Edukhabar
शनिबार, १२ साउन २०८१
खबर/फिचर

आँखा पाक्ने रोग फैलिन नदिन चार दिन विद्यालय बन्दको निर्णय

रोगको प्रत्यक्ष असर विद्यालयका शिक्षक, कर्मचारी, र विद्यार्थीमा पनि देखिएकोले बन्द गर्नु परेको भनाई

सोमबार, २९ साउन २०८०

काठमाडौ - केही दिनयता फैलिरहेको आँखा पाक्ने रोगबाट बालबालिकालाई सुरक्षित राख्न भन्दै गोकर्णेश्वर नगरपालिकाले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । हाल देशव्यापी रुपमा फैलिएको आँखा पाक्ने रोगका कारण जनस्वास्थ्यमा प्रतिकुल असर परिरहेकाले विद्यालय बन्द गर्नु परेको नगर प्रमुख दिपक कुमार रिसालले बताए । 

उक्त रोगको प्रत्यक्ष असर विद्यालयका शिक्षक, कर्मचारी, र विद्यार्थीमा पनि देखिएकोले भदौ १ गते सम्म विद्यालय बन्द गर्ने नगरपालिकाले निर्णय गरेको उनले बताए ।  

‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ भनिने आँखा पाक्ने रोगका कारण पछिल्लो समय अस्पतालहरुमा भिडभाड बढेको छ । हरेक बर्ष बर्खा याममा पानी परेर रोकिएपछि आँखा पाक्ने समस्या देखिन्छ । आँखा पाक्नुका कारण धेरै भए पनि प्रमुख कारण हो इन्फेक्सन नै भएको चिकित्सकहरु बताउँछन् । 

यो रोगको मुख्य लक्षण आँखामा चिप्रा लाग्ने, आँखा सुन्निने, चिलाउने, पोल्ने र रातो हुने आदि हुन् भने यो एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ । त्यसैले यो समस्या भएका ब्यक्ति धेरै भिडभाडमा जानु हुँदैन, यो समस्या एक देखि दुई सातामा आफैं कम हुँदै जाने चिकित्सकहरु बताउँछन् । तर, समयमै चिकित्सकको सल्लाहमा उपचार गर्न उनीहरुको सुझाव छ । 

चिकित्सकका अनुसार संक्रमण भएको व्यक्तिले आँखा छोएर टेबल, मेच, लुगा वा अन्य व्यक्तिलाई छुँदा संक्रमण फैलिन सक्छ । घरमा खानेपानीलाई बरफ बनाएर त्यसले आँखा सेकाउन पनि मिल्छ । एउटा आँखामा प्रयोग गरेको बरफ अर्कोमा प्रयोग गर्न भने हुँदैन । आँखा पाकेका मानिसले आँसु पुछ्दा ‘डिस्पोजेबल टिस्यु’ हरूको प्रयोग गर्नुपर्छ । आँखा नमाड्न, पानी नछ्याप्न, जथाभावी औषधिको प्रयोग नगर्न तथा घरबाहिर जाँदा कालो चस्मा प्रयोग गर्न चिकित्सकहरुले सुझाव दिएका छन् । 

प्रतिक्रिया