Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

नियुक्ति पत्र नै नभएकोलाई बनाइयो शिक्षक

सोमबार, १३ चैत्र २०७९

काठमाडौं - तत्कालिन जिल्ला शिक्षा कार्यालयले नियुक्ति पत्र नै नभएका एक व्यक्तिलाई शिक्षक बनाइएको रहस्य खुलेको छ ।

तत्कालिन जिल्ला शिक्षा कार्यालय बैतडीका जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्ट समेत ६ जनाले नियुक्तिपत्र नै नभएको व्यक्तिलाई शिक्षक बनाइएका हुन् । 

गैर शिक्षक मनकाकुमारी अवस्थीलाई तत्कालिन जिशिअ भट्टले झुट्टा सरुवापत्रको आधारमा शिक्षक कायम गरेको भन्दै अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्धा दायर गरेपछि सो तथ्य सार्वजनिक भएको हो । तत्कालीन जिल्ला शिक्षा अधिकारी भट्टले हुनैनाथ आधारभूत विद्यालय सल्सेनाको व्यवस्थापन समितिबाट नियुक्ति भएको भनी विना कुनै कागजात नियुक्तिको अभिलेखीकरण गर्न प्राविधिक सहायकलाई टिप्पणी उठाउन लगाई उनले आफैं स्वीकृत गरी उक्त विद्यालयबाट बलैराज निम्न माध्यमिक विद्यालय सुनखोलामा सरुवा गरेको खुलेको अख्तियारको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

उनीविरुद्धको अभियोगपत्रमा ती शिक्षकलाई तलब लगायतका सुविधाहरू निकासा दिई जिल्ला शिक्षा अधिकारीको पद तथा ओहदाको दुरुपयोग गरी सार्वजनिक सम्पत्तिको बदनियतपूर्वक ७४ हजार ९ सय २० रुपैयाँ  हानीनोक्सानी गराएको उल्लेख छ ।

सोही अभियोगमा साविक जिल्ला शिक्षा कार्यालय बैतडीका तत्कालीन प्राविधिक सहायक स्व. सञ्जय ठाकुर दनुवारले हुनैनाथ प्रावि सल्सेनामा शिक्षक पद रिक्त नै नभएको, शिक्षक नियुक्तिको लागि अनुमतिपत्र नै माग नगरेको र उक्त विद्यालयले शिक्षक पदमा कसैलाई पनि नियुक्तिपत्र नै नदिएको अवस्थामा विना कुनै कागजात मनकाकुमारी अवस्थीको नियुक्तिको अभिलेखीकरण गर्नका लागि टिप्पणी उठाएको खुलेकाले स्वर्गीय दनुवारलाई समेत प्रतिवादी बनाइएको अख्तियारले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुमाथि मात्र नभएर स्वयम् गैर शिक्षकको नियुक्ति लिएका मनकाकुमारी अवस्थी, जिल्ला शिक्षा कार्यालयका तत्कालीन स्रोत व्यक्ति हरिनाथ, बलैराज निमावि बैतडीका प्रधानाध्यापक नरबहादुर कुँवर र बलैराज निमावि बैतडीका व्यवस्थापन समितिका अध्यक्ष जयराज जोशीविरुद्ध मुद्धा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जनाए ।

अख्तियारका अनुसार अवस्थीले सरुवा भएको झुट्टो पत्र लिएर बलैराज निमावि, सुनखोलामा गई हाजिर भई नियुक्ति नै नभएको अवस्थामा समेत झुट्टो सरुवापत्रको आधारमा शिक्षक कायम भई पारिश्रमिक लिई सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको, जिल्ला शिक्षा कार्यालयका तत्कालीन स्रोत व्यक्ति हरिनाथले आफ्नो स्रोतकेन्द्रअन्तर्गत रहेको हुनैनाथ प्राथमिक विद्यालय सल्सेनामा शिक्षक पद रिक्त नरहेको, सो विद्यालयले मनकाकुमारी अवस्थीलाई शिक्षक पदमा नियुक्ति गरेको, हाजिर गर्न लगाएको दर्ता गरिएको मुद्धामा उल्लेख छ ।

यसैगरी बलैराज निमावि बैतडीका प्रधानाध्यापक कुँवरले अवस्थीलाई आफ्नो विद्यालयमा विना रमानापत्र हाजिर गराई, शिक्षक पदमा कायम गरी नियुक्तिपत्र नभएको व्यक्तिलाई कानूनविपरीत पारिश्रमिक भुक्तानी दिएको भन्दै मुद्धा दायर गरिएको छ भने बलैराज निमावि बैतडीका व्यवस्थापन समितिका अध्यक्ष जोशीविरुद्ध पनि मुद्दा दायर भएको छ । 

 

प्रतिक्रिया