Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

भर्ना अभियान : कक्षा ११/१२ का विद्यार्थीलाई प्रयोगात्मक कार्यको रुपमा परिचालन

मंगलबार, २८ चैत्र २०७९

भक्तपुर - शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०८० को विद्यार्थी भर्नाका लागि स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ । केन्द्रले शैक्षिक सत्र २०८० मा भर्ना अभियानका लागि ‘समयमै भर्ना, समयमै ज्ञान ः गुणस्तरीय शिक्षा, सबैको अभियान’ वाक्य तय गरी स्थानीय तह र विद्यालयलाई भर्ना कार्यक्रम गर्न परिपत्र मार्फत् निर्देशन दिएको हो ।

भर्ना अभियान सञ्चालन गर्न केन्द्रले स्थानीय तह र विद्यालयलाई ६ बंदे निर्देशन सहितको परिपत्र गरिएको केन्द्रको अनुसन्धान तथा गुणस्तर सुधार शाखाका अधिकृत धनसुदन चौंलागाइँले जानकारी दिए । परिपत्रमा विद्यालयले भर्ना अभियान सञ्चालनका लागि विद्यालय व्यवस्थापन समितिको बैठकबाट नै निर्णय गराइ कार्यतालिका सहित विद्यार्थी भर्ना कार्यक्रम २०८० बैशाख महिनामा नै सञ्चालन गर्नुपर्ने, भर्ना हुन आउने बालबालिकालाई तत्काल भर्ना गरी स्वागत गर्ने र निः शुल्क पाठ्यपुस्तक उपलब्ध गराउन भनिएको छ ।

यस्तै विद्यार्थी भर्नाका लागि आफ्नो सेवा क्षेत्र भित्र व्यापक रुपमा प्रचार र सूचना गर्न, कक्षा ११ र १२ सञ्चालन भएका विद्यालयले सो तहमा अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक कार्यको रुपमा आफ्नो सेवा क्षेत्र भित्र विद्यालय रहेका बालबालिकाको लगत संकलन, तिनीहरु विद्यालय बाहिर रहनुको कारण एवं समस्या पहिचान, विद्यालय भर्नाका लागि घरदैलो, सडक नाटक प्रदर्शन जस्ता क्रियाकलापमा परिचालन गर्न र विद्यालयका एक शिक्षकलाई विद्यार्थी भर्ना कार्यक्रमको सम्पर्क व्यक्ति तोकी सूचना, सम्पर्क र समन्वयको जिम्मेवारी दिन भनिएको छ ।

केन्द्रले गरेको परिपत्रमा स्थानीय तहको शिक्षा शाखाको एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति तोकी सूचना, समन्वय र सहजीकरण गर्न लगाउने, स्थानीय एफएम, रेडियो लगायत स्थानीय स्तरका सञ्चार माध्यमहरुबाट सकेसम्म स्थानीय भाषमा विद्यार्थी भर्ना सम्बन्धी सचेतनामूलक सूचना, विज्ञापन प्रशारणको व्यवस्था मिलाउने, स्थानीय स्तरमा क्रियाशील र शिक्षा क्षेत्रमा कार्यक्रम सञ्चालन गरिरहेका गैरसरकारी संस्थाहरुलाई विद्यालय बाहिर रहेका विद्यालय उमेर समूहका बालबालिका पहिचान तथा भर्ना गर्न प्रोत्साहित गर्ने कार्यमा परिचालन गर्ने, अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहण गरी भर्ना गराउने र त्यस्ता बालबालिकाको पढाइमा निरन्तर सहयोग गर्न चाहनेहरुको उचित पहिचान र सम्मान गर्ने तथा अभिलेख राख्ने व्यवस्था गर्न केन्द्रले भनेको छ ।

यसैगरी स्थानीय तहका लागि आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक सिकाइ केन्द्रहरुलाइ विद्यालय बाहिर रहेका बालकालिकाहरुको लगत संकलन, भर्नाको समय, स्थान, र प्रक्रियाबारे प्रचासप्रसार, सञ्चार र समन्वयमा परिचालन गर्न, भर्ना अभियानबाट विद्यालयका भर्ना भएका बालबालिकाको उमेरगत विवरणसहितको प्रतिवेदन सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा पठाउन, आफ्नो क्षेत्रभित्र विद्यालय उमेरका शतप्रतिशत बालबालिका समयमै विद्यालयका भर्ना गराई भना सकिएलगत्तै विद्यालय बाहिर बालबालिका नभएको स्वघोषणा गर्न भनेको छ ।

केन्द्रका निर्देशक सुरेशकुमार जोशीले विद्यालय भर्नाको सम्पूर्ण दायित्व स्थानीय तहको रहेको उल्लेख गर्दै विगत लामो समयदेखि सञ्चालमा रहेको विद्यार्थी भर्ना अभियानलाई सफल बनाउन केन्द्रले सहजीकरण स्वरुप सहयोगका लागि परिपत्र गरिएको जानकारी दिए ।

प्रतिक्रिया