Edukhabar
शनिबार, १२ साउन २०८१
खबर/फिचर

सत्तामा आफ्नै दल, तिनै दलका कार्यकर्ता आमरण अनसनमा छट्पटिदैं

आमरण अनसनमा बसेका विद्यार्थीको स्वास्थ्य अवस्था जटिल

सोमबार, ११ भदौ २०८०

ललितपुर - शुल्क वृद्धिको निर्णय तत्काल फिर्ता गर्न माग गर्दै सात दिन देखि आमरण अनसनमा बसेका इञ्जिनियरिङ संकायका विद्यार्थी सुलभ चापागाईंको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । स्वास्थ्य परीक्षणमा आएका चिकित्सकले उनको स्वास्थ्य अवस्था प्रति चिन्ता व्यक्त गरेको सहयोगी रुपेश भट्टराईले बताए । भट्टराईका अनुसार वीर अस्पतालका चिकित्सकहरुले हरेक दिन बेलुका उनको स्वास्थ्य परीक्षण गर्दै आएका छन् । रिपोर्टिङ्का लागि एडुखबर सम्वाददाता पुग्दा उनी ईन्तु न चिन्तु अवस्थामा पल्टिरहेका थिए । उनका सहयोगीहरुले उनलाई बोल्न कठिन हुने बताएका छन् । 

शुल्क वृद्धिको निर्णय फिर्ताको माग सहित इञ्जिनियरिङ अध्ययन संस्थान पूल्चोकमा भदौ ५ गतेबाट चापागाईं आमरण अनसन बसेका हुन् । साउन २५ गते बसेको इञ्जिनियरिङ अध्ययन संस्थान कार्यान्वयन समितिको बैठकले चार वर्षे बीई तथा बी आर्क तर्फको शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो । उक्त निर्णयले विद्यार्थी तथा अभिभावकलाई मर्का पर्ने भन्दै सोही संस्थानमा चौथो बर्षको सातौं सेमेष्टरमा अध्ययनरत नवलपरासीको रजहरका चापागाईंले अनसन थालेका हुन् । उनी सत्ताधारी दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको पुल्चोक क्याम्पस ईकाई समितिका सभापति समेत हुन् । 

यसै बिच समाजवादी मोर्चा निकट छुट्टाछुट्टै तीन संगठनका नेता कार्यकर्ता पनि आईतबारबाट सोही क्याम्पसमा आमरण अनसनमा बसेका छन् । चापागाईं क्याम्पसको मुख्य भवन भित्र प्रवेश गर्ना साथ रिसेप्सन रहेको क्षेत्रको भुईंमा छन् भने अन्य दुई संगठनका नेता कार्यकर्ता उक्त भवन प्रवेश गर्ने मुल ढोकाको बाहिर पट्टि बसेका छन् । बाहिर बस्नेहरुमा सत्ताधारी दल माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष केशव रावल र उपत्यका विशेष प्रदेश उपाध्यक्ष नरेन्द्र वयडी छन् । यस्तै समाजवादी मोर्चाकै अर्को सत्ताधारी घटक जसपा निकट समाजवादी विद्यार्थी यूनियनकी उपमहासचिव रसना यादव र विप्लब निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा त्रिभुवन विश्वविद्यालयका ईञ्चार्ज प्रेम सी पनि अनसनमा छन् ।  

ioe_anson_1

शुल्क वृद्धि निसर्त खारेज हुनु पर्ने, पुल्चोक लगायतका आँगिक क्याम्पसहरुमा निशुल्क अध्ययनको व्यवस्था हुनु पर्ने, प्रवेश परीक्षा तत्काल गर्नु पर्ने, स्वदेशमै अध्ययन स्वदेशमै रोजगारी, पूल्चोक क्याम्पसलाई अनुसन्धानको केन्द्र बनाउनु पर्ने र आवश्यक बजेट तत्काल व्यवस्था गर्नु पर्ने उनीहरुको माग छ । 

संस्थानको कार्यान्वयन समितिको बैठकले तय गरेको नयाँ शुल्क अनुसार अब पूर्ण शुल्कीय तर्फ चार वर्षको सात लाख ७५ हजार चार सय २० रुपैयाँ तोकिएको छ । त्यस्तै नियमित तर्फ ८२ हजार सात सय २० रुपैयाँ पुर्याइएको छ । यस अघि नियमित तर्फको ३५ हजार रुपैयाँ शुल्क तोकिएको थियो । भने पूर्ण शुल्कीय तर्फ तीन लाख ३० हजार रुपैयाँ थियो । अहिले आएर संस्थानले दुई सय ३५ प्रतिशतले शुल्क बढाएको हो ।  

आईओईका पदाधिकारीले लामो समय देखि शुल्क नढाइएकाले समय सापेक्ष हिसावमा शुल्क बढाएको तर्क गर्दै आएका छन् । शुल्कका बारेमा अध्ययन गर्न आईओईलेसुशिल बज्राचार्यको संयोजकत्वमा गठन गरेको समितिले आईओई अन्तर्गतका ५ वटै आंगिक क्याम्पसमा अध्ययन गरे पछि शुल्क बढाउन सिफारिस गरेको थियो । यसअघि २०५३ सालमा शुल्क तोकिएको थियो । त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतका दरले शुल्क बढ्ने भन्ने थियो । त्रिभुवन विश्वविद्यालयले संस्थानलाई बजेट दिन नसकिने बताउँदै आएको छ । जसले गर्दा हालको शुल्कमा विद्यार्थीलाई पढाउन सकिने अवस्था नरहे पछि बढाइएको संस्थानको तर्क छ । 

ioe_anson_2

संस्थान अन्तर्गत पुल्चोक इञ्जिनियरिङ कलेज, पूर्वाञ्चल कलेज, पश्चिमाञ्चल कलेज, थापाथली कलेज र चितवन कलेज गरेर ५ वटा आंगिक कलेजहरू छन् । त्रिविसँग सम्बन्धन लिएर १० वटा निजी कलेजहरूले इञ्जिनियरिङ तर्फका स्नातक तह र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया