Edukhabar
सोमबार, ०७ जेठ २०८१
खबर/फिचर

उपकुलपतिका प्रतिष्पर्धी र छनोट समिति सदस्य सँगसँगै !

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग भवन उद्घाटनको प्रमुख अतिथि थिए–उपकुलपतिका प्रतिष्पर्धी भुसाल । भुसालको भाषण सुन्ने स्रोता थिइन्–छनौट समितिकी सदस्य घिमिरे ।

बुधबार, ०२ फागुन २०८०
पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन उद्घाटनपछि सामुहिक फोटो खिचाउँदै बायाँबाट त्रिविको उपकुलपति छनोट समितिका सदस्य चन्द्रकला घिमिरे, उपकुलपतिका प्रतिष्पर्धी शिवलाल भुसाल र कुसुम शाक्य ।

काठमाडौं – त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको छनौटको प्रकृया जारी छ । सर्टलिष्टमा परेका १४ मध्ये बुधबार कार्यवाहक उपकुलपति शिवलाल भुसाल सहित ५ जनाको प्रस्तुती गर्ने कार्यक्रम थियो । 

प्रस्तुतीको मुल्याङकन छनोट समितिका संयोजक शिक्षा मन्त्री अशोक कुमार राई उपत्यका बाहिर भएकोले उम्मेद्वारको प्रस्तुतीमा समितिका सदस्य शिक्षा सचिव सुरेश अधिकारी र त्रिवि बुद्धिज्म विभागकी प्रमुख उपप्राध्यपाक चन्द्रकला घिमिरे सहित दुई जना विज्ञ बस्ने गरेका छन् । 

छनोट समितिमा भएकी घिमिरे र प्रस्तुती दिइसकेकी मानविकीकी डिन कुशुम शाक्य र उपकुलपतिका अर्का प्रतिष्पर्धी भुसाल भने दिउँसो एकै कार्यक्रममा सँग सँगै देखिए । जब की भुसालको प्रस्तुती बुधबारै दिउँसो  तीन बजेका लागि यस अघि नै तय भईसकेको थियो । विश्वविद्यालयको चार वर्षीय योजना प्रस्तुत गर्नु अघि प्रस्तुतीको मूल्याँकन गर्ने र प्रस्तुती दिने सँगसँगै देखिएका हुन् ।  

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन उद्घाटनको प्रमुख अतिथि थिए–भुसाल । भुसालको भाषण सुन्ने स्रोता थिइन्–छनौट समितिकी सदस्य घिमिरे । भुसालले सम्बोधन गर्ने केही बेरमा घिमिरे कार्यक्रम स्थलमा पुगिन् । कार्यक्रम स्थलको दोस्रो लहरमा बसिन् । टाढैबाट घिमिरेले भुसाललाई नमस्कार गरिन् । मञ्चमा भुसाल र उपकुलपतिको अर्की प्रतिष्पर्धी शाक्य पनि थिइन् । भवन उद्घाटन सत्र सकिए पछि सामुहिक फोटो सेसन चल्यो । उपकुलपतिको दुई प्रतिष्पर्धी सँगै घिमिरेले फोटो खिचाइन् । यो बेलासम्म घिमिरे र दुबै प्रतिष्पर्धी बीच कुराकानी भएको थिएन । कार्यक्रममा उपस्थितहरुले भुसाललाई सफल प्रस्तुतीको लागि शुभकामना भने दिइरहेका थिए । फोटो सेसन पछि भवन अवलोकन गर्ने कार्यक्रम सुरु भयो । अघि अघि उपकुलपति भुसाल, पछिपछि डीन शाक्य, निमित्त रजिष्ट्रार कृष्ण बस्याल र छनोट समिति सदस्य घिमिरे थिए । 

tu_vc1

भवनकोे तलै पिच्छे विभागका प्रमुख चिरञ्जिवी खनालले जानकारी गराइरहे । हरेक कोठामा पहिला उपकुलपति भुसाल छिर्थे भने पछिपछि घिमिरे । कोठाबाट बाहिर निस्कने बेलामा घिमिरे अघि हुन्थिन् । 

nnn

माथिल्लो तला चढ्दै गर्दा मानविकी संकायकी डिन तथा उपकुलपतिका प्रतिष्पर्धी शाक्यले घिमिरेलाई सोधिन् – ‘सबै जना आए ?’ घिमिरेले अहिलेसम्मको प्रस्तुतमा सबै आएको जानकारी दिइन् । उनीहरु बिच आपसमा केहीबेर कुराकानी भयो । 

घिमिरे छनोट समितिको सदस्य भएको थाहा हुनेले अब भिसी को बन्छ ? भन्दै सोधिरहेका थिए । घिमिरेको जवाफ सबैलाई एउटै हुन्थ्यो,‘छनोट चलिरहेको छ । अहिले कसले कति नम्बर पाएका छन् हामीलाई पनि थाहा हुँदैन ।’ 
छनोट समितिमा बसेका व्यक्तिले यसरी प्रतिष्पर्धीसंग भेट्न हुन्छ हुँदैन ? छनोटको गोप्य कुरा बाहिर भन्न हुन्छ हँुदैन भन्ने हेक्का समेत घिमिरेले राखिनन् । जसले सोधे पनि उनी प्रतिष्पर्धीहरुकै अगाडि सहजै उत्तर दिइरहेकी थिइन् । 
भवनको छतमा पुगेपछि चिया र खाजाको प्याकेट आयो । पहिलो पोका उपकुलपति भुसासलाई दिईयो । उनी खाइरहेको छेउमा छनोट समितिकी सदस्य घिमिरे पनि पुगिन् । भुसालले पोकामा रहेको केरा खान आग्रह गरे । घिमिरेले त्यही पोकाबाट केरा झिकेर खाइन् । 

tu_vc2

उपकुलपतिको प्रतिष्पर्धी र छनोट समिति सदस्यको यस्तो हिमचिम देखेर कार्यक्रम स्थलमा छनोटमै शंका गर्नेहरु पनि थिए । 

‘उपकुलपति प्रमुख अतिथि र अर्का प्रतिष्पर्धी डीन शाक्य पनि आउने कार्यक्रममा छनोट समितिका सदस्य आउनु हुँदैनथ्यो । छनोट नसकेसम्म शंका हुने वातावरण नबनाउन त्रिविको प्रतिष्पर्धीसंग भेट्ने र कार्यक्रममा भेट्न हुँदैन थियो’ कार्यक्रममा एक सहभागिले भने । 

छनोट समितिका सदस्य र प्रतिष्पर्धी एकै ठाउँमा र एक आसपमा भलाकुसारी गर्दा छनोटमा प्रश्न उठ्ने विज्ञहरु बताउँछन् । 

‘छनोट समितिका सदस्य र प्रतिष्पर्धी बीच यसरी भेट हुनु राम्रो होइन । मुल्याङकन गर्ने व्यक्तिले प्रतिष्पर्धीहरुलाई भेट्दै हिँड्नु र सूचना आदान प्रदान गर्दा गोपनीयता र निष्पक्षतामा प्रश्न उठ्छ’ लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले भने, ‘यसरी भेट्दा छनोट निष्पक्ष भएको मान्न गाह्रो हुन्छ । यसरी भेट्दा स्वभाविक रुपमा स्वार्थको द्वन्द्व हुने सम्भावना हुन्छ ।’ 

उपकुलपति छनोटको अब अन्तरवार्ता मात्रै बाँकी छ । विश्वविद्यालय सुधार गर्ने चार वर्षीय योजना प्रस्तुती बुधबार सकिएको छ । बिहीबारदेखि अन्तरवार्ता हुदैँछ । यसरी प्रतिष्पर्धीसंग भेट्ने घिमिरे पनि प्रस्तुतीको मुल्याङकनमा सहभागि थिईन् भने अन्तरवार्तामा पनि बस्ने छिन् । 

प्राध्यापकहरु मध्येबाट उपकुलपति छनोट गर्ने समितिमा उपप्राध्यापक सदस्य 

प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालले कात्तिक तेस्रो साता त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट समिति गठन गरेका हुन् । समितिको संयोजकमा शिक्षा मन्त्री राई, सदस्यमा शिक्षा सचिव अधिकारी र त्रिविका उपप्राध्यपाक घिमिरे सदस्य छन् ।

प्राध्यापकहरु मध्येबाट एक जना छनोट समितिमा हुने प्रावधान अन्र्तगत उपकुलपति छनोट गर्ने समितिमा उपप्राध्यपाक राख्नु नै गलत भएको भन्दै आलोचना भईरहेको थियो । यस्तै आलोचनाका बिच घिमिरेले प्रतिष्पर्धिहरुसँग एकै मञ्च शेयर गर्दै कुराकानी गरिन् । यसलाई उनले आफैंले उक्त पदको मर्यादा राख्न नसकेको भन्दै फेरी आलोचना भईरहेको छ । 

प्रतिक्रिया