Edukhabar
विहीबार, २७ बैशाख २०८१
खबर/फिचर

शिक्षकलाई हामीले बिगारेका हौँ, त्यसको जिम्मेवारी म लिन्छु : शिक्षा मन्त्री

आन्दोलन गरियो, गराइयो त्यो यथार्थ हो । अहिले सबै कुरा शिक्षकको टाउकोमा हालेर भाग्न मिल्दैन ।

विहीबार, २५ माघ २०८०

भक्तपुर - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले शिक्षक सेवा आयोगलाई स्वायत्त बनाउन छुट्टै कानुन बनाउन आफु तयार गरेको बताएका छन् । आयोगको पहिचान शिक्षा ऐनमा समावेश हुँदा स्वायत्त हुन नसकेको गुनासो आएपछि राईले विधेयकको मस्यौदा तयार गर्न आयोगलाई आग्रह गरेका छन् । 

‘स्वायत्तता सुनिचित गर्ने गरी कानुन बनाउन मन्त्रालयले दाहिने बाहिने गर्ने छैन । विधेयकको मस्यौदा बनाउने काम आयोगले गरोस,’ आयोगको २५ औँ बार्षिक उत्सव कार्यक्रममा उनले भने । भाषा आयोगका पूर्व अध्यक्ष डा. लवदेव अवस्थीले आयोगलाई स्वायत्त बनाउने हो भने छुटटै कानुन आवश्यक रहेको औँल्याए पछि मन्त्री राईले यसमा आफ्नो समर्थन रहेको बताए । 

‘यस्तो काम गर्न पाउनु अहोभाग्य हो । तर, काम सुरुवात यहीँबाट हुनु पर्ने होला । मन्त्रालयबाट गर्नु पर्ने केही छ भने हामी एकदमै तत्परताका साथ त्यसलाई अघि बढाउछौँ,’मन्त्री राईले भने । 

आयोगको आर्थिक र भौतिक समस्या समाधान गर्न मन्त्रालय तयार रहेको उनले बताए । 

‘यहाँ सरकार र मन्त्रालयको जति ध्यान पुग्न सकेन भन्ने कुरा उठेको छ । ध्यान नपुगेको होला तर, ध्यान पुगेर मात्रै हुदँैन । सिमित साधन स्रोतले पनि काम गर्यो कि जस्तो लाग्छ,’ उनले भने, ‘आफु मन्त्री भएपछि आयोगको एउटै पनि गुनासो सुन्न परेको छैन । राम्रो ढंगले काम गरेकै कारण गुनासो आएन होला भन्ने अनुमान गर्न सकिन्छ ।’ 

मुलुककै आर्थिक अवस्था सबैलाई थाहा भएकै कारण शिक्षकसंग गरेको सम्झौता कार्यान्वयन हुन नसकेको मन्त्री राईले स्वीकार गरेका छन् । 

‘हामीले शिक्षकसंग सम्झौता गरेका हुन्छाँै तर, कार्यान्वयन किन हुदैँन भने त्यसलाई कार्यान्वयन गर्न त गाँठ चाहियो,’ उनले भने,‘अनि शिक्षा मन्त्रालयले गाली खाइरहेका हुन्छौँ ।’ 

आफु शिक्षकको प्रशंसक भएको उनले बताए । शिक्षकहरुलाई राजनीतिक दलले बिगारेको उनले स्वीकार गरे । 

‘शिक्षक साथीहरुलाई बिगारेको हामीले हो म त्यसको .जिम्मेवारी लिन्छु,’उनले भने,‘आन्दोलन गरियो, गराइयो त्यो यथार्थ हो । अहिले सबै कुरा शिक्षकको टाउकोमा हालेर भाग्न मिल्दैन । परिस्थिति बदलिएको छ । अब आन्दोलन होइन, निर्माणमा लाग्नुपर्छ ।’

शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले शिक्षक सेवा आयोगलाई लोकसेवा आयोगको जस्तै बनाएर सामुदायिक विद्यालय सुधारको जिम्मा आयोगलाई दिनु पर्ने बताइन् । आयोगले शिक्षक लाइसेन्स दिए बाल मनोविज्ञानको ज्ञान नभएको उनले बताइन् । 

‘लाइसेन्स छ तर, पढाउन जान्दैनन् । बालबालिकाको मनोविज्ञानको ज्ञान हुनुपर्छ जबसम्म शिक्षकले विद्यार्थी बुझ्न सक्दैन तब सम्म शिक्षाको विकास हुँदैन,’उनले भनिन् ‘म पनि माध्यमिक शिक्षक थिएँ । २५ वर्ष पढाएँ । त्यो बेला तालिम थियो । अहिले कतौटी भएको छ । तालिम बढाउनु पर्ने हुन्छ ।’

आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले आयोगले गर्ने काममा शंका नगर्न आग्रह गरे । आयोगले योग्य शिक्षक छनौट गर्ने मानक बनाएर काम गरेको उनले बताए ।  

‘आयोगले २४ क्यारेटको शिक्षक छनौट गर्ने नीति अबलम्बन गरेका छौ । २४ क्यारेटलाई कसी लगाउनु पर्दैन । शुद्धताको प्रश्न हुदैन । निष्पक्षता, विश्वासनीयतामा शंका गर्नु पर्दैन,’ उनले भने । आयोगलाई भौतिक, जनशक्ति र आर्थिक समस्या रहेको उनले बताए ।

प्रतिक्रिया