Edukhabar
शुक्रबार, ०१ असार २०८१
विदेशमा शिक्षा

‘ब्रेन ड्रेन’ समस्या की बाध्यता ?

साहित्यकार भीमनिधी तिवारीको ‘टीका’ नामक कथामा दशैँको टीकाको दिनसम्म पनि परदेशिएको सन्तान घर फिर्ति नहुँदा बुढी आमैको एक सम्वाद छ, : ‘दश लोटा पानी अटाएको गाग्रोमा एक लोटा कसो नअटाउला ?’

सोमबार, ०९ पुस २०८०

‘ब्रेन ड्रेन’ देशमा राजनीतिक अस्थिरता, अनियमितता, असमानता, अपमान र अवसर अभावले निम्ताएको अवस्था हो । खासगरी विद्यार्थीका लागि विकसित देशमा अध्ययन पश्चात अनुकूल अवसरको परिणाम हो, ब्रेन ड्रेन । 

अहिले शिक्षित व्यक्ति स्वदेशमा बस्नुको सट्टा छोड्न चाहन्छन् । टिनएजर (वयस्क) पुस्ता त कक्षा १२ पास हुनासाथ देश छाड्न चाहन्छ । ‘ब्रेन ड्रेन’ भनेको घरमै उन्नत तालिम प्राप्त गरेका व्यक्तिहरूको आप्रवासन वा अध्यागमन हो । प्राप्त गर्ने देशको लागि मानव पुँजी उडानको शुद्ध लाभलाई ‘ब्रेन गेन’ भनिन्छ भने पठाउने देशको शुद्ध लागतलाई ‘ब्रेन ड्रेन’ भनिन्छ ।  

स्वदेशमा बस्नुको सट्टा छोड्न चाहनेका बारेमा अनुसन्धान त भएको छैन । तर अधिकांश शिक्षित युवा र विद्यार्थी देश छाड्न चाहन्छन् । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले देशको राजनीतिले देशमा बसौं बसौं भन्ने स्थिति नभएको सार्वजनिक रूपमै बताए । उनले, ‘निकास, प्रोत्साहन, हौसला छैन । देशमा बसौं बसौं जस्तो छैन, देश छोडौं छोडौं भएको छ’ भने । 

उच्च तहमा विद्यार्थी अभाव, दक्ष कामदारको अभाव, उत्पादनमा कमी, कर राजस्वमा नकारात्मकता, सम्भावित भविष्यका उद्यमी अभाव र पलायनले समग्र अर्थतन्त्रमा नकारात्मक असर परिरहेको उनको भनाई छ । त्यसो त श्रेष्ठका सन्तान अमेरिकाको उच्च शिक्षा पश्चात स्वदेश फर्किएर काका डा. पुकार श्रेष्ठसँगको सहलगानीमा ललितपुरको पुल्चोकमा हस्पिटल सञ्चालन गरिरहेका छन् ।

‘ब्रेन ड्रेन’ कत्तिको व्यापक छ र नेपाली युवा कुन कुन देशमा गैरहेका छन् भन्ने विषय अर्काृ महत्वपर्ण पाटो हो । अधिकाँश नेपाली विद्यार्थी अष्ट्रेलिया, क्यानडा, संयुक्त राज्य अमेरिका र युरोपेली मुलुकमा पलायन भैरहका छन् । विगत एक दशकमा ७५ वटा भन्दा बढी देशमा जान १३ लाख ६७ हजार ७ सय २२ जना नेपाली विद्यार्थीले अनुमति लिएको शिक्षा मन्त्रालय अन्र्तगतको वैदेशिक अध्ययन अनुमति शाखाबाट नो अब्जेक्सन लेटर (एनओसी) लिएको तथ्यांक छ । 

शाखाका अनुसार पछिल्ला वर्षमा एक लाख १५ हजार भन्दा बढी विद्यार्थीले विदेश अध्ययनका लागि अनुमति पत्र लिने गरेका छन् । दुई वर्षयता दैनिक सात सय भन्दा बढीले एनओसी लिने गरेको शाखाले जनाएको छ । एनओसी लिएका मध्ये करिब ८० प्रतिशत विद्यार्थी अध्ययनका लागि विदेशी विश्वविद्यालयमा भर्ना भएको मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

गत आर्थिक वर्षमा १ लाख १० हजार २ सय १७ जना विद्यार्थीले एनओसी लिएका थिए । उक्त अध्ययनका नाममा गत आर्थिक वर्षमा मात्र १ खर्ब ५० करोड रुपैयाँभन्दा धेरै बिदेसिएको थियो । 

शैक्षिक परामर्शदातृ ब्यवसायीका अनुसार भारतमा मात्र उच्च शिक्षाका लागि बार्षिक करिब २५ हजार बिद्यार्थी जाने गरेका छन् । खुला सिमाका कारण सजिलै भारत जान सक्ने र भारतीय कलेजले भारतीय विद्यार्थी सरह नैं नेपाली विद्यार्थीलाई भर्ना लिदै आएकाले नो–अब्जेक्शन लेटरको आवश्यकता छैन । तर केही कलेजले पछिल्ला वर्षमा अनिवार्य गरेका छन् । त्यहाँ जाने रकमको हिसाव किताव नै भेटिदैन । 

नेपालको शिक्षा नीति अव्यावहारिक, समय सापेक्ष नहुनुका कारण विद्यार्थी उच्च शिक्षा र अवसरका लागि विदेश तर्फ उत्प्रेरित छन् । विद्यार्थी मात्र होइन, ठूलो जनशक्ति र पैसा समेत उनीहरूसँग बिदेशिरहेको छ । भलै बन्दकी, लगानी र्फिता गरे पनि उनीहरू अध्ययन पश्चात विदेश मै सेटल हुने गरेका छन् । भविष्यमा त्यसको नकारात्मक असर देखिने नै छ । उनीहरूलाई कसरी फर्काउने भन्ने बारेमा सरकार वा राज्यसँग स्पष्ट दृष्टिकोण छैन ।

राजनीतिक नेतृत्व ‘ब्रेन ड्रेन’ समस्याका बारेमा अवगत रहेपनि समाधानका लागि पहल गर्नबाट चुकिरहेको छ । मुख्य रावनीतिक दलहरूले चुनावी घोषणापत्रमा शिक्षााका सवालहरूलाई केही मात्रमा सम्बोधन गर्दै आएका भए पनि पलायनको समस्याका बारेमा वेखबर जस्तै देखिन्छन् । बहुदल आए पछिका अधिकांश नेतृत्वका सन्तान प्रायः विदेश मै पलायन भएका छन् । त्यसैले पनि उनीहरू यस्ता सवालमा अवाक छन् । पिता वा माता राजनीतिमा सक्रिय रहँदा उनीहरूका सन्तान स्वदेशी राज्य प्रणाली प्रति ढुक्क छैनन् । त्यसैले पनि विदेशिन प्रेरित छन् दुरदराज वस्तीका नेपालीका सन्तान । 

देशमा अध्ययन पछिको अवसर, स्वास्थ्य उपचार ग्यारेण्टी, वित्तीय अनुदान र अनुशासन वा निजामती सेवा सुधार जस्ता नीति र कार्यक्रमले समस्याको केही हदसम्म समाधान गर्न सक्ने भए पनि सरकार त्यसतर्फ बेखवर जस्तै छ । 
चरम राजनीतिकरण, नातावाद, कृपावाद, घुसखेरी र भ्रष्ट्राचारले देश आक्रान्त छ । नयाँ पुस्तामा आशा भन्दा पनि चरम निराशा व्याप्त छ । दक्ष जनशक्ति त्यसको शिकार भैरहेका छन् । यद्यपि, देशमा उच्च शिक्षित जनशक्ति दुर्लभ भैरहेका छन् भन्ने कुरामा दुइमत छैन । 

नेपालबाट वैज्ञानिक, इञ्जिनियर, चिकित्सक, अडिटर, प्रहरी, सेना, पत्रकार र कर्मचारी समेत पलायन भैरहेका छन् । ‘ब्रेन ड्रेन’ विकासोन्मुख देशमा शिक्षामा गरिएको लगानीले ठूलो संख्यामा उच्च शिक्षित व्यक्तिहरूले देश छोडेमा देशमा  विकास र आर्थिक वृद्धि हुन सक्दैन । अर्थशास्त्रको एउटा पुरानो प्रश्न छ ? किन केही देश धनी छन् भने तेस्रो विश्वका देशहरू गरिब छन् । ती देशबाट ‘ब्रेन ड्रेन’ कति व्यापक छ ?  त्यसको एउटा उदाहरण हो नेपाल ।
नेपालबाट अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायतका देशमा धेरै ‘ब्रेन ड्रेन’ भइरहेको छ । जीवनको गुणस्तरमा भिन्नता, बालबालिकाका लागि शैक्षिक अवसरहरू र  जागिरको सुरक्षाले पनि भूमिका खेलेको हुन सक्छ । यसलाई रोक्नको लागि देशमा ठोस  नीतिको आवश्यकता छ । नीतिसँगै कार्यन्वयनको प्रतिवद्धता आवश्यक छ ।

