Edukhabar
शनिबार, ०७ असार २०८२
राम्रा कसरी राम्रा

सामुदायिक विद्यालयमा दिवा खाजाको मेन्यु ‘अण्डा र मासु’

शिक्षक र अभिभावकको छुट्टा छुटटै लगबुकको व्यवस्था, शिक्षकको लगबुक कक्षामा विद्यार्थीसंग हुन्छ । अभिभावकको लगबुक विद्यालय प्रशासनमा

शनिबार, ०७ असार २०८२

सिन्धुली - सामुदायिक विद्यालयमा सरकारले कक्षा पाँचसम्म दिवा खाजाको व्यवस्था गरेको छ । असारसम्म (कर्णाली बाहेक) प्रति विद्यार्थी १५ रुपैयाँ र साउनदेखि २० रुपैयाँ हुँदैछ । नियमित विद्यार्थी आकर्षिक गर्न र पौष्टिक आहार पुर्‍याउन सरकारले जुन उद्देश्यले दिवा खाजाको लागि लगानी गर्दै आएको छ त्यसको उद्देश्य २७ हजार दुई सय ९८ विद्यालय पुरा नगरेको पनि हुन सक्छ । दिवा खाजामा पत्रु खाना खुवाउने गरेको विषयले संसदमा समेत चर्चा पाएकै हो । दिवा खाजाको नाममा एक मुठी भुजा र चिउराले टार्ने स्कूल पनि छन् । अपवादमा परेको छ - सिन्धुलीको कमलामाई नगरपालिका - ५ फोस्रेटारको जनज्योति माध्यमिक विद्यालय । 

विद्यालयले कुन दिन खुवाउने तालिकै बनाएको छ । यही तालिकामा साताको अन्तिम दिन शुक्रबार विद्यार्थीलाई खुवाउने खाजाको मेनुमा अण्डा छ । अझ रोचक त के छ भने महिनामा एक पटक मासु चिउराको मेनु पनि छ । सरकारले उपलब्ध गराएको दिवा खाजाको रकम अपुग भएको भन्दै प्रश्न उठिरहेको बेला जनज्योतिले भने स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै खाजाको मेनु बनाएर कार्यान्वयन समेत गर्दै आइरहेको छ । 

विद्यालयले दिवा खाजा व्यवस्थापन गर्न तीन सदस्सीय समिति गठन गरेको छ । पाँच कक्षासम्मका विद्यार्थीलाई संघीय सरकारको बजेटबाट र कक्षा ६ को लागि कमलामाई नगरपालिकाबाट दिवा खाजाको व्यवस्था गरेको छ । यो समितिले कुन दिन के खाजा खुवाउने तय गर्ने र गुणस्तर कायम गर्ने जिम्मेवारी पाएको छ । समितिले बनाएको मेनु अनुसार आइतबार दूध चिउरा, सोमबार चना चिउरा, मंगलबार जाउलो, बुधबार खिर, बिहीबार चिउरा तरकारी र शुक्रबार अण्डा छ । त्यस्तै महिनामा एक दिन मासु चिउरा खुवाउने अर्को मेनु पनि राखिएको छ । अर्ध बार्षिक रुपमा दिवा खाजा तालिका परिमार्जन हुने विद्यालयले जनाएको छ । 

‘सरकारले उपलब्ध गराएकै पैसाले यो मेनुको खाजा खुवाउने गरेका छौँ’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष जनककुमार ढकालले भने । विद्यार्थीलाई खाजा खुवाउन विद्यालयको आफ्नै चुल्हो छ । खाजा पकाउन छुट्टै कर्मचारी राखिएको छन् । 

‘धेरै विद्यार्थीमा थोरै बजेटले पनि गुणस्तरीय खाजा खुवाउन सकिन्छ’ उनले भने । 

खुसीयालीको उपहार कुर्सी र गमला 

‘कक्षा ४ सगरमाथा सेक्सनमा अध्ययनरत छात्रा युनिशा पौडेलको जन्मदिनको अवसरमा उहाँकी हजुरआमा विद्यालयमा आएर दुई थान कुर्सी प्रदान गर्नुभयो । सो कार्यको उच्च प्रसंशा गर्दै नानीलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।’ विद्यालयको फेसबुक पेजमा सहायक प्रधानाध्यापक लक्ष्मीराज श्रेष्ठले स्टाटस लेखेका छन् ।

यही स्टाटसमा होम मणि बरालले कमेण्ट गर्दै लेखेका छन् ‘जन्म दिनमा अन्य फजुल खर्च गर्नु भन्दा यस्तो कार्य गर्नु अत्यन्तै राम्रो, जसले गर्दा अरु साथीहरुले पनि सिक्ने छन् सबैलाई हार्दिक धन्यवाद साथै जन्म दिनको शुभ कामना ।’ 
विद्यालयमा हुने कार्यक्रममा भाडामा कुर्सी ल्याउनु पर्ने वाध्यताबाट मुक्त हुन यस वर्षदेखि सुरु गरेको नयाँ अभियान हो - पाँच सय कुर्सी अभियान । 

janajyoti_chairअभिभावकले आफ्नो सन्तानको जन्म दिनमा होस् वा कुनै खुसियालीमा विद्यालयमा यो वर्षदेखि कुर्सी किनेर सहयोग गर्न पाउने नयाँ नियम बनाईएको छ । ०८२ वैशाख १ देखि चैत मसान्तसम्म चल्ने पाँच सय कुर्सी सहयोग अभियान सञ्चालन गरेको छ । यही अभियानमा साथ दिन अभिभावले कुर्सी सहयोग दिन थालेका हुन् । अभिभावकले कुर्सी खरिद गरेर दिन पनि सक्छन् भने प्रति कुर्सी सात सय रुपैंया दिन पनि सक्ने कार्यविधि बनाईएको छ । जसले कुर्सी उपलब्ध गराएको हो उसको नाम लेख्ने गरेको छ । त्यस्तै धेरै कुर्सी उपलब्ध गराउने दातालाई सम्मान गर्ने व्यवस्था पनि गरेको छ । 

विद्यालयले हरेक वर्ष केही न केही नयाँ अभियान चलाउँदै आएको छ । गतवर्ष एक हजार गमला अभियान चलाएको थियो । त्यसको प्रभाव विद्यालयको गेटैदेखि हरियाली छ । अझ विद्यालयको बरण्डामा त फुल ढकमक्क फुलेका छन् । हरियाली उत्तिकै । सरकारले हरित विद्यालयको जुन योजना अघि सारेको थियो त्यसको अभ्यास यो विद्यालयमा देखिन्छ ।

हरित विद्यालय कार्यक्रम निर्देशिका २०७५ मा एक विद्यालय एक बगैँचा बनाउने उद्देश्यले विद्यालय सेवा क्षेत्रको खाली जग्गामा वृक्षारोपण गरी हरियाली बनाउने र एउटा बगैँचा बनाउने भन्ने उद्देश्य छ । बरण्डामा गमलामा रोपिएका फूलको सजावट विद्यालयको खर्चमा भएको भने होइन । यो विद्यार्थी आँफैले रोपेर उनीहरुले नै हुर्काएका हुन् । ०८१ वैशाख १ बाट एक हजार गमला अभियान सुरु गरेको जनज्योतिले आफ्नो लक्ष्य पुरा गरेको जनाएको छ । सहयोग तथा दान मार्फत यो योजना पुरा गर्ने लक्ष्य लिएकोमा विद्यार्थीले नै पुरा गरिदिएको विद्यालयका सहायक प्रधानाध्यापक श्रेष्ठले बताए । यो अभियान पुरा गर्न शिक्षक कर्मचारीले सुरुमा एक जनाले कम्तीमा एउटा गमला उपलब्ध गराउने, त्यसपछि विद्यार्थीबाट एउटा गमला माग गरिएको थियो । शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीको विशेष दिनमा पनि विद्यायलाई गमला सहयोग गर्न सकिने सूचना जारी भएको थियो । जसले गमला उपलब्ध गराएको हो उसको नाम गमलामा लेख्ने गरिन्छ । 

janajyoti_office

‘विद्यालयको एक हजार गमला अभियान पुरा भएको छ । सहयोग पाएको गमलालाई सदुपयोग गर्दै हरियाली पनि बनाएका छौँ’ विद्यालय व्यवस्थापन  समिति अध्यक्ष ढकालले भने । 

