Edukhabar
विहीबार, २७ बैशाख २०८१
खबर/फिचर

तीन विश्वविद्यालय उपकुलपति बिहीन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तीन वटै विश्वविद्यालयको उपकुलपति सिफारिस समिति गठन गरे पनि टुङग्याउन सकेको छैन ।

शुक्रबार, १८ फागुन २०८०

काठमाडौं - बेलैमा उपकुलपति चयन हुन नसक्दा शनिबारदेखि तीन विश्वविद्यालय नेतृत्व बिहिन हुने भएका छन् । पूर्वाञ्चल, सुदुरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिको कार्यकाल सकिनु अघि नै खुला विज्ञापन भए पनि छनोट हुन सकेको छैन । 

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवराज कोइराला, सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशी र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहको कार्यकाल आज शुक्रबार देखि सकिदैछ । तत्कालिन प्रधानमन्त्री केपी ओलीले उनीहरुलाई ०७६ फागुन १९ मा  नियुक्त गरेका थिए । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तीन वटै विश्वविद्यालयको उपकुलपति सिफारिस समिति गठन गरे पनि टुङग्याउन सकेको छैन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य रमेशचन्द्र पौडेल र शिक्षा सचिव सुरेश अधिकारी सदस्य रहेको पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति सिफारिस समिति बनेको छ । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति हुन १८ जनाले दर्खास्त दिएका छन् । उनीहरुले बुझाएको सोचपत्र र चार वर्षिय बिजनेश प्लान मुल्याङकन भइरहेको समितिका एक सदस्यले बताए । 

मध्यपश्चिमा र सुदूरपश्चिम विश्वविद्यालयको छनोट प्रक्रिया नै रोकिएको छ । दुवै विश्वविद्यालयको उपकुलपति हुन अनुसन्धानलाई प्राथमिकता दिएको भन्दै प्राध्यापकहरुले बिरोध जनाए पछि छनोट प्रक्रिया नै रोकिएको छ । प्रकृया रोकिनु अघि ती दुई विश्वविद्यालयको विज्ञापनमा ९÷९ जनाले दर्खास्त दिएका छन् । 

माघ २५ मा खुला प्रतिष्पर्धाबाट उपकुलपति छनोट गर्ने भन्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारी संयोजक रहेको सिफारिस समितिले विज्ञापन निकालेको थियो । दुबै विश्वविद्यालयमा उपकुलपति हुन अनुसन्धानलाई ३५ अंक छुट्याईएको थियो । अनुसन्धानलाई कम प्राथमिकता दिनु पर्ने, अन्तर्वार्ता र चार वर्षीय बिजनेश प्लान मुल्याङकन तथा प्रस्तुतीलाई बढी अंक दिनु पर्ने माग राखेर प्राध्यापक संघले बिरोध गरेपछि फागुन ६ मा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले छनोट प्रक्रिया रोक्न निर्देशन दिएका थिए । समितिले त्यही दिन सूचना जारी गरेर छनोट प्रक्रिया स्थगित गरेको थियो । 

प्रतिक्रिया