Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

जनप्रतिनिधि, शिक्षक र कर्मचारीका सन्तान सामुदायिक विद्यालयमै पढाउनु पर्ने

आइतबार, १९ चैत्र २०७९

पाँचथर - आउँदै गरेको नयाँ शैक्षिक सत्र देखि पालिका भरीका जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना सन्तानलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने मिक्लाजुङ गाउँपालिकाले निर्णय गरेको छ । गत १३ गते बसेको पालिकाको बैठकले शैक्षिक सत्र २०८० देखि  जनप्रतिनिधि, शिक्षक, विद्यालयका कर्मचारी र सरकारी कर्मचारीका छोराछोरीहरुलाई आधारभूत तह (कक्षा ८) सम्म सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको हो । 

उक्त निर्णय कार्यान्वयन गर्न पालिकाले १६ गते सार्वजनिक सूचना जारी गरेको छ । गाउँपालिकाको शिक्षा ऐन, २०७९ को दफा (२२) मा विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुका छोराछोरीहरुलाई शैक्षिक सत्र २०८० बाट अनिवार्य रुपमा आधारभूत तह (कक्षा ८) सम्म सामुदायिक विद्यालयमा पठनपाठन गराउनु पर्ने व्यवस्था गरेको स्मरण गराउँदै पालिकाले उक्त सूचना जारी गरेको हो ।

समाजका जिम्मेवार पक्षको अपनत्व नहुनुले नै सामुदायिक विद्यालय प्रति समाजको वेवास्ता बढेको शिक्षाविद्हरुले बताउँदै आएका छन् । जनप्रतिनिधि, शिक्षक र सरकारी कर्मचारीका सन्तानलाई सामुदायिक विद्यालयमा पढाउने अभियान थाल्ने हो भने सामुदायिक विद्यालयको गुणस्तर सुधार हुने उनीहरुको तर्क रहँदै आएको छ । 

प्रतिक्रिया