Edukhabar
विहीबार, १० जेठ २०८१
विचार / विमर्श

समस्याको डङ्गुर माथि उपकुलपति

३० बर्षे कामका दौरानमा मैले देखे भोगेका आधारमा आफ्ना केहि अनुभवहरु सहित यो आलेख तयार पारेको छु । यसले विश्वविद्यालयको अबको बाटो तय गर्न नवनियुक्त उपकुलपतिलाई सहयोगी पनि हुनसक्छ ।

शनिबार, १९ फागुन २०८०

विश्वविद्यालय भनेको एउटा  शैक्षिक संस्था हो, जहाँ माथिल्लो तहको अध्ययन, अध्यापन, अनुसन्धान हुनुको साथै बिभिन्न बिषयहरुमा उपाधि समेत दिइन्छ । विश्वविद्यालयको अध्ययनले  विद्यार्थीमा आत्माविश्वास बढ्नुका साथै आफ्नो  भविष्यको दिशानिर्देश गर्न र समाज रुपान्तरण गर्न समेत सक्षम  हुन्छन् भन्ने धारणा राखिन्छ ।  विश्वविद्यालय र प्रतिष्ठान गरी नेपालमा डेढ दर्जनको संख्यामा उच्च शिक्षा दिने संस्थाहरु स्थापना भएका छन् । शायद आवश्यकता ठानिएर नै यति धेरै विश्वविद्यालयहरु खोल्नु परेको होला ! तर, गहिरिएर विचार गर्दा यो वग्रेल्ती विश्वविद्यालय खोल्नु भनेको आफ्नो पालामा खोलेको भन्ने रहर र आफ्नालाई जागिर लगाउने थलो मात्र हो कि जस्तो पनि देखिन्छ । सञ्चालन भैरहेका पुराना विश्वविद्यालयहरुको व्यवस्थापनमा नै अनेक जटिल समस्याहरु समाधान गर्न नसकेको अवस्थामा, नयाँ  विश्वविद्यालयहरुको औचित्य माथि प्रश्न उठ्नु स्वभाविक हो । 

३० बर्ष काम गरि सेवा निवृत्त भएको त्रिभुवन विश्वविद्यालयमा हालै २० औं उपकुलपतिको नियुक्ति भएको छ । मेरा कामका दौरानमा मैले देखे भोगेका आधारमा आफ्ना केहि अनुभवहरु सहित यो आलेख तयार पारेको छु । यसले विश्वविद्यालयको अबको बाटो तय गर्न नवनियुक्त उपकुलपतिलाई सहयोगी पनि हुनसक्छ ।  

त्रिभुवन विश्वविद्यालयको भौतिक दुरावस्था 

सबै भन्दा पहिला केन्द्रिय कार्यालय रहेको ठाउँ किर्तिपुरको  भौतिक अवस्था हेर्दा यो कुनै विश्वविद्यालय हो जस्तो भान हुँदैन ।  विश्वविद्यालयको मुख्य गेटवाट पस्ने बितिकै पहिला एउटा निजी बैंक भेटिन्छ भने उपकुलपति, रेक्टर, रजिष्टारका भवनहरु पनि के के ताल