Edukhabar
सोमबार, ०७ जेठ २०८१
खबर/फिचर

माविको विज्ञापन पुस २५ भित्र खुल्दै

गत वर्षभन्दा कम सङ्ख्यामा विज्ञापन हुने

बुधबार, ०४ पुस २०८०

काठमाडौं-शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा रिक्त रहेको माध्यमिक तहको शिक्षकको विज्ञापन दुई साताभित्र खोल्ने तयारी गरेको छ । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उपलब्ध गराएको रिक्त दरबन्दीमा आयोगले विज्ञापन गर्न लागेको हो । 

आयोगले ४ सय ३५ जनाको विज्ञापनको तयारी गरेको छ । यसपालि सबैभन्दा बढी विज्ञान विषयको शिक्षकको विज्ञापन हुदैछ । आयोग स्रोतका अनुसार अब हुने विज्ञापनमा नेपालीको ७०, अङ्ग्रेजीको ७८, गणितको ८८, विज्ञानको १ सय २३ र सामाजिकको ४८ जनाको विज्ञापन हुन लागेको हो । अन्य ऐच्छिक विषयको २८ जनाको विज्ञापन हुने आयोग स्रोतले जनाएको छ । 

गत वर्ष पुस २५ मा माध्यमिक तहको विज्ञापन भएको थियो । ‘यस वर्ष पनि पुस २५ अघि नै विज्ञापन गर्ने तयारीमा छौ,’आयोगका प्रमुख प्रशासकीय प्रमुख कमलप्रसाद पोखरेलले भने । गत वर्ष ७ सय ५३ जनाको विज्ञापन भएको थियो । यस वर्ष झन्डै तीन सयले घटेको छ । 

विगतमा सामुदायिक विद्यालयका शिक्षकको अवकाश भए पनि बेलैमा विज्ञापन नहुँदा शिक्षक व्यवस्थापन समस्या थियो । पछिल्लो केही वर्षयता हरेक वर्ष विज्ञापन हुन थालेपछि रिक्त हुने बित्तिकै प्रतिस्पर्धाबाट छनौट भएका योग्य शिक्षकले पढाउने अवसर पाएका छन् । 

 

 

 

 

 

प्रतिक्रिया