Edukhabar
शनिबार, १२ साउन २०८१
खबर/फिचर

साढे ४ हजार शिक्षक दरबन्दीमा खुला प्रतिष्पर्धा हुने

प्राथमिक तहमा सबैभन्दा बढी ३ हजार १ सय ७९, निमाविमा ७ सय ४४ र माध्यमिक तहमा ४ सय २ विज्ञापन हुने निश्चित

विहीबार, ०७ मंसिर २०८०

काठमाडौ - आउँदो चैतसम्म देशभर कम्तीमा ४ हजार ३ सय २५ शिक्षकको दरबन्दी रिक्त हुने भए पछि खुला प्रतिष्पर्धाबाट योग्य शिक्षक छनौटको प्रक्रिया अघि बढाइने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार शिक्षा विकास तथा समन्वय इकाईले उपलब्ध गराएको विवरण अनुसार आउँदो चैतसम्म ४ हजार ५ सय भन्दा बढी दरबन्दीमा विज्ञापन हुने निश्चित भएको छ । 

केन्द्रका अनुसार काठमाडौं,  सप्तरी, महोत्तरी, कपिलबस्तु, हुम्लाको विवरण एकिन भएको छैन । काठमाडौैले प्राविको दरबन्दी शुन्य देखाएको छ । निमावि ५, मावि २ मात्रै दरबन्दी खाली देखाएको छ ।  

‘जिल्लाबाट प्राप्त विवरणको आधारमा विज्ञापनको लागि शिक्षक सेवा आयोगमा पठाउने तयारी गरेका छौ’ केन्द्रका महानिर्देशक दिपक शर्माले भने ‘हामीले प्राप्त गरेको विवरण थप परिक्षण गर्न जिल्लालाई आग्रह गरेका छौं । एक साता भित्र सबै विवरण प्राप्त भएपछि विज्ञापनको लागि आयोगमा पठाउँछौ ।’ 

जिल्लालाई परिपत्र गरेर एक सात भित्र सूचना सच्याउन केन्द्रले अनुरोध गरेको छ । विवरण पठाउँदा बाँकी जिल्लाले समेत यसै सूचनालाई आधार मानेर म्याद भित्र रिक्त विवरण समेत पठाउन भनिएको छ । 

केन्द्रका अनुसार जिल्लाबाट प्राप्त विवरण अनुसार दरबन्दी खाली भइसकेका र आउँदो चैतसम्म खाली हुनेमा प्राथमिक तहमा सबैभन्दा बढी ३ हजार १ सय ७९, निमाविमा ७ सय ४४ र माध्यमिक तहमा ४ सय २ हुने निश्चित छ ।

आउँदो सात दिन भित्र विवरण प्राप्त नभएका जिल्लाबाट पनि चैतसम्म रिक्त हुने दरबन्दीको विवरण थप हुने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अहिलेसम्मको अध्यावधि विवरण अनुसार वाग्मतीमा सबैभन्दा बढी १ हजार २ सय ४२ दरबन्दी खाली हुने देखिएको छ । कोशीमा ९ सय ९३, मधेशमा ३ सय ४९, गण्डकीमा ७ सय ७०, लुम्बिनीमा ५ सय ६४, कर्णालीमा १ सय ७६ र सुदुरपश्चिममा ३ सय ३१ दरबन्दी खाली हुने निश्चित भएको छ । केन्द्रका अनुसार माध्यमिक तहमा नेपालीमा ६३, अंग्रेजी ७०, गणित ८७, विज्ञान १०९, सामाजिक ४७ जनाको दरबन्दी खाली हुने निश्चित भएको छ । त्यस्तै निमावि तर्फ नेपालीको ११३, अंग्रेजी १६४, गणितको १७, विज्ञान १६९, सानमाजिक ११९ दरबन्दी खाली हुने  भएको छ । जिल्लागत रुपमा सबैभन्दा बढी अर्घाखाँचीमा दरबन्दी खाली हुने देखिएको छ । अर्घाखाँचीमा २ सय १५, मकवानपुरमा २ सय ३, काभ्रेपलाञ्चोकमा १ सय ६६ र  खोटाङमा १ सय ६४ दरबन्दी खाली हुँदैछ । 

प्रतिक्रिया