विद्यार्थी भिषामा हालैमात्र अष्ट्रेलियमा पुगेका कपिलवस्तुका ईञ्जिनीयर राजेन्द्र भण्डारीले अध्ययनशील विद्यार्थीका लागि भिषा लगाउन गाह्रो नरहेको बताए । उनले भने ‘सामान्य प्रक्रिया भने पुरा गरे कै हुनपर्छ ।’ भण्डारी काठमाण्डू विश्वविद्यालयबाट स्नातक (इञ्जिनियर) हुन् । अध्ययन पश्चात करिब २ वर्ष लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा इलेक्ट्रोनिक इञ्जिनियर भएर काम गरेता पनि स्वदेशको अवसरमा रम्न नसके पछि उनी गाउँमा रहेको जग्गा बैंकमा धितो राखेर हालै मात्र अष्ट्रेलिया उडे । 

उनी नेपाली समाजका प्रतिनिधी विद्यार्थी पात्र हुन् । उनी जस्ता विद्यार्थी किन स्वदेशको अवसरमा रमाउन सकेनन् ? राज्यका लागि चासो हुनुपर्ने हो । तर कसैले चासो प्रकट गर्न सकेको छैन । उनी पनि अन्य सहपाठी जस्तै अध्ययन पश्चात विदेशको नागिरक बनेर उतै रमाउने छन् । 

कुनै बेला बेलायत र अमेरिका पहिलो गन्तव्य बनाएका नेपालीको गन्तव्य  अवसर अनुसार फेरिदै गएको छ । बार्षिक ३० देखि ३५ हजार विद्यार्थी अष्ट्रेलियमा पुग्ने गरेका छन् । नेपाली शिक्षाको गुणस्तरीयता कमजोर भैरहेकाले पनि विद्यार्थी कक्षा १२ पछि उच्च शिक्षा अध्ययन गर्न विदेश जाने गरेको पाईन्छ । 

पछिल्लो दशकमा मध्यम र उच्च वर्गीय परिवारका विद्यार्थी विदेशको शैक्षिक अध्ययन अवसरमा जान उत्साहित हुने गरेका छन् । एक दशक अघिसम्म सम्पन्न परिवारका विद्यार्थी विदेशको उच्च शिक्षा लिन वेलायत, क्यानाडा र अमेरिका  लगायत देशहरु जाने गरेकोमा पछिल्लो समय विद्यार्थीको गन्तव्य फेरिएको छ । अहिले नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया पहिलो रोजाई बन्ने गरेको छ । 

नेपाली विद्यार्थी उच्च शिक्षासंगै आर्थिक आय आर्जनका लागि पनि विदेश जाने गरेका छन् । नेपालमा वेरोजगारी समस्या धेरै रहेकाले विदेशमा विद्यार्थी भिसामा गए पनि अध्ययनसंगै आर्थिक उपार्जन गर्ने अवसर हुन्छ । नेपाली विद्यार्थीका लागि त्यो बाध्यता पनि भएको अष्ट्रेलिया कैं पर्थबाट एमबिए अध्ययन पुरा गरेका सञ्जिव कार्कीले बताए । उनी बालबच्चा सहित उतैका स्थायी नागरिक भएर बसेका छन् । उनले भने ‘नेपालमा बसेको भए अहिले पनि म बेरोजगार नैं हुन्थे ।’ 

साहित्यकार भीमनिधी तिवारीको ‘टीका’ नामक कथामा दशैँको टीकाको दिनसम्म पनि परदेशिएको सन्तान घर फिर्ति नहुँदा बुढी आमैको एक सम्वाद छ, ‘दश लोटा पानी अटाएको गाग्रोमा एक लोटा कसो नअटाउला ?’ 
सन्तान तिमी अब स्वदेश मै बस्नु पर्छ, देश बनाउनु पर्छ भन्ने सन्देश छ । तर अहिले अवस्था यसरी फेरिएको छ, कुनै कथाकारले नलेखे पनि अभिभावकले नै सन्तानलाई स्वदेशमा अवसरै छैन, बैंकमा घर जग्गा बन्दकी राखेर भए पनि विदेश मै जाउ हैं, भनिहेका छन् । त्यसैले ‘ब्रेन ड्रेन’ बाध्यता भैसक्यो नेपाली समाजका लागि ।  

फोटो : भक्तपुर, सानोठिमी स्थित वैदेशिक अध्ययन अनुमति शाखामा एनओसी लिने लाममा उभिएका विद्यार्थीको भिडभाड 

प्रतिक्रिया