Edukhabar
सोमबार, ०७ जेठ २०८१
खबर/फिचर

विद्यालय शिक्षा विधेयक पारित गर्न प्रयत्न गर्ने सभामुखको प्रतिवद्धता

विधेयक पारित भएसँगै तीन तहको काम कर्तव्य र जिम्मेवारीको प्रभावकारी कार्यान्वयन हुने विश्वास सभामुखले व्यक्त गरेका छन् ।

मंगलबार, १५ फागुन २०८०

रामेछाप - विद्यालय शिक्षा विधेयक पारित गर्न आफूले प्रयत्न गर्ने सभामुख देवराज घिमिरेले प्रतिवद्धता जनाएका छन् । संविधान जारी भएको आठ बर्ष सम्म पनि ऐन नबन्दा शिक्षा क्षेत्र तदर्थमा चलिरहेका बेला सभामुखको उक्त प्रतिवद्धता सार्वजनिक भएको हो । 

गोकुलगंगा गाउँपालिका स्थित गोकुलगंगा माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई मंगलबार सम्बोधन गर्दै सभामुख घिमिरेले विधेयक पारित भएसँगै तीन तहको काम कर्तव्य र जिम्मेवारीको प्रभावकारी कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् ।  

‘शिक्षालाई समय अनुसार वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमुलक, रोजगारमूलक एवं जनमुखी बनाउन जरुरी छ,’ उनले भने ‘संसदमा विचाराधिन रहेको विद्यालय शिक्षा विधेयक पारित भएको अवस्थामा शैक्षिक गुणस्तर वृद्धि हुन सहयोग हुने अपेक्षा लिएको छु । विधेयक पारित गर्न म प्रयत्न गर्नेछु ।’

संसद सचिवालयमा दर्ता भएको १९ दिन पछि गत आसोज १४ गते प्रतिनिधि सभामा पेश भएको विधेयक माथि संसदीय समितिले सरोकारवालाहरुसँग छलफल गरिरहेको छ । विद्यालय तह सम्म सञ्चालनको अधिकार स्थानीय सरकार मातहत हुने र आधारभूत तह सम्म अनिवार्य र निशुल्क तथा माध्यमिक तह सम्म अनिवार्य शिक्षा हुने संविधानको व्यवस्था कार्यान्वयनको विषय विद्यालय शिक्षा विधेयकका पेचिला मुद्दा हुन् । स्थानीय सरकार मातहत बस्न नचाहने सामुदायिक विद्यालयका शिक्षक र निशुल्क शिक्षाको अधिकार कार्यान्वयन हुँदा व्यवसाय धरापमा पर्ने बुझाईमा रहेका निजी विद्यालय सञ्चालकहरुको विरोधका कारण शिक्षा ऐन निर्माणमा उल्झन् आईरेको छ । यही सन्दर्भमा सभामुख घिमिरेले भने बदलिएको समय अनुसार शिक्षामा सुधार आवश्यक रहेको बताएका छन् । 

'शिक्षाले समाज रुपान्तरणको गति निर्धारण गर्छ' सभामुखले भने 'समाजको आवश्यकता अनुरुप व्यवहारिक, प्राविधिक र सर्वसुलभ शिक्षाका लागि नीतिहरु परिवर्तन हुनुपर्छ ।'

प्रतिक्रिया