Edukhabar
शनिबार, १५ बैशाख २०८१
विदेशमा शिक्षा फिनल्याण्ड

खुसी देशमा सुख दिने पढाई, पछिल्लो वर्ष ५ गुणाले वृद्धि

नेपाली विद्यार्थीले विदेश अध्ययन गर्न जाने मुलुक मध्ये फिनल्याण्ड सुरक्षित गन्तब्यको रुपमा लिएकै कारण तीन वर्ष अघि त्यहाँ जानेको तुलनामा पछिल्लो वर्ष ५ गुणाले बढेको छ ।

बुधबार, ०४ पुस २०८०

काठमाडौ - हरेक विद्यार्थीको एउटा सपना हुन्छ–राम्रो देशको रोजगारमुलक शिक्षा लिने र भविष्य सुनिश्चित गर्ने । जुन मुलुकको डिग्री लिँदा बेरोजगार भएर बस्न नपरोस् । 

छोराछोरीको सपना पुरा गर्न आमा बुबा हरदम लागेका हुन्छन् । आफुसंग पैसा नभए पनि ऋण खोजेर होस् वा जायजेथा बेच्न समेत पछि पर्दैनन् !

पछिल्लो समय स्वदेशमा भन्दा पनि विदेशमा काम गर्दै पढ्ने र भविष्य सुनिश्चित गर्ने योजना हरेक विद्यार्थीमा देखिन्छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङकलाई हेर्ने हो भने गतवर्ष मात्रै एक लाख १० हजारले विदेश अध्ययनको लागि आवश्यक अनुमति पत्र (एनओसी) लिएका छन् । पछिल्लो चार महिनामा मात्रै ३६ हजारले एनओसी लिएका छन् । यसले पनि के देखाउँछ भने युवाहरुले स्वदेशमा भन्दा विदेश अध्ययनमा भविष्य देखेका छन् । नेपाली विद्यार्थीको लोकप्रिय गन्तब्य अष्ट्रेलिया, अमेरिका मात्रै नभई पछिल्लो केही वर्षयता उत्तरी युरोपेली मुलुक फिनल्याण्ड थपिएको छ । स्वीडेन, नर्वे र रसियासँग सिमा जोडिएको फिनल्याण्डको बिशेषता हो–खुसी मुलुक । 

संयुक्त राष्ट्रसंघीय दिगो विकास समाधान नेटर्वक (यूएन एसडीएसएन) को ‘ह्याप्पिनेस’ रिपोर्टमा खुसी मुलुकको पहिलो नम्बरमा छ– फिनल्याण्ड । लगातार छैटौं पटक फिनल्याण्ड खुसी मुलुकको पहिलो सुचीमा छ । जुन सुचीमा नेपाल ७८ औं स्थानमा पर्छ । 

विदेशमा शिक्षा स्तम्भ अन्तरगत यस पटक हामी खुसी मुलुक फिनल्याण्डको शिक्षाको चर्चा गर्छाै : 

शिक्षा मन्त्रालयको पछिल्लो ३ वर्षको तथ्याङकले पनि नेपाली विद्यार्थीको आकर्षण फिनल्याण्ड बनेको देखिन्छ । ०७७ मा १ सय ६३ विद्यार्थी फिनल्याण्डमा उच्च शिक्षा अध्ययन गर्न गएका थिए । नेपाली विद्यार्थी विदेश अध्ययनमा जानेको सुची बढ्दै जाँदा ०७८ मा फिनल्याण्ड जाने विद्यार्थीको संख्या ०७७ को तुलनामा तीन गुनाले बढ्यो । मन्त्रालयका अनुसार ०७८ मा चार सय ६१ जनाले फिनल्याण्डको अध्ययन अनुमति पत्र लिएका छन् । त्यस्तै ०७९ मा फिनल्याण्ड जाने दोब्बरले बृद्धि भएर आठ सय ५४ जना पुग्यो । यस बर्षको पछिल्लो चार महिनामा शिक्षा मन्त्रालयबाट फिनल्याण्ड पढ्न अनुमति लिनेको संख्या एक सय ६८ जना पुगेको छ । 

फिनल्याण्ड रोजाईमा पर्नुको कारण 

शिक्षा मन्त्रालयको तथ्याङक विश्लेषण गर्दा नेपालबाट फिनल्याण्ड अध्ययन गर्न जाने विद्यार्थीको लहर बढेको देखिन्छ । छात्रवृत्ति, डिपेन्डेन्ट्सलाई सहजै भिसा अनुमति, शैक्षिक भिसामा आंशिक काम, पढाइ सकिए पछि ओर्किङ भिसा, चार वर्षमा पीआर लगायतले नेपाली  विद्यार्थीलाई आकर्षित गरेको बानेश्वर स्थित ग्लोबल अपरच्युनिटिजका सञ्चालक सुन्दर चालिसेले बताए । 

‘अन्तर्राष्ट्रिय विद्यार्थीको लागि फिनल्याण्डले केही विशेष अधिकार दिएको छ । जुन अन्य मुलुकमा बिरलै पाइन्छ’ फिनल्याण्डको अध्ययन सम्बन्धी परामर्श गरिरहेका उनी भन्छन, ‘त्यसैले पनि विद्यार्थीमा फिनल्याण्डको आकर्षण बढेको हुनसक्छ ।’

फिनल्याण्डको पहिलो बिशेषताको रुपमा नेपाल वा जुनसुकै मुलुकमा डिग्री हासिल गरेको वर्षको ‘एकाडेमिक ग्याप’ जति भए पनि कुनै फरक नपर्ने उनले बताए । जब की अन्य मुलुकमा प्लस टु, स्नातक वा स्नातकोत्तर गरे लगत्तै ‘एप्लाई’ गरेकालाई प्राथमिकता दिइन्छ । फिनल्याण्डमा भने पास गरेको र पढ्न चाहेको वर्षको ‘ग्याप’को अन्तर सम्बन्ध खोजीदैंन । फिनल्याण्ड विद्यार्थीको रोजाई पर्नुको अर्को विशेषता हो–छात्रवृति । जुन बर्ष भर्ना भएको हो त्यही बर्ष विद्यार्थीले १५ देखि ५० प्रतिशतसम्म शिक्षण शुल्कमा छुट पाउने व्यवस्था छ । त्यस पछिका अरु वर्षमा विद्यार्थीले प्राप्त गरेको नतिजाको आधारमा ५० प्रतिशतसम्म छात्रवृति पाउँछन् । यतिसम्म कि विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याएमा निःशुल्क पढ्न पाउँछन् । बस्नको लागि आवश्यक पर्ने खर्च समेत विश्वविद्यालयले नै उपलब्ध गराउदै आएको छ । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीले बस्नको लागि बढीमा ५ हजार युरो (६ लाख ७५ हजार रुपैयाँ) पाउन सक्छन् । 
फिनल्याण्ड पढ्न जानुको अर्को मज्जा भनेको श्रीमान श्रीमती र बच्चालाई सहजै संगै लैजान पाउनु हो । अध्ययन गर्न चाहनेले साथमै लैजाने डिपेन्डेन्ट्समा जसलाई लैजाने हो उसले फुल टाइम काम गर्न पाउँछन् । यति मात्रै होइन कि फिनल्याण्ड बसेको चार वर्षमा पढाई पुरा गरेमा, फिनिस भाषाको ज्ञान भएमा पीआर पाउन सहज छ । पछिल्लो नियम अनुसार पढेको अवधिलाई समेत पीआरको लागि गणना हुने व्यवस्था छ । 

फिनल्याण्डमा पढाई पुरा गरेपछि अझ बढी फाइदै फाइदा छ । पढाई सक्ने बित्तिकै दुई वर्षको काम खोज्ने भिसा पाउँछन् । यो अवधिमा ‘फुल टाइम’ काम गर्न पनि पाउँछन् । जसले ‘फुल टाइम’ काम पाउँछन् उसलाई फिनल्याण्ड सरकारले ‘वर्क पर्मिट’ दिने गरेको छ । पढ्दा पढदै पनि सातामा ३० घण्टा काम गर्न पाउँछन् । यो अवधि अन्य मुलुकको तुलनामा बढी हो । 

फिनल्याण्डले अन्तर्राष्ट्रिय विद्यार्थीलाई काम लगाउँदा घण्टाको कति ज्याला दिने भन्ने तय समेत गरेको छ । त्यसैले पनि विद्यार्थीलाई कम पैसामा काम लगाउने सम्भावना न्यून हुन्छ । फिनिस सरकारका अनुसार विद्यार्थीलाई काम लगाए वापत न्यूनतम १० यूरो प्रति घण्टा ज्याला दिनु पर्ने हुन्छ । यस अनुसार मासिक एक हजार दुई सय युरोसम्म कमाउँदा विद्यार्थीले बस्न र पढाई खर्च धान्न गाह्रो नहुन सक्छ । 

भर्ना प्रक्रिया 

फिनल्याण्डमा १३ वटा जनरल विश्वविद्यालय र २२ एप्लाइड साइन्स विश्वविद्यालय छन् । जनरल विश्वविद्यालयले अनुसन्धानमा आधारित पाठ्यक्रम र अध्ययन ढाँचा सिकाउँछ । एप्लाइड साइन्स विश्वविद्यालयले सीप मुलक जनशक्ति  उत्पादन गर्छ । फिनल्याण्डको विश्वविद्यालयमा अध्ययन गर्न जनवरी र अगष्ट इन्टेकमा विद्यार्थी भर्ना दिने व्यवस्था छ । अगष्टलाई प्रमुख इन्टेकको रुपमा लिइन्छ । अगष्ट इन्टेकको लागि भर्ना हुने हो भने जनवरी १७ सम्म भर्ना प्रक्रिया अघि बढाउनु पर्ने हुन्छ । जनवरी इन्टेकको लागि अगष्टमा प्रक्रिया अघि बढाउनु पर्ने हुन्छ । 

२०२४ अगष्ट इन्टेकको लागि जनवरी १७ सम्म आफुले पढ्न चाहेको विषय र विश्वविद्यालय छनौट गरेर ‘एप्लाई’ गरिसक्नु पर्ने हुन्छ । 

विद्यार्थीले यो पोर्टल  www.studyinfo.fi  बाट एप्लाई गर्न सक्छन् । 

विद्यार्थीले नेपाल पढ्दा पाएको ग्रेड, अंग्रेजी भाषाको स्कोरको आधारमा सिधै छनौट हुन पनि सक्छन् । जसले नेपालमा पढ्दा पाएको जीपीए कम छ भने उसले ज्वाइन्ड एप्लिकेसन प्रक्रियाबाट एप्लाई गर्नु पर्ने हुन्छ । ज्वाइन्ड एप्लिकेसन दिने विद्यार्थीले लिखित र मौखिक दुबै परीक्षा दिनु पर्ने हुन्छ । 

खासगरी फिनल्याण्डमा स्नातक तहको लागि IELTS मा ६ ब्याण्ड र PTE मा ५५ ल्याए पुग्छ । स्नातकोत्तरको कार्यक्रम अध्ययन गर्न IELTS मा ६.५ ब्याण्ड र PTE मा ६२ ल्याउनु पर्ने हुन्छ । 

फिनल्याण्डमा व्यवस्थापन, नर्सिङ, आईटी, इञ्जिनियरिङ, मानविकी लगायतका विषय अध्ययन गर्न जाने गरेका छन् । एप्लाईड साइन्सको मास्टर्स कार्यक्रम अध्ययन गर्न दुई वर्ष काम गरेको अनुभव हुनु पर्ने फरक प्रावधान छ । विश्वविद्यालयले विद्यार्थी छनौट गरिसके पछि मात्रै भिसा प्रक्रिया अघि बढ्छ । 

खर्च कति लाग्छ ?

विश्वविद्यालयको नियम अनुसार छ महिना देखि एक वर्षसम्मको शिक्षण शुल्क अग्रिम तिर्नु पर्ने हुन्छ । यसको लागि न्यूनतम ८ हजार युरो (११ लाख ६० हजार) बढीमा १० हजार युरो अथार्त १४ लाख ५० हजार रुपैयाँ ट्युशन फि तिर्नु पर्ने हुन्छ ।  त्यस्तै एक वर्षको छ हजार ७ सय २० युरो अर्थात् नौ लाख ७५ हजार रुपैयाँ बस्ने खर्च समेत जोहो गर्नु पर्ने हुन्छ । फिनल्याण्ड जान चाहने विद्यार्थीको अभिभावकको बार्षिक १८ देखि २० लाख रुपैयाँको आम्दानी देखाउनु पर्ने हुन्छ । सबै प्रक्रिया पुरा गरेपछि विद्यार्थीले यो पोर्टल https://enterfinland.fi  मार्फत आवेदन दिन सक्छन् । 

इन्टर फिनल्याण्ड पोर्टल मार्फत भिसा आवेदन दिएपछि बायोमेट्रिक र भिसा अन्तर्वार्ताको लागि नेपाल स्थित फिनल्याण्ड दूतावास https://finlandabroad.fi/web/npl/mission वा VFS Global मा सम्पर्क गर्नु पर्ने हुन्छ । 

यदि तपाई फिनल्याण्ड जाने योजनामा हुनुहुन्छ भने आवेदन खुला भएको छ । अगष्ट २०२४ इन्टेक को लागि यही जनवरी १७ सम्म आवेदन दिनु पर्ने हुन्छ । थप जानकारीको लागि बानेश्वर स्थित संसद भवन अगाडि रहेको ग्लोबल अपरच्युनिटिज नेपाल कन्सल्टेन्सीमा सम्पर्क गर्न सक्नुहुनेछ । 

यहाँ क्लिक गरेर दिइएको फारम भरे पछि कन्सल्टेन्सीले तपाईको जिज्ञासा पुरा गरिदिने छ ।  

प्रतिक्रिया