Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

शैक्षिक सुधारका लागि कार्यदल

मंगलबार, १९ बैशाख २०८०

भक्तपुर - चाँगुनारायण नगरपालिकाले शैक्षिक सुधारका लागि कार्यदल गठन गरेको छ । नगरपालिका भित्र रहेका विद्यालयहरुको शैक्षिक सुधारका लागि आवश्यक नीति तथा योजना बनाउन नगरले कार्यदल गठन गरेको हो ।

कार्यदलको संयोजकमा चाँगुनारायण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् शिक्षा समितिका सदस्य सुन्दर खनाल रहेका छन् ।

‘नगरको समग्र शैक्षिक सुधारका लागि कार्यदल गठन गरेको छ, कार्यदलले शैक्षिक सुधारको वृहत्तर कार्ययोजना तयार गरी नगरपालिकाकालाई सिफारिश गर्नेछ’, नगरपालिकाका शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले भने, ‘त्यसले नगरको शिक्षाको वर्तमान अवस्था थाहा भई नगरको भूगोल र आवश्यकता अनुरुपको शैक्षिक कार्यक्रम तय गर्न सहयोग गर्नेछ ।’

उनले अहिले विद्यमान रहेका विद्यालयहरुको अवस्थाको अध्ययन गरी नगरका लागि आवश्यक शैक्षिक नीति र योजना बनाउन सहयोग पुग्ने गरी कार्यदलले काम अघि बढाउने जानकारी दिए ।

कार्यदलमा घनश्याम खड्का, टंक सिटौला, अञ्जना पोखरेल, गोविन्द ढुंगाना, इञ्जकुमार बास्तोला र रञ्जना सापकोटा सदस्य रहेका छन् । सो कार्यदलमा विज्ञ तथा शिक्षा पत्रकारलाई पनि समावेश गर्ने शिक्षा शाखा प्रमुख खड्काले जानकारी दिए ।

सो निर्णय नगर शिक्षा समितिले गरेको उनको भनाइ छ । कार्यदलले नगरका नौवटै वडामा रहेका विद्यालय र शिक्षासँग सरोकार राख्ने व्यक्तिहरुसँग छलफल गरी ६ हप्तामा प्रारम्भिक रिपोर्ट पेश गर्ने समयावधि सहितको कार्यदेश समेत दिइएको उनले बताए ।

नगर प्रमुख एवं शिक्षा समितिका अध्यक्ष जीवन खत्रीले कार्यदलको सिफारिसले नगरको शैक्षिक व्यवस्थापनमा  महत्वपूर्ण योगदान हुने उल्लेख गर्दै त्यसका लागि आवश्यक सहयोग नगरपालिकाबाट सहयोग हुने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया