Edukhabar
सोमबार, ०७ जेठ २०८१
खबर/फिचर

तीन प्रधानाध्यापक सहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा

तलब भत्ता उपलब्ध गराउने विद्यालयका तत्कालीन प्रधानाध्यापक धनीलाल यादव, भोली यादव, र वीरेन्द्र प्रसाद यादव विरुद्ध पनि आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

मंगलबार, १५ फागुन २०८०

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको कोसी गाउँपालिका स्थित राष्ट्रिय माध्यमिक विद्यालय लौकही तीन प्रधानाध्यापक र एक शिक्षक विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।  

छात्रवृत्तिमा अध्ययन गर्न गएका शिक्षकलाई तलब भुक्तानी दिएको भनी उनीहरूलाई मुद्दा दायर गरिएको हो । अध्ययन बिदा हुँदा पनि फर्जी हाजिर गरेर तलब दिएको भन्दै आयोगले उनीहरूलाई मंगलबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 

प्राथमिक तहका शिक्षक बालेश्वर यादवले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले प्रदान गर्ने चिकित्सा शिक्षा अध्ययन छात्रवृत्ति अन्तर्गत हेल्थ असिस्टेन्ट अध्ययन गर्न गएको  अवधिमा तलब भत्ता लिएको अनुसन्धानबाट खुलेको हो । 

यादवले न्युरो मेडिकल कलेज विराटनगर मोरङमा शैक्षिक वर्ष ०७५/०७६ देखि ३ वर्ष अध्ययन गरेका थिए । यस अवधिमा विद्यालयमा अनुपस्थित भए पनि तलब भत्ता सुविधा भने लिएको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए । विराटनगरमा अध्ययनरत रहँदाको ९१ दिन फर्जी हाजिरी जनाएको, ४७ दिन गयल हुँदा पनि तलब बुझेको पाइएको हो । सरकारी कामकाज नगरी विद्यालयलाई हानि पुर्‍याई १ लाख ३० हजार ८ सय ४३ रुपैयाँ तलब भत्ताको रूपमा गैर कानुनी लाभ लिएको आयोगले जनाएको छ । 

तलब भत्ता उपलब्ध गराउने विद्यालयका तत्कालीन प्रधानाध्यापक धनीलाल यादव, भोली यादव, र वीरेन्द्र प्रसाद यादव विरुद्ध पनि आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 

विद्यालय र गाउँपालिकाको कार्यालयमा समेत फर्जी हाजिरी दिएको उनीहरू माथि आरोप छ । प्रधानाध्यापक धनीलाल यादवले ३५ दिन फर्जी र गयलको समेत हाजिर गराएर ६४ हजार ९ सय रुपैंया भुक्तानी दिएको खुलेको छ । त्यस्तै भोली यादवले प्रधानाध्यापक पदको जिम्मेवारीमा रहँदा बालेश्वर यादवको ३४ दिन फर्जी हाजिरी गराएको र यस बापत ३३ हजार ६ सय १८  रुपैंया तलब भत्ता दिलाएको आरोप छ ।

अर्का शिक्षक वीरेन्द्र प्रसाद यादवले प्रधानाध्यापक पदको जिम्मेवारीमा रहँदा बालेश्वरको ३२  दिन फर्जी हाजिरी गराएको खुलेको छ । यसरी फर्जी हाजिर गराएर ३२ हजार ३ सय २४ रुपैयाँ भुक्तानी दिएको पाइएको आयोगका प्रवक्ता घिमिरेले बताए ।

प्रतिक्रिया