विद्यालयलाई कसले के दियो ? भन्ने बार्षिक रुपमा प्रकाशन हुने बुलेटिनमा नाम छापिदिने गरेको छ । एक हजार गमलाको अभियान सफल पार्न दुई सय १३ जनाले गमला दिएको विवरण सार्वजनिक गरेको छ । 

‘जन्मदिनको अवसरमा विहानी प्रार्थना सभामै विद्यार्थी शिक्षकहरुले हात धुने साबुन, शैक्षिक सामाग्री र विद्यालयलाई आवश्यक पर्ने सामाग्री सहयोग गर्ने गरेका छन्’ उनले भने । 

विद्यालयले अभिभावक र विद्यार्थीबाट सहयोग मात्रै लिएको छैन । विद्यालयले दिने गुणस्तर र सिकाइमा नयाँ अभ्यासमा पनि कुनै कसुर बाँकी राखेको छैन । 

२०२८ सालमा स्थापना भएको यो विद्यालयमा कक्षा १ देखि १२ सम्म पठन पाठन हुन्छ ।  

janajyoti_assembl

त्यस्तै प्राविधिक तर्फ सीटीइभीटीको तीन वर्षीय डिप्लोमा इन आइएस्सी एजी भेटेनरी पनि चलेको छ । यो कक्षा, एसईई पछिका विद्यार्थीले पढ्छन् । त्यस्तै विद्यालयमा वौद्धिक अपाङ्गता स्रोत कक्षा पनि चलेको छ । जहाँ २६ जना विद्यार्थी छन् । सरकारको नियम अनुसार वौद्धिक आपाङ्गता भएका ८ जना विद्यार्थी बराबर एक जना आया हुनु पर्नेमा २६ जनालाई हेर्न भने एक जना मात्रै आया छन् । 

हरेक वर्ष बढ्दो विद्यार्थी संख्या 

गुणस्तर खस्किन नदिन विद्यालयले अनेक उपाय अपनाएको छ । कक्षा तीन सम्म अंग्रेजी माध्यममा ग्रेड टिचिङ गर्दै आएको छ । त्यस्तै ४ देखि १२ सम्म नेपाली र अंग्रेजी दुबै माध्यममा पढाउने व्यवस्था मिलाईएको छ । विद्यार्थी अनुपातमा दरबन्दीको शिक्षकले मात्रै अपुग भए पछि निजी स्रोतका शिक्षकको पनि व्यवस्था गरेको सहायक प्रधानाध्यापक श्रेष्ठले बताए । ०७२ सालमा आठ सय एक विद्यार्थी रहेकोमा यसपाली एक हजार नौ सय २० विद्यार्थी अध्ययनरत छन् । 

विद्यार्थीको सिकाइ मापन गर्न पाक्षिक रुपमा परीक्षा लिने क्रम शुरु गरिएको छ ।  

 

‘हामी प्रत्येक तीन महिनामा नियमित परीक्षा त लिन्छौँ नै त्यस बाहेक एउटा शनिबार ग्याप राखेर परीक्षा चलाउने गरेका छौँ’ उनले भने, ‘विद्यार्थीले महिनाको दुई वटा परीक्षा फेस गर्नु पर्ने हुन्छ ।’ 

शनिबार बिहान आठ देखि १० बजेसम्म परीक्षा लिन शिक्षक विद्यार्थी विद्यालय आउँछन् । दुई साता पढ्छन् अनि परीक्षा दिन्छन् । शनिबारीय परीक्षामा खट्ने शिक्षकले एक बिहानको एक सय ५० रुपैयाँ भत्ता पाउँछन् । परीक्षा बापतको अभिभावकलाई भार थोपरिदैँन । 

