Edukhabar
बुधबार, २३ असोज २०८१
खबर/फिचर

नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा सांसद पक्राउ

राष्ट्रिय परीक्षा बोर्डबाट पनि भेरिफाईड नभएको आधारमा पक्राउ गरेको सभामुखलाई जानकारी

विहीबार, २५ साउन २०८०

काठमाडौं - सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सुनिल शर्मा नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले  गोल्फुटार स्थित घरबाटै उनलाई पक्राउ गरेको हो ।

नेपाल मेडिकल काउन्सिलबाट प्राप्त सूचनाका आधारमा राष्ट्रिय परीक्षा बोर्डबाट पनि भेरिफाईड नभएको आधारमा पक्राउ गरिएको ब्यूरोले जनाएको छ । २०७९ साउन ५ गते बोर्डबाट प्राप्त पत्रका आधारमा उनको प्रमाणपत्र अपुष्टित भएको ब्यूरोले जनाएको छ । सन् १९९६ मा रोल कोड ६५०४, रोल नम्बर १०११७ आईएसी तहको उनको शैक्षिक प्रमाणपत्र नट भेरिफाईड भएको बोर्डले पत्र पठाएको थियो । 

सोही आधारमा उनले कसूर गरेको ठहर गर्दै ब्यूरोले अनुसन्धानका लागि गिरफ्तार गरेको जनाएको छ । भारतीय संस्थाबाट जारी भएको उक्त शैक्षिक योग्यताको प्रमाणपत्र कै आधारमा उनले एमबीबीएस अध्ययन गरेका थिए । उनी मेडिकल कलेज सञ्चालक पनि हुन् ।

मोरङ–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको जानकारी प्रहरीले सभामुख देवराज घिमिरेलाई दिएको छ ।

प्रहरी अतिरिक्त महानिर्देशक किरण बज्राचार्यले सांसद शर्मा पक्राउ परेको जानकारी सहितको पत्र सभामुख घिमिरेलाई पठाएकी हुन् । वहालवाला सांसद पक्राउ गर्नु अघि सभामुखलाई जानकारी दिनु पर्ने व्यवस्था छ ।

हाल चर्चामा रहेको एक क्विण्टल सुन तस्करीमा अर्थ मन्त्री र गृहमन्त्रीको संलग्नता रहेको भन्दै शर्माले उनीहरुको राजिनामा नआए संसदमै अनसन बस्ने चेतावनी दिएका थिए । 

प्रहरीले शर्मासँगै डा. रञ्जितकुमार यादव र डा. अमित चौधरीलाई पनि पक्राउ गरेको छ । 
। 
 

प्रतिक्रिया