Edukhabar
शुक्रबार, २८ मंसिर २०८१
खबर/फिचर

विश्व शिक्षक दिवस : शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यवद्धता

विहीबार, १८ असोज २०८०

काठमाडौ - विभिन्न औपचारिक कार्यक्रमहरु गरी बिहबिार विश्व भर विश्व शिक्षक दिवस मनाईएको छ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९९४ देखि हरेक वर्ष अक्टोबर ५ तारिखका दिन यो दिवस मनाइँदै आएको छ । 

‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरु चाहिन्छ : शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यवद्धता’ भन्ने नाराका साथ दिवस मनाईएको छ । नेपालका सन्दर्भमा शिक्षक अभाव एउटा पेचिलो विषय हो । शिक्षा मन्त्रालयले गरेको एक अध्ययन अनुसार झण्डै ५७ हजार शिक्षक आवश्यक छ । समयमा शिक्षक आयोग नखुल्नु, राजनीतिक दलको संरक्षणमा मनपरी ढंगले शिक्षकको नियुक्ति गरिनु, निश्चित समयका लागि नियुक्त शिक्षकहरुलाई कुनै स्पष्ट व्यवस्था विनै निरन्तरता दिनु, न्यून वेतनमा शिक्षक नियुक्ति गर्नु जस्ता कारणले नेपालमा शिक्षक अभावको विषय सम्बोधन हुन सकिरहेको छैन । 

हजारौं शिक्षकको अभाव भएर पनि राज्यले थरी थरीका शिक्षकहरुलाई नियुक्ति गर्ने क्रम निरन्तर राखिरहेको छ । हालै सरकारले सदनमा पेश गरेको विद्यालय शिक्षा सम्बन्धि विधेयकले शिक्षकका कतिपय विषय समाधान गर्ने भए पनि राजनीतिक स्वार्थका कारण शिक्षकको विषय नेपालमा पेचिलो रहँदै आएको छ । संविधानले विद्यालय तह सम्मको अधिकार स्थानीय सरकार मातहत राखे पनि शिक्षकका दलगत संगठनहरुले त्यसको विरोध गर्दै आएका छन् । 

विभिन्न दल आवद्ध शिक्षकहरुका घटकहरु मिलेर बनेको नेपाल शिक्षक महासंघले विद्यालय बन्द गरेरै विधेयकको विरोध गरेको थियो । उक्त प्रर्दशन पछि नेपाल सरकारसँग गत असोज ५ गते गरेको सहमति अनुसार विधेयक पारित हुनु पर्ने उसको माग छ । उक्त सहमतीमा स्थानीय सरकार भन्दा माथिल्लो तहबाट नियुक्ति सरुवा बढुवा र कार्य सम्पादन मूल्याँकन हुनु पर्ने बुँदा समेटिएको छ । 

शिक्षकहरूको सेवा, सुविधा सम्बन्धमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन र संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्गठन युनेस्कोले अक्टोबर ५, १९६६ मा गरेको सिफारिस संयुक्त राष्ट्र संघले स्वीकार गरेको दिनको सम्झनामा यो दिवस मनाउन शुरू गरिएको हो । 

उक्त सिफारिसमा मानवअधिकार, बालअधिकार र शिक्षा प्राप्तिको आधिकारलाई सुनिश्चित गरिएको छ । शिक्षक तयारी, नियुक्ति, बढुवा, पेशागत अधिकार, सेवा, शर्त र सुविधा जिम्मेवारी र सहयोगका विषय सिफारिसमा समेटिएको छ ।

प्रतिक्रिया