विद्यालयले बार्षिक न्यूनतम एक हजार र बढीमा छ हजार रुपैयाँ शुल्क लिने गरेको छ । यही रकमबाट परीक्षा र निजी स्रोतको शिक्षकलाई दिने तलबको जोहो गर्ने गरिएको छ । विद्यार्थी सिकाइ उपलब्धी भने हरेक तीन महिनामा मुल्याङ्कन गर्ने प्रणालीको विकास गरिएको छ । शनिबार लिएको परीक्षामा विद्यार्थीले पाएको अंक र त्रैमासिक परीक्षामा पाएको अंक सहितको लेजर अभिभावकलाई बोलाएर वितरण गर्ने प्रणाली विकास गरेको सहायक प्रधानाध्यापक श्रेष्ठले बताए । परीक्षा व्यवस्थापन गर्न परीक्षा शाखा व्यवस्था गरिएको छ । जसको नेतृत्व अंग्रेजी र नेपाली विभाग प्रमुखले गर्छन् । परीक्षालाई व्यवस्थित गर्न नेपाली र अंग्रेजी माध्यम विभागको उपप्रमुख  र कम्प्युटर डिजाइनर सदस्य हुन्छन् । 

२४ वटा समिति सक्रिय 

विद्यालयको नियमित काम गर्न फरक फरक समिति गठन गरिएको छ । व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, सल्लाहकार समिति त प्राय सबै विद्यालयमा हुन्छन् नै यस बाहेक अरु समिति खासै गठन गरिँदैन । सबैजसो काम प्रधानाध्यापक, सहायक प्रधानाध्यापकले नै सम्हाल्छन् । विद्यालयले गरेको काम सकेसम्म प्रधानाध्यापक र व्यवस्थापन समितिका पदाधिकारीलाई मात्रै थाहा हुन्छ । विद्यालयको अनुगमन आउने भने पछि त्रास नै हुन्छ । तर, यो विद्यालयमा फरक अभ्यास छ । आफ्नो मुल्याङ्कन गर्न छुटटै समिति गठन गरिएको छ । विद्यालयले बार्षिक रुपमा आफ्नो अवस्था पत्ता लगाउने र भावी योजना तय गर्न विद्यालय स्वःमुल्याङ्कन समिति गठन गरेको छ । जसले वर्षभरि भएका गतिविधिलाई मुल्याङ्कन गर्छ । गतवर्ष एक सय ९२ अंकमा एक सय ७८ पाएको विद्यालयको बुलेटिनमा उल्लेख छ  । 

आफैले आफ्नै काम प्रति गरेको मुल्याङ्कन अनुसारको उपलब्धीमा भनिएको छ ‘उत्तम ।’ 

janajyoti_teacher group

विद्यालयले बार्षिक रुपमा गर्ने बैठकको रेकर्ड पनि सार्वजनिक गर्ने गरेको छ । गतवर्ष यो विद्यालयको व्यवस्थापन समितिमा एक सय १२ एजेण्डामा छलफल गर्न ३७ वटा बैठक बसेको, स्टाफ बैठकमा ८० वटा एजेण्डामा २५, शिक्षक अभिभावक संघको १० वटा एजेण्डामा तीन पटक बैठक बसेको विद्यालयले जनाएको छ । 

हरेक विषयको विषयगत समिति पनि गठन गरिएको छ ।  नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक र स्थानीय पाठ्यक्रमको विषयगत समिति गठन गरिएको छ । जसको मासिक बैठक हुन्छ । कुन विषयको कुन पाठमा के समस्या छ ? भन्ने आन्तरिक समिक्षा समेत हुन्छ । 

यही व्यवस्थापनका कारण टाढा टाढाका अभिभावकलाई विद्यालयले आर्कषित गरेको छ । टाढाबाट आउने विद्यार्थीलाई सेवा दिन दुई वटा सवारी साधनको व्यवस्थापन भएको छ । बागमती प्रदेशले दिएको बस र भारतीय दुतावासले उपलब्ध गराएको भ्यानले टाढाबाट आउने विद्यार्र्थीलाई सुविधा दिइरहेको छ । 

