Edukhabar
शनिबार, १२ साउन २०८१
गतिविधि

असहिष्णु बन्दै शिक्षक

बालबालिकामा ज्ञान प्रवाह गर्ने ठाउँमा रहेका शिक्षक आफैं असहिष्णु बन्दै गए पछि उनीहरुले कस्तो शिक्षा प्रदान गरिरहेका छन् ? गम्भिर प्रश्न

मंगलबार, ०२ असोज २०८०

काठमाडौ - शिक्षा विधेयक विरुद्ध विद्यालय बन्द गर्ने धम्कि दिएका शिक्षकहरु बालबालिकाको पढ्न पाउने अधिकार हननमा उत्रिएको भन्दै आलोचना गर्नेहरु प्रति असहिष्णु बन्दै गएका छन् । संविधानले गरेको व्यवस्था अनुकुल स्थानीय सरकारको भूमिका किटान गरेको विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक सदनमा दर्ता भए सँगै शिक्षकहरु आलोचकहरु प्रति अत्यधिक असहिष्णु बनेका हुन् । 

विधेयक विरुद्ध विद्यालय बन्दै गरेर बुधबार देखि काठमाडौमा प्रदर्शन गर्ने तयारीमा रहेका शिक्षकहरुद्वारा सामाजिक सञ्जालमा व्यक्त विचार र अभिव्यक्ति पढ्दा लाग्छ उनीहरु आफ्ना बाहेक अरुका विचार ग्रहण गर्नै चाहन्नन् । फरक विचार, लिंग, क्षेत्र, धर्मकै आधारमा कसैलाई पनि विभेद गर्न, अपमानित गर्न र हेला होचो गर्न हुन्न भन्ने ज्ञान बालबालिकामा प्रवाह गर्ने ठाउँमा रहेका शिक्षक आफैं असहिष्णु बन्दै गए पछि उनीहरुले कस्तो शिक्षा प्रदान गरिरहेका छन् ? गम्भिर प्रश्न उब्जेको छ ।  

सत्ताधारी मुख्य घटक नेपाली कांग्रेस निकट शिक्षकको संगठन नेपाल शिक्षक संघका बरिष्ठ उपाध्यक्ष यम पी. भुषालले मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको स्टाटस र  त्यसमा आएका कमेण्ट शिक्षकको असहिष्णुताको एक उदाहरण हो । फेसबुक प्रोफाईलमा कांग्रेसको महासमिति सदस्य रहेको बायो राखेका भुषालले शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाको विचार सहितको तस्विर पोष्ट गरेका छन् । 

'जो कोहीले विद्यालय बन्द गर्नु भनेको बदमासी हो, आन्दोलन नै गर्ने भए पठनपाठनमा असर नपुग्ने गरी गरिनु पर्छ' कोइरालाको यही भनाई सहितको फोटो भुषालले शेयर गरेका छन् । उक्त पोष्टमा भुषालले लेखेका शब्द आफैंमा ज्यादै असहिष्णु छन् भने त्यहाँ आएका कमेण्ट पढ्दा के यी बालबालिका पढाउने शिक्षक नै हुन् ? भन्ने प्रश्न उब्जिन्छ । 

विद्यालय बन्द गर्नुलाई बदमासी भनेको कोइरालाको विचार सहित एक पेजले तयार पारेको फोटो सामग्रीलाई पोष्ट गर्दै भुषालले लेखेका छन् 'दालभातको खेदपूर्ण निकृष्ट अभिव्यक्ति !'

संघका अध्यक्ष सोमनाथ गिरी, शिक्षक महासंघका महासचिव लक्ष्मि किशोर सुवेदी सहित २६ जनालाई ट्याग गरिएको उक्त स्टाटसमा आएका कमेण्टमा कोइरालालाई मृत्युको कामना सम्म गरिएको छ । 

bidhya_teacher comment1bidhya_teacher comment2bidhya_teacher comment3bidhya_teacher comment4

कोइराला शिक्षकको वेतन देखि अधिकार सम्मका विषयमा राज्यलाई गम्भिर बनाउन यत्न गर्दै आएका शिक्षाविद् हुन् । उनी शिक्षकलाई कक्षा कोठा र बालबालिकाको सिकाइमा केन्द्रित नगरेसम्म सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि नहुने कुरामा प्रष्ट छन् । कक्षा कोठामा नजाने तर राजनीतिक दलका कार्यक्रममा व्यस्त हुने शिक्षक प्रति उनी खरो रुपमा आलोचना गर्छन् । त्यस्ता शिक्षकलाई नजिकको यूनिट अर्थात् स्थानीय सरकारले गर्ने अनुगमन नै प्रभावकारी हुने उनको तर्क रहँदै आएको छ । कसैले व्यक्त गरेको विचार कै आधारमा मृत्युको कामना गर्न समेत पछि नपर्ने शिक्षकबाट समाजले के अपेक्षा गर्ने ? 

विद्यालय तह सम्मको अधिकार स्थानीय सरकार मातहत हुने संविधानको व्यवस्थालाई केन्द्रमा राखेर एडुखबरले लेखेका समाचार, विचार, विश्लेषण र सम्पदकीयमा पनि उस्तै असहिष्णु भाषा व्यक्त गरिएका छन् । 

edukhabar_1

एडुखबरमा आवद्ध पत्रकारहरुलाई व्यक्तिगत रुपमा आक्षेप लगाउने कार्य पनि शिक्षकहरुबाट शुरु भएको छ । यसरी कमेण्ट गर्नेहरुको बायो हेर्दा उनीहरु मध्ये बहुसंख्यक शिक्षक नै रहेको प्रष्ट हुन्छ । 

भुषालको स्टाटस त एक उदाहरण मात्रै हो । पछिल्लो समय बहुसंख्यक शिक्षकहरु आलोचकहरुलाई व्यक्तिगत लाल्छना लगाउने देखि सार्वजनिक रुपमा अपमानित गर्न उद्यत देखिदैं आएका छन् । र, यसो गर्नेहरुमा कक्षा कोठा र सिकाइमा केन्द्रित शिक्षकहरु भन्दा धेरै राजनीतिक दलका कार्यकर्ताका रुपमा सकृय शिक्षकहरु नै छन् ।  

यस्ता कृत्यलाई निरुत्साहित गर्न आन्दोलनको आह्वान र नेतृत्व गरेको शिक्षक महासंघ बेलैमा गम्भिर बनोस् । कक्षा कोठामा कम दलको झोला बोक्न धेरै व्यस्त शिक्षकका कारण सामुदायिक विद्यालय प्रतिको विश्वास घटेको आरोप लागिरहेको छ । यस्तो बेला शिक्षकहरुबाटै व्यक्त असहिष्णु भाषाले अभिभावकका अघिल्तिर शिक्षककै विश्वास र सम्मान थप घट्नु बाहेक अरु केही हुन्न । 

यी सामग्री पनि पढ्नुहोस् : विद्यालय बन्दको धम्कि तत्काल रोक, ऐन निर्माण प्रकृयामा अवरोध हैन सदुपयोग गर

छलफलका बेला 'बटमलाईन'मा सहमत, विधेयक दर्ता भए पछि आन्दोलनको घोषणा !

प्रतिक्रिया