Edukhabar
बुधबार, २६ बैशाख २०८१
खबर/फिचर

समितिमा प्रधानमन्त्रीको खोजी

‘मन्त्रीलाई खोज्यो उहाँ हुनुहुन्न रहेछ । प्रधानमन्त्रीलाई समय माग्यो तर, समय उपलब्ध भएन’

सोमबार, २९ माघ २०८०

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको उपकुलपछि छनोटमा योग्य भन्दा पनि विवादित व्यक्तिलाई सर्टलिष्टमा राखेको भन्दै सांसदहरुले उपकुलपति एवं प्रधानमन्त्रीलाई समितिमा बोलाउनु पर्ने माग गरेका छन् । सर्टलिष्टमा बौद्धिक चोरी गरेको व्यक्ति परेको, विश्वविद्यालयमा कार्यवहाकले कर्मचारी सरुवा र बढुवा गरेको भन्दै एमाले सांसद विद्या भट्टराई र रास्वपा सांसद सुमना श्रेष्ठले कुलपतिलाई बोलाउनु पर्ने माग गरेका हुन् । बैठकमा शिक्षा मन्त्रीलाई बोलाउने निर्णय भए पनि राज्यमन्त्री मात्रै उपस्थित भएपछि कुलपतिको खोजी भएको हो । 

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा विवादित व्यक्तिलाई समेत सर्टलिष्टमा पारे पछि संसदीय समितिले उपकुलपति छनोट समितिका संयोजक शिक्षा मन्त्रीलाई बोलाउने निर्णय गरेको थियो । समितिको आर्इतबार बसेको बैठकमा सांसदहरुले उपकुलपतिमा गलत व्यक्तिलाई नियुक्ति गर्न लागेको भन्दै बिरोध भए पछि सभापति भानुभक्त जोशीले छनोट प्रक्रियाको जानकारी लिन मन्त्रीलाई सोमबार विहान ११ बजे बोलाउने निर्णय गरेका थिए । तर बैठकमा मन्त्री उपस्थित भएनन् । 

‘हाम्रो प्रश्नको जवाफ दिने कसले हो ? मन्त्री पनि नहुने, राज्यमन्त्रीज्यू पनि बैठकमा बस्नु भएन । अब प्रधानमन्त्रीलाई बोलाउनु पर्छ,’रास्वपा सांसद श्रेष्ठले भनिन् । 

बैठकमा सर्टलिष्ट भएको व्यक्ति विवादित भएको, जरिवाना भोगेका, आचरण राम्रो नभएको व्यक्ति छनौट भएको र विश्वविद्यालयका कार्यवहाक उपकुलपतिले कर्मचारी सरुवा गरेकाले कुलपतिलाई बैठकमा बोलाएर छलफल गर्नु पर्ने एमाले सांसद भट्टराईको माग छ । 

बैठकमा समिति सभापति भानुभक्त जोशीले त्रिवि, पूर्वाञ्चल, मध्यपश्चिम र सुदुरपश्चिम विश्वविद्यालयको छनौट आधार फरक फरक भएको बताएपछि शिक्षा सचिव सुरेश अधिकारीले त्रिवि र पूर्वाञ्चलको प्रक्रियामा आएको सुझावको आधारमा अरु दुई विश्वविद्यालयमा केही परिवर्तन गरेको बताएका थिए ।

‘दुई विश्वविद्यालयको उपकुलपतिको मापदण्डबाट लेसन लर्न गरेर मध्पश्चिम र सुदुरपश्चिममा सुधारका गरेको भन्ने जानकारी भयो । अनि बौद्धिक चोरी भएको व्यक्तिलाई पनि सर्टलिष्ट राख्नु हुदैन भन्ने लेसन लर्न चाहि किन भएन ? उनी सक्षम व्यक्ति होइनन भन्ने लेशन लर्न किन भएन ?,’एमाले सांसद भट्टराईल भनिन । 

कार्यवहाक उपकुलपतिले सरुवा र बढुवा गरेपनि विद्याभुषण पद दिन नचाहेको उनले बताइन । ‘मेरिटोक्रेसीको परिभाषाा यही हो ?’ उनले प्रश्न गरिन् । 

प्रधानमन्त्रीको समय उपलब्ध नभएको समिति सभापति भानुक्त जोशीले बताए । ‘मन्त्रीलाई खोज्यो उहाँ हुनुहुन्न रहेछ । प्रधानमन्त्रीलाई समय माग्यो तर, समय उपलब्ध भएन,’उनले भने । 

प्रतिक्रिया