विद्यालयले नियमित कक्षा बाहेक अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई उत्तिकै सहभागि गराउँदै आएको छ । बार्षिक रुपमा गर्ने क्रियाकलापमा हाजिरी जवाफ, वादबिवाद, हस्तलेखन, गायन, निबन्ध लेखन, सटपुट, दौड, लङ्जम्प, वकतृत्वकला, हिज्जे, चित्रकला, नृत्य, भलिबल, ज्याभलिन, हाइजम्फ कबड्डी सूची बनाएको छ । साप्ताहिक रुपमा विभिन्न कक्षाका फरक विद्यार्थीले समाचार वाचन, वकतृत्वकला, हाजिरजवाफ प्रश्न सोध्ने गरिन्छ । 

पढ्दै कमाउँदै 

विद्यालयमा प्राविधिक तर्फ पढाई हुने डिप्लोमा इन आइएस्सी एजी कार्यक्रम अध्ययन गर्ने विद्यार्थीले पढ्दै कमाउँछन् । विद्यालयको आफ्नै कृषि फार्म छ । जहाँ अहिले लोकल कुखुरा पालिएको छ । बारीभरी तरकारी फलाएको छ । खेतीबाट आउने आम्दानीको ५० प्रतिशत विद्यार्थीले पाउँछन् भने ५० प्रतिशत विद्यालयको आम्दानीमा दाखिला गरिन्छ ।

janajyoti_agri विद्यालयको प्रगति विवरण अनुसार गतवर्ष छ लाख ७२ रुपैयाँको तरकारी बिक्रि गरेको थियो । कुखुरा मात्रै ५ लाख ६० हजार छ सय ६९ रुपैंयाको बिक्रि गरेको थियो  । चार लाख १९ हजार तीन सय ४० रुपैयाँ कुखुरा पालनमा लगानी गरेर एक लाख ४१ हजार नाफा कमाएको विद्यालयले जनाएको छ । 

‘७० हजार छ सय ६५ रुपैयाँ विद्यार्थीलाई वितरण गर्‍यौं’ श्रेष्ठले भने । 

त्यस्तै तरकारी खेती र फुल खेतीबाट आएको ५६ हजार ९० रुपैयाँ पनि विद्यार्थीलाई वितरण गरेको उनले बताए । 

विद्यालयको आफ्नै शैलुन छ । कपाल काट्ने व्यक्ति आफ्नै विद्यार्थी छन् । विद्यार्थीलाई नै कपाल काट्ने तालिम लिन लगाएर सैलुन खोलिएको हो ।

janajyoti_kapal

‘विद्यालय समय भन्दा अघि पछि सैलुन चल्छ । कपाल काटेबापत एक सय रुपैयाँ लिने गरिन्छ । ५० रुपैयाँ विद्यालयमा जम्मा हुन्छ । ५० रुपैयाँ विद्यार्थीले पाउँछन्’ सहायक प्रधानाध्यापक श्रेष्ठले भने । 

रोचक त के छ भने विद्यालयको वाइरिङ र प्लम्बिङ गर्ने पनि विद्यार्थी छन् । विद्यालयमा आइपर्ने सानातिना काम पनि बाहिरका व्यक्तिलाई बोलाउँदा बेलैमा नआउने, महंगो पर्ने भए पछि विद्यालयले पाँच जना विद्यार्थीलाई नै तालिममा पठाएर सिप सिकाइएको थियो । अहिले विद्यालयको काम तिनै विद्यार्थीले गर्छन् । 

janajyoti_elect

विद्यालयमा दुई खाले सदस्य 

सामुदायिक विद्यालयमा जसको छोराछोरी पढ्छन् उनीहरु स्वत: विद्यालय परिवारको सदस्य भए । व्यवस्थापन समितिमा उम्मेदवारी दिन पनि योग्य हुन्छन् । जनज्योतिले थालेको अर्को अभियान के छ भने अभिभावक विहीन विद्यार्थीको खर्च जोहो गर्न नयाँ उपाय अपनाएको छ । त्यो हो - ‘विशिष्ट सदस्यको पदवी ।’ अर्को आजिवन सदस्य । बिशिष्ट सदस्य हुन १० हजार रुपैंया तिर्नु पर्छ भने आजिवन सदस्य हुन पाँच सय रुपैयाँ तिर्नु पर्ने हुन्छ ।  

विद्यालयको तथ्याङ्क अनुसार एक सय ५४ जना विद्यार्थी अभिभावक बिहीन छन् । उनीहरु कसैको आश्रितमा पढिरहेका छन् । उनीहरुको पोशाक, स्टेशनरी व्यवस्थापन गर्न प्रति व्यक्ति १० हजार रुपैयाँ उठाएर विद्यालयले विशिष्ट सदस्यता प्रदान गरेको छ । यो सदस्य लिने दुई सय २२ जना छन् । यसरी सहयोग गर्ने हरेकको फोटो विद्यालयमा टाँसिएको छ । 

‘उहाँहरुले दिनु भएको सहयोगबाट हामीले २५ लाखको अक्षयकोष बनाएका छौँ’ सहायक प्रधानाध्यापक श्रेष्ठले भने, ‘यसबाट आएको ब्याजले एक सय ५४ विद्यार्थीको पढाईमा खर्च जोहो गर्छाँै ।’ 

थरीथरीका लगबुक 

शिक्षक र अभिभावकको छुट्टा छुटटै लगबुकको व्यवस्था गरिएको छ । शिक्षकको लगबुक कक्षामा विद्यार्थीसंग हुन्छ । अभिभावकको लगबुक विद्यालय प्रशासनमा । कुन कक्षामा शिक्षक कति बजे छिरे ? कति समय पढाए ? विवरण विद्यार्थीले लगबुक लेख्छन् । 

‘त्यो लगबुक कुन विद्यार्थीसंग छ भन्ने कक्षा शिक्षकलाई पनि थाह हुँदैन । विद्यार्थीबाट त्यो लगबुक मागेर मासिक रुपमा हुने स्टाफ मिटिङ्मा छलफल गर्छौँ’ सहायक प्रधानाध्यापक श्रेष्ठले भने ।

त्यस्तै विद्यालयमा आफ्ना छोराछोरीको पढाई बुझ्न जाने अभिभावकको रेकर्ड पनि राख्ने गरिएको हुन्छ । जसलाई अभिभावकको लगबुक नाम दिइएको छ । विद्यालयमा जो अभिभावक बढी आउँछन् बर्षमा एकपटक मुल्याङ्कन गरेर पुरस्कृत गर्ने व्यवस्था गरेको व्यवस्थापन समितिका अध्यक्ष ढकालले बताए ।

janajyoti_gamala_2

‘उपस्थिति लगबुक हुन्छ । त्यसको आधारमा सम्मान गरेर विद्यालयले बोलाएको बेला मात्रै नभई अरु बेला पनि आएर आफ्नो सन्तानको बारेमा बुझोस् भनेर यो व्यवस्था गरेका हौँ’ उनले भने । 

यस बाहेक कक्षा शिक्षकले विद्यार्थीको उपस्थिति र के कृयाकलाप गर्‍यो भन्ने छुटटै लगबुक पनि बनाएको हुन्छ । त्यस्तै शिक्षकले खाली पिरियडमा पढाएको लगबुक अलगै हुन्छ । कुनै शिक्षक अनुपस्थित भएको कक्षामा अर्को शिक्षकले पढाएको लगबुकमा टिप्ने गरेको हुन्छ । यही रेकर्डको आधारमा एउटा कक्षा लिए बापत एक सय रुपैयाँ समेत पाउँछन् । 

विद्यालयले दैनिक कक्षा सञ्चालन, अतिरिक्त क्रियाकलाप, सहयोग संकलन, अभिभावकसँग समन्वय लगायतको काम गर्न आन्तरिक स्रोतबाट ३१ जना शिक्षक थप राखेका छन् । 

बचतको बानी बसाल्न बाल बचत 

विद्यालयले सुरु गरेको अर्को नयाँ अभ्यास हो - बाल बचत । विद्यार्थीबाट हरेक महिना एक सय रुपैयाँ बचत गर्ने अभ्यास सुरु गरेको छ । माध्यमिक तह सकिदाँसम्म मासिक जम्मा गरेको बचतले उच्च शिक्षा अध्ययन गर्न सहज बनाउन र बचत गर्नु पर्छ भन्ने चेतना जोगाउन विद्यालयले बाल बचत सुरु गरेको छ । 

‘कसैलाई करकाप छैन । स्वेच्छाले एक सय रुपैयाँ बचत गर्न सक्छन्’ उनले भने,‘विद्यालय तह सकिँदा उच्च शिक्षा अध्ययनमा भरथेक हुन सक्छ ।’ 

यसरी मासिक बचत उठाउनको लागि छुट्टै कार्यविधि नै बनाएको छ । 

नेपाली र अंग्रेजी माध्यममा पढाइ

 

कक्षा १० को अन्तिम परीक्षामा राम्रो नतिजा ल्याएका आधारमा राम्रो मानिएका देशका अन्य विद्यालयहरुमा जस्तै जनज्योतिले पनि नेपाली र अंग्रेजी माध्यमका लागि छुट्टा छुट्टै समूहमा राखेर पढाउँदै आएको छ । विद्यालयमा अध्ययन गर्ने मध्ये नेपाली माध्यम पढ्ने ६० प्रतिशत र ४० प्रतिशत विद्यार्थी अंग्रेजी माध्यम पढ्ने गरेको उनले बताए । विद्यालयको असल अभ्यास र सिकाइ उपलब्धी राम्रो भएकै कारण हुन सक्छ । यो शैक्षिक सत्रमा दुई सय नयाँ विद्यार्थी भर्ना भएका छन् । 

janajyoti_lab

विद्यालयको पहिलो घण्टीमा कुन कक्षामा को विद्यार्थी अनुपस्थित भए ? भन्ने खोजी गरिन्छ । जो अनुपस्थित छन् उसको खोजी गर्न फोन गर्न कक्षा शिक्षक खटिन्छन् । विद्यालय अनुपस्थित हुनुको कारण शिक्षकले अभिभावकसंग खोजिन्छ । 

नुमना विद्यालयको योजना पछि सुधारको बाटोमा 


yogendra_HT

योगेन्द्र अधिकारी, प्रधानाध्यापक

मैले विद्यालयको नेतृत्व सम्हालेको चार वर्ष भयो । त्यसअघि सहायकको रुपमा काम गरेँ । विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएको ०७६ देखि हो । सरकारले ०७४ मा आव्हान गरेको नुमना विद्यालयको प्रस्तावमा हाम्रो विद्यालय पनि छनोट भयो । पाँच वर्षसम्म चलेको योजनामा ५० लाख रुपैयाँ भौतिक पूर्वाधारमा खर्च भयो । दुई करोड शैक्षिक विकासमा खर्च भयो । अहिले पनि बार्षिक २०/२५ लाख नियमित सहयोग आइरहेकै छ । विद्यालयले अपनाएको नयाँ अभ्यास लागू गर्न नमुना विद्यालयको कार्यक्रमले सहयोग गरिरहेको छ । पहिला पनि हामीसँग अइडिया थियो तर, त्यसलाई कार्यान्वयन गर्न बजेट थिएन । अहिले नमुना विद्यालयको योजना नभए पनि अरु भन्दा फरक कसरी गर्न सकिन्छ भनेर काम गरिरहेका छौ । सफल हुँदै पनि गइरहेका छौँ । कुनै नयाँ कार्यक्रम ल्याउनु पर्‍यो भने शिक्षक, कर्मचारीसँग छलफल गर्छौँ । राम्रो छ भने सबैको सहमतीमा सुरु गर्छौँ । 

cover_janajoty

प्रतिक्रिया