Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

नक्कली लिखत बनाइ शिक्षक नियुक्ति, शिक्षक, प्रअ र शिक्षा प्रमुख विरुद्ध मुद्दा

सोमबार, २० चैत्र २०७९

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक, प्रधानाध्यापक र पालिकाको  शिक्षा शाखा प्रमुखविरुद्ध मुद्धा दायर गरेको छ । सर्लाहीका एक व्यक्तिलाई नक्कली शिक्षक बनाउन कागजात मिलाउने प्रधानाध्यापकदेखि पालिकाको शिक्षा शाखा प्रमुखका साथै स्वयम् नक्कली शिक्षक बन्ने विरुद्ध पनि मुद्धा दायर गरेको छ । 

सर्लाहीको लालबन्दी नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव वासुदेव तिमल्सिना, प्रधानाध्यापक नारायण प्रसाद बराल र नक्कली कागजातको आधारमा विद्यालयको शिक्षक बनेका पाँचु राय विरुद्ध आरोप पत्र दायर गरिएको छ । 

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार शिक्षा शाखा प्रमुख तिमल्सिना साविक जिल्ला शिक्षा कार्यालय, सर्लाहीका तत्कालीन उपसचिव (जिल्ला शिक्षा अधिकारी) पनि हुन् ।

शाखा प्रमखु तिमल्सिनाले साविक डिम जनता उच्च माध्यमिक विद्यालय, सर्लाहीमा उच्च माध्यमिक शिक्षक अनुदान कोटामा नियुक्त नै नभएको पाँचु रायलाई नियुक्ति प्रक्रिया, हाजिरी रेकर्ड लगायतका अभिलेख वेगर साविक जिल्ला शिक्षा कार्यालय, सर्लाहीमा शिक्षक सरुवा पदस्थापन गर्ने अधिकार प्राप्त अधिकारीको निर्णय विना नै रायलाई केश्वर गरिब जनता माध्यमिक विद्यालयमा तत्कालीन उच्च माध्यमिक शिक्षक अनुदान कोटामा सरुवा पदस्थापन गर्न साविक जिल्ला शिक्षा कार्यालय, सर्लाहीको नियुक्ति समर्थन र अभिलेख कायम तथा सरुवा पदस्थापन विषयको नक्कली लिखत बनाई केश्वर गरिब जनता माध्यमिक विद्यालय, सर्लाहीमा सरुवा पदस्थापना गरेको खुलेको प्रवक्ता दाहालले बताए ।

यसैगरी सर्लाहीकोे रामअवतार जनता माध्यमिक विद्यालय, हरिवनका प्रधानाध्यापक नारायण प्रसाद बराल साविक डिम जनता उच्च माध्यमिक विद्यालय, परवानीपुर, सर्लाहीका तत्कालीन प्राचार्य हुन् । उनले शिक्षक पाँचु रायलाई केश्वर गरिब जनता माध्यमिक विद्यालय, सर्लाहीको उच्च माध्यमिक शिक्षक अनुदान कोटामा सरुवा पदस्थापन गर्न साविक डिम जनता उच्च माध्यमिक विद्यालय, परवानीपुर, सर्लाहीको निर्णयानुसार भनी उच्च माध्यमिक शिक्षक, शिक्षक अनुदान कोटातर्फको अर्थशास्त्र विषयको शिक्षक पदमा करार नियुक्त गरेको भनी नक्कली लिखत बनाई वदनियतपूर्वक नियुक्तिको लिखत तयार गरेका थिए ।

उनीहरु दुबैमाथि सार्वजनिक संस्थामा नक्कली शिक्षक हुने व्यवस्था मिलाई नेपाल सरकारलाई हानिनोक्सानी पुर्याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर गरेको देखिएकोले निजलाई सोही ऐनको दफा ९ ले व्यवस्था गरेबमोजिम कैद र जरिवाना गर्न मागदाबी लिइएको छ । 

सर्लाहीका शिक्षक पाँचु रायले साविक डिम जनता उच्च माध्यमिक विद्यालय, सर्लाहीको निर्णयानुसार उच्च माध्यमिक शिक्षकको रुपमा करार नियुक्ति भएको भन्ने व्यहोरा उल्लेख भएको नियुक्तिको नक्कली लिखत तयार गर्न र साविक जिल्ला शिक्षा कार्यालय, सर्लाहीबाट उक्त नियुक्तिको समर्थन र अभिलेख कायम गरी केश्वर गरिब जनता माध्यमिक विद्यालय, हरिपूर्वा, सर्लाहीमा सरुवा पदस्थापनाको नक्कली लिखत तयार गर्न मिलोमतो गरी सोही नक्कली लिखतहरुको आधारमा केश्वर गरिब जनता माध्यमिक विद्यालय, हरिपूर्वा, सर्लाहीमा उच्च माध्यमिक शिक्षक अनुदान कोटाको शिक्षकको पदमा कार्यरत रही सोही ओहोदाबाट २०७४ सालको निर्वाचनमा मतदान अधिकृतको समेत कार्य गरी पाँचु रायले नक्कली कागजातको आधारमा विद्यालयको शिक्षक बनी आफूले नपाएको ओहदा, अधिकार, हैसियतसमेतमा रहने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसुर गरेको देखिएकोले निजलाई सोही ऐनको दफा १५ ले व्यवस्था गरेबमोजिम कैद र जरिवाना गर्न मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८, दफा २९ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रतिक्रिया