभिभावक र स्थानीय समुदायको मन जित्न सकेकोमा खुसी छन् –शिक्षक र प्रधानाध्यापक । 

‘अरु स्कुलमा कमजोर भएर हाम्रोमा आएका विद्यार्थीको नतिजा पनि राम्रो हुन्छ भन्ने विश्वास छ’ हाडाले भने,‘अभिभावकको मन जित्नु नै हाम्रो सम्पति र सफलता हो भन्ने हामीले बुझेका छौँ ।’

विद्यालयको असल अभ्यास  

राम्रा अभ्यास गरेका सामुदायिक विद्यालयहरु कसरी राम्रा भए ? अरु विद्यालयमा जसरी शिक्षक नियुक्ति हुन्छ त्यही प्रकृया, राज्यबाट प्राप्त हुने आर्थिक श्रोतको उस्तै ढाँचा । उस्तै नीति नियम तर पनि मेधाले के त्यस्तो अभ्यास गर्यो र  अभिभावकको मन जित्न र नतिजा राम्रो ल्याउन सक्यो ? यो सुत्र पत्ता लगाउन हामीले विद्यालयको असल अभ्यास  बुझ्ने प्रयास गरेका छौँ ।  

medha_classroom_01

शिक्षकको लगनशीलता, चुस्त व्यवस्थापन र सचेत समुदाय भएमा सामुदायिक विद्यालय सुधार गर्न सकिन्छ भन्ने उदाहरण बनेको देखिन्छ मेधा । हरेक कक्षामा इण्टेरनेटको सहज पहुँच छ । प्रोजेक्टर जडान गरिएको छ । अधिकांश शिक्षकलाई एउटा कम्प्युटर दिइएको छ । यसले गर्दा घरबाटै शिक्षकहरुले कक्षामा पढाउने सामाग्री (प्रेजेण्टेशन) तयार गरेर आउँछन् । त्यस्तै विद्यार्थीसंग दुई सेट किताब हुन्छ । एक सेट जनक शिक्षाको र अर्को निजी पब्लिकेसनको ।

‘जसले गर्दा कुनै पाठ एउटा पुस्तक पढ्दा बुझेन भने अर्कोबाट बुझ्न सक्छन्’ प्रधानाध्यापक हाडाले भने । 

मेधामा पढाउने शिक्षक अरु विद्यालयमा जस्तै त्यही शिक्षक सेवा आयोग पास गरेर आएका हुन् । अरु विद्यालयका शिक्षक जति तलब पाउँछन् त्यही तलब मेधाका शिक्षकले लिने हुन् । अरु विद्यालयका शिक्षकले जस्तै यो विद्यालयका शिक्षकले लिने तालिम पनि त्यही हो । अरु भन्दा हरेक वर्ष नतिजा कसरी फरक हुन्छ ? 

‘शिक्षकको मेनहत नै हो । यसको लागि हामी विद्यार्थीको सिकाइलाई वर्गिकरण गर्छौ । सिकाइमा सुधार गर्नु पर्ने विद्यार्थीलाई उपचारात्मक विधि अपनाउछौँ’ प्रधानाध्यपक हाडा भन्छन् ‘नियमित कक्षा सकिए पछि कमजोर विद्यार्थीलाई छुटटै एक्स्ट्रा कक्षा लिएर अब्बल विद्यार्थीसंग प्रतिष्पर्धा गर्न सक्ने बनाउँछौ ।’ 

अर्को विद्यालयको विद्यार्थी भन्दा पनि आफ्नै बिच प्रतिष्पर्धा गर्न सिकाउने गरेको उनले बताए । 

इभिनिङ कक्षाको कमाल 

विद्यालयको सफलताको सुत्रको रुपमा ‘इभनिङ कलास’ लाई लिने गरिन्छ । कक्षा १० को कोर्स पुस अन्तिममा सक्नै पर्ने विद्यालयले शिक्षकलाई ‘टार्गेट’ दिएको हुन्छ । चैतमा हुने परीक्षाको लागि विद्यालयले माघ, फागुन दुई महिना साँझ ५ देखि ८ः२० बजेसम्म इभिनिङ कक्षा चलाउने गरेको छ । 

‘यही कक्षामा रिभिजन र सेट बुकको अभ्यासले विद्यार्थीमा निखार ल्याउने गरेको छ’ हाडा सर भन्छन् ‘नतिजा सुधारको लागि इभनिङ कक्षाले सहयोग गरेको छ ।’ 

कोरोना महामारी अघि होष्टेल राख्ने गरेकोमा पछिल्लो केही वर्षयता इभनिङ कक्षा राख्न थालिएको हो । साँझ आठ बजेसम्म कक्षा चलाए पनि विद्यार्थी छाड्ने विद्यालयको आफ्नै सवारी छैन । भ्यान भाडामा लिएर विद्यार्थीलाई घर घरमा छाड्ने गरिन्छ । साँझमा पढाए बापत अभिभावकसंग एक हजार रुपैंया सहयोग लिने गरिएको छ । यही सहयोगबाट विद्यार्थीलाई खाजा, शिक्षकलाई दिने टयुशन फि र गाडी भाडा व्यवस्थापन गरिन्छ । 

विषय एउटा, शिक्षक फरक  

विद्यालयको सफलताको अर्को सुत्र हो–एउटै विषय पनि फरक फरक शिक्षकले पढाउनु । विद्यालयमा गणित र विज्ञान तीन जना शिक्षकले पढाउँछन् । अंक गणित, बिज गणित र ज्यामिती फरक शिक्षकले पढाउँछन् । त्यस्तै विज्ञानको पनि भौतिक शास्त्र, रसायन शास्त्र र जीव विज्ञान पढाउने शिक्षक फरक फरक हुन्छन् । 

medha_liberary

एउटै विषय फरक शिक्षकले पढाउँदा एउटाले पढाएको कुरा बुझेन भने अर्कोले पढाएको बुझ्न सक्छन् भन्ने मान्यता राखेर यो अभ्यासलाई निरन्तरता दिइरहेको उनले बताए ।
‘एउटा समूह कमजोर भयो भने पनि अर्को समूहमा राम्रो हुन सक्छ’ उनी भन्छन ‘पुरै कोर्स सकिए पछि भने फेरी पहिला अंक गणित पढाएकोले दोहोर्याउँदा बिज गणित पढाउनु पर्ने हुन्छ । पहिला जे पढाएको थियो त्यही पढाउन पाइदैँन ।’

यसले विद्यार्थीको सिकाइमा सुधार हुने गरेको उनको अनुभव छ । देशभरीको नतिजामा कमजोर देखिएको गणित र विज्ञानमा मेधाका विद्यार्थीले फरक फरक शिक्षकबाट पढ्न पाए पछि सजिलो रुपमा लिने गरेको उनले बताए । विद्यालयले अपनाएको अर्को नयाँ अभ्यास पनि छ । हरेक दुई पिरियड सकिएपछि १० मिनेट रिफ्रेस ब्रेकको घण्टी लाग्छ । 

साथैमा अभिभावक  

विद्यालयको सफलताको तेस्रो सुत्रको रुपमा अभिभावकको सहयोगलाई लिने गरिएको छ । विद्यालयले अघि सारेको नीति र योजना जानकारी गराउँछन् । विद्यायलले अघि सारेको काममा अभिभावकको असन्तुष्ट भए शिक्षक र प्रधानाध्यापकले प्रष्ट्याउँछन् । 

‘हामीले जे गर्छौँ अभिभावक संगसंगै हातेमालो गरेर अघि बढिरहेका छौँ’ हाडाले भने । 

विद्यालयले गर्ने हरेक निर्णयमा अभिभावकको साथ रहेको उनले बताए । विद्यालयले कुनै नयाँ काम गर्न लागेको छ भने सिमित अभिभावकसंग भन्दा पनि हरेक कक्षाका अभिभावकसंग सहमती लिने गरिन्छ । विद्यार्थीको नतिजाको पनि हरेक कक्षाको सामुहिक समीक्षा गर्ने गरेको छ ।

‘अभिभावकलाई बोलाएर छुट्टा छुटटै दिने त छदैँछ त्यो भन्दा पनि शिक्षक, अभिभावकसंगै बसेर नतिजाको समीक्षा गरिन्छ’ प्रधानाध्यपाक हाडाले भने ‘सामुहिक बसेपछि सुधारको बाटो पहिल्याउन सहयोग पुग्दो रहेछ । कमजोर विद्यार्थीको अभिभावकले पनि मेरो बच्चालाई कसरी हुन्छ ? सुधार गर्ने भन्ने आफै योजना बनाउन सक्ने रहेछ ।’ 

परीक्षाबाट नडराउने बनाएकै कारण नतिजा राम्रोे आएको उनले बताए । 

निजी शिक्षकको भर

विद्यालयमा सरकारले उपलब्ध गराएको दरबन्दीको शिक्षक न्यून छन् । विषयगत शिक्षक समेत छैनन् । विद्यालयले निजी स्रोतको शिक्षक राखेर विषयत शिक्षकको अभाव पुरा गरेको छ । 

सरकारले विद्यालयमा दरबन्दीका शिक्षक २३ जना पठाएको छ । विद्यालयले थप २३ जना निजी स्रोतमा नियुक्त गरेको छ । जसको खर्च सरकारले दिँदैन । विद्यालय आँफैले व्यवस्थापन गर्दै आएको छ । 

medha_school

विद्यालयमा माविका ६ जना मात्रै दरबन्दीका शिक्षक  छन् । जसमा अंग्रेजीमा तीन, नेपाली एक, विज्ञान एक, लेखाका एक जना छन् । विद्यालयले आठ जना निजी स्रोतका शिक्षक राखेको छ । गणितमा तीन जना, विज्ञानमा दुई, सामाजिक, जनसंख्या, कम्प्युटर एक÷एक जना शिक्षक निजी स्रोतबाट रारिएको छ । निमावि तहमा दरबन्दीका शिक्षक ६ जना छन् । यसमा स्थायी तीन र राहत तीन जना छन् । नेपाली, कम्प्युटर, गणितको शिक्षक निजी स्रोतबाट व्यवस्थापन गरिएको छ ।

काठमाडौंमा प्राथमिक तहका लागि तोकिएको  विद्यार्थी अनुपात भन्दा शिक्षक संख्या बढी छ । तर, मेधामा विद्यार्थी अनुपातमा शिक्षक नभएपछि निजी स्रोतका शिक्षक नियुक्त गर्नु परेको छ ।  प्राथमिक तहमा दरबन्दीका ६ जना छन् भने निजी स्रोतका नौ जना शिक्षक छन् । इसीडीमा समेत गरी २३ जना शिक्षक निजी स्रोतमा राखेर नियमित कक्षा चलाइरहेको प्रधानाध्यापक हाडाले बताए । विद्यालयको नतिजा राम्रो हुनुमा निजी स्रोतका शिक्षकको महत्वपूर्ण भूमिका रहेको भन्दै उनी जस दिन्छन् ।

‘किनभने हामीसंग दरबन्दीको शिक्षक नै पर्याप्त नभएपछि निजी स्रोतको भर पर्नु परेको छ’ हाडा भन्छन,‘दरबन्दीको स्थायी शिक्षकको योगदान छैन भन्न खोजेको होइन । यदि दरबन्दीको मात्रै शिक्षक हुने हो विषयगत शिक्षक त हुँदैनथ्यो । अनि कसरी नतिजा राम्रो आउन सक्थ्यो र ? त्यसैले न्यून तलब लिने निजी स्रोतका शिक्षकको भूमिका बढी नै छ ।’ 

सरकारले दरबन्दीका शिक्षकको लागि गतवर्ष एक करोड ३७ लाख रुपैंया खर्च गरेको गरेको थियो भने निजी स्रोतको शिक्षकको लागि विद्यालयको साढे ८२ लाख खर्च भएको उनले बताए । 

‘यो सबै अभिभावकले दिने सहयोगबाट व्यवस्थापन गर्दै आएका छौँ’ उनले भने ।

medha_school_1

विद्यालयले अभिभावकबाट मासिक चार सयदेखि बढीमा एक हजार छ सय रुपैंया सम्म मासिक सहयोग लिने गरेको छ ।

शिक्षकले विद्यालयमा दिएको योगदानबाट पाउने एउटै सुविधा हो खाजा । यही खाजा र विद्यार्थीको नतिजामा रमाउँदै शिक्षकहरु राजनीति मात्रै भुलेका छैनन्, आफ्नो कर्ममा नतमस्तक भएर खटिएका छन् । विद्यार्थीको उत्कृष्ट नतिजा र अभिभावकको खुसीमा बिहान सात देखि बेलुका आठ बजेसम्म खटेका दुःख पनि भुलेका छन् । 

त्यसैले हाडा सर भन्छन,‘विद्यालयको उत्कृष्ट नतिजाको श्रेय मेरो सम्पूर्ण टिमलाई जान्छ ।’ 

सट्टा कक्षा पढाए बापत ७० रुपैयाँ !

केही शिक्षक बिदा बस्दा पनि कक्षा खाली हुँदैन । शिक्षक बिदा बस्ने अघिल्लो दिन नै जानकारी हुन्छ । त्यसको ठाउँमा कसले कक्षा लिने भन्ने तय भइसकेको हुन्छ । कतिपय शिक्षकको त्यही दिन समस्या भएर नआउने पनि हुन सक्छ । पहिलो घण्टी पछि कुन कक्षा खाली हुने भयो ? त्यसमा को जाने भन्ने योजना बनाउँछन् । खाली पिरियडमा पढाए बापत ७० रुपैयाँ थप पाउँछन् । 

विद्यालयले १ देखि ३ सम्म ग्रेड टिचिङ सुरुवात गरेको छ । एउटा कक्षामा दुई जना शिक्षकको व्यवस्था गरेको छ । 

‘त्यसैले हामीले प्राविमा पनि निजी स्रोतको शिक्षक राख्नु परेको हो’ प्रधानाध्यापक हाडाले भने । 

उपचारात्मक कक्षा 

विद्यालयको सिकाइ सुधार गर्न माथिल्लो कक्षामा मात्रै होइन तल्लो कक्षादेखि नै फरक विधि अपनाउने गरेको छ । सिकाइमा कमजोर विद्यार्थीलाई नियमित कक्षा सकिए पछि उपचारात्मक कक्षा चलाइन्छ । जसले गर्दा कमजोरलाई पनि अरु सरह बनाउने गरिन्छ । 

‘पहिलो त्रैमासिक परीक्षाबाट कुन विद्यार्थीको सिकाइ कस्तो छ भनेर वर्गिकरण गर्छौ’ प्रधानाध्यपाक हाडा भन्छन् ‘जसको कमजोर छ उसलाई एक्स्ट्रा कक्षामा राख्छौँ ।’ 

उपचारात्मक कक्षामा राखे बापत छुटटै शुल्क तिर्नु पर्दैन । अभिभावकले मासिक तिरेको सहयोगबाटै विद्यालयले विद्यार्थीको सिकाइ सुधारमा खर्च गर्ने गरेको छ । 

त्यस्तै नियमित परीक्षामा पनि भोलीपल्ट हुने परीक्षाको तयारी विद्यालयमै गराउने गरिन्छ । ५ कक्षा सम्मको कक्षा पहिलो सिफ्टमा हुन्छ । परीक्षा सकिए पछि विद्यार्थीलाई घर पठाइदैँन । नियमित कक्षामा राखेर परीक्षाको तयारी गर्ने गरेको उनले बताए । 

‘घर पठायो भने पढ्ने गरेको पाइएन’ उनले भने । 

दाइको लय समाएका श्याम सर 

०७९ पुस ११ गते मोटरसाइकलमा विद्यालय जाँदा जादै बाटैमा विरामी परेका गंगाधर हाडा कहिल्यै नउठ्ने गरी ढले ।

पढ्नुहोस् : विद्यालय जाँदै गर्दा बाटामै बिते 'हेडसर'...

उनी यही मेधा  विद्यालयमा ०५९ फागुन १ देखि कार्यरत थिए । १४ वर्ष त प्रधानाध्यापक नै भएका थिए । टोलबासीको खुला शौचालय बनिसकेको विद्यालयलाई यो अवस्थामा ल्याउन गंगाधरले गरेको मेहनत उल्लेख्य छ । 

गंगाधर सरका बारेमा लेखिएको यो सामग्री पनि पढ्नुहोस् : एक उदाहरणीय शिक्षकको ‘महाप्रस्थान’

०७५ को १० कक्षाको नतिजाको आधारमा विद्यालय देशकै उत्कृष्टको परिचय दिन सफल भए । शिक्षक संघको नेता भएर पनि विद्यालय बनाउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेका उनी मेधाका पर्यायवाची नै बनेका थिए । उनको निधन पछि विद्यालय खस्कने भयो भनेर चिन्ता गर्ने धेरै थिए । गंगाधरको परिश्रम र लक्ष्य स्मरण भईरहोस् भनेरै होला शायद उनको निधन पछि विद्यालयमा उनको शालिक बनाईएको छ । यस्तो लाग्छ, यो शालिकबाटै गंगाधरले आफूले सुधारेको मेधाको दैनिकी नियाली रहेका छन् !

medha_gangadhar_hada

गंगाधरको निधन भएपछि मेधालाई सँधै मेधावी बनाइराख्ने र बिँडो कसले थाम्ला ? भन्ने सबैको चिन्ता थियो । उतिखेर सहायक प्रधानाध्यापक थिए–गणित शिक्षक श्याम हाडा । उनी गंगाधरको कान्छा भाई हुन् । गंगाधरको निधन पछि विद्यालयको बागडोर उनै श्यामले सम्हालेका छन् । जसरी दाइले विद्यालयलाई चिनाएका थिए उनले त्यही पथ सम्हालेका छन् । 

‘सिंगो टिमको सहयोगले नतिजा राम्रो बनाउन सकेका हौँ’  जस उनी एक्लै लिन चाहन्नन् ।

०६० सालको स्थायी शिक्षक उनी शान्ति निकेतनबाट ०७३ मा मेधामा सरुवा भएका थिए । त्यस यता निरन्तर यहीँ पढाइरहेका छन् । 

निजीमा पढेकाको आकर्षण 

२००४ सालमा स्थापना भएको यो विद्यालय सफल व्यवस्थापन र शिक्षकको लगनशीलता ७२ वर्षमा देशभरीबाट पहिलो पटक अब्बल हुन सफल भएको छ ।  यो विद्यालय निजी विद्यालयमा पढेका विद्यार्थीको समेत आकर्षण बढेको छ । सीमित पूर्वाधार भएर पनि प्रारम्भिक बाल कक्षा देखि १० कक्षासम्म पढाई हुने विद्यालयमा ७ सय ९७ विद्यार्थी अध्ययनरत छन् । 

एसईईको नतिजा राम्रो आएकै कारण भक्तपुरका स्थानीयको मात्रै होइन अन्य नगरपालिका र काठमाडौंबाट समेत भर्ना गर्न लैजाने क्रम बढ्दो छ । हरेक वर्ष एक सयको हाराहारीमा भर्ना कोटा हुन्छ । तर, विद्यालयमा आवेदन दिने पाँच सय भन्दा बढी हुन्छन् । विद्यालयको संरचनाकै कारण चाहेर पनि भर्ना लिन सक्ने अवस्था नभएको उनले बताए । कक्षा ६ देखि विद्यार्थीको चाप बढी छ । कक्षा ९ र १० मा तीन÷तीन वटा सेक्सन विभाजन गरिएको छ । कक्षा नौ मा एक सय जना छन् । त्यस्तै कक्षा १० मा ९३ जना छन् । सबैभन्दा कम भनेकै कक्षा एकमा ३७ जना छन् । 

खुला शौचलयबाट बनेको मेधा 

०६१ अघि धेरै पटक एसएलसीमा निल गएको विद्यालय हो मेधा । माइनसमा गएको विद्यालयलाई गंगाधारले मुलुककै नमुना बनाएका थिए । ०६२ देखि सत प्रतिशत नतिजा ल्याउन सफल विद्यालय पछिल्लो वर्ष मुलुककै उत्कृष्ट हुदैँ आएको छ । ०६० ताका मेधा (तत्कालिन कन्या) मा  पर्खाल थिएन । विद्यालय टोलबासीको शौच गर्ने ठाउँ जस्तै थियो । दिउँसै विद्यालय कक्षा कोठा बाहिरको गल्लीमा पिसाब गर्न आउने पनि उत्तिकै हुन्थे । कोठामा झ्यालको खापा राखिएको थिएन । बाहिर र भित्रको दुर्गन्ध उत्तिकै थियो । विद्यालय भन्न पनि नसुहाउने थियो । खुला शौचालय नै थियो । गल्लीमा फेरेको पिसाबको भल अफिस कोठामा सम्मै आउँथ्यो । 

सानोठिमीको आदर्श माविबाट सरुवा भएर गंगाधर हाडा यो विद्यालयमा आउँदाको अवस्था  त्यस्तो थियो । आदर्शबाट आउने बित्तिकै सहायक प्रधानाध्यापकको जिम्मेवारी पाएका उनले ०६७ देखि विद्यालयको नेतृत्व सम्हालेका थिए । उनले एक स्थान सम्म पुर्याएको विद्यालयको शाख जोगाउन उनकै भाइ श्याम सर दत्त चित्त छन् ।

आफ्नो कार्यकक्षको भित्तामा टाँगिएको स्वर्गिय गंगाधर सरको तस्बिर अघिल्तिरको कुर्चिमा बसेका श्याम सरलाई पनि शायद गंगाधर सरको बिँडो थाम्न उति सजिलो चैं पक्कै छैन ।  

medha_shyam_hada

‘विद्यालयको शाख कायम राख्न सम्पूर्ण टिम सकृय छ’ विद्यालय सुधारको जस सम्पूर्ण टिमलाई दिँदै कुराकानीको अन्तिममा पनि श्याम सर हँसिलो मुद्रामा उसै गरी भन्छन् ‘म त व्यवस्थापक मात्रै हो, काम गर्ने गतिलो टिम नभए मैले मात्रै गरेर त कहाँ हुन्छ र !’

प्रतिक्रिया