Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

सरकारको १०० दिन, शिक्षाका लागि ११२ शब्द !

मंगलबार, २१ चैत्र २०७९

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गठित नयाँ सरकारले मंगलबार सय दिन पुरा गरेको छ । सरकार गठन भएको पहिलो सय दिनलाई राजनीतिक रुपमा पनि ’हनिमुन पिरियड’ भनिन्छ । यस अवधि सम्म विपक्षिले समेत प्रतिक्षा गर्ने प्रचलन छ । चुनावमा जाँदाको गठबन्धन तोडेर गत पुस १० गते नयाँ गठबन्धन सहित प्रधानमन्त्री बनेका दाहलले पुस ११ बाट कार्यभार सम्हालेका थिए । सरकार गठन गर्दाको गठबन्धन बदलेर नयाँ गठबन्धनको समर्थनमा सत्ताको नेतृत्व गरे पछि यहि सय दिने अवधिमा दाहालले दोस्रो पटक विश्वासको मत लिन परेको थियो । 

यो बीचमा दाहाल नेतृत्वको सरकारले गरेका विभिन्न कामहरुको फेरहिस्त समेटेर प्रधानमन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तिमा ३७ वटा बुँदामा कामको व्याख्या गरिएको छ । जहाँ ३२ र ३३ औं बुँदामा शिक्षाका उपलब्धि समेटिएको छ । विज्ञप्तिको भूमिकामा शिक्षा सम्बन्धी सामाजिक विकासको क्षेत्र अन्तर्गत गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधारको विकास भएको दावी गरिएको छ ।

चार हजार तीन सय बढी शब्दको प्रेस विज्ञप्तिमा शिक्षाका विषयलाई ११२ शब्दमा उल्लेख गरिएको छ । चुनावमा जानु अघि जारी चुनावी घोषणापत्रमा ६ महिना भित्रै शिक्षा ऐन ल्याउने वाचा गरेको दलका अध्यक्ष नेतृत्वको सरकारले तोकिएको समय भन्दा आधा अवधि पार गरिसक्दा पनि ऐन निर्माणमा कुनै प्रगति भएको छैन । सय दिने उपलब्धिमा भने शिक्षाका ‘कर्मकाण्डि’ विषय मात्रै समेटेर झारा टार्ने काम गरिएको छ । सय दिने उपलब्धि समेटिएको भनिएको दस्तावेजमा उल्लेख शिक्षाका विषयले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले शिक्षालाई कुन प्राथमिकतामा राखेको छ भन्ने प्रष्ट बनाएको छ । 

विज्ञप्तिमा शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने ‘कर्मकाण्डि’ विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको दावी गरेको छ । अहिले कतिपय जिल्लामा शैक्षिक सत्र सुरु भइसक्दा पनि पाठ्यपुस्तक नपुगेको गुनासो सेलाएको छैन । विज्ञप्तिमा भने ‘आगामी शैक्षिक सत्र सुरु हुनु अगावै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने कुरालाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।’ भनिएको छ ।

विज्ञप्तिमा ‘शैक्षिक सत्र २०८० को हकमा कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तकहरू निजी मुद्रकहरूबाट समेत र कक्षा ६ देखि १२ सम्मका पाठ्यपुस्तकहरू जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ गरी निर्धारित समयभित्रै वितरण गर्ने व्यवस्था मिलाइएको’ उल्लेख छ ।

कैलालीको गेटामा रहेको प्रस्तावित गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा स्थापना तथा सञ्चालन गर्ने निर्णय भएकामा विश्वविद्यालय विधेयक तर्जुमा सम्बन्धमा समिति गठन भई विधेयक तर्जुमाको कार्य भइरहेको,  कोशी अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरी पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत आङ्गिक मेडिकल कलेजका रूपमा सञ्चालन गर्ने व्यवस्था गरिएको विषय उपनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकारको सय दिने उपलब्धिमा उल्लेख शिक्षाका बुँदा जस्ताको त्यस्तै : 
 
३२. आगामी शैक्षिक सत्र सुरु हुनुअगावै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने कुरालाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । यस क्रममा शैक्षिक सत्र २०८० को हकमा कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तकहरू निजी मुद्रकहरूबाट समेत र कक्षा ६ देखि १२ सम्मका पाठ्यपुस्तकहरू जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ गरी निर्धारित समयभित्रै वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
 
३३. कैलालीको गेटामा रहेको प्रस्तावित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा स्थापना तथा सञ्चालन गर्ने निर्णय भएकामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक तर्जुमा सम्बन्धमा समिति गठन भई विधेयक तर्जुमाको कार्य भइरहेको छ। कोशी अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरी पूर्वाञ्‍चल विश्‍वविद्यालय अन्तर्गत आङ्गिक मेडिकल कलेजका रूपमा सञ्‍चालन गर्ने व्यवस्था गरिएको छ । 

- फाईल फोटो 

प्रतिक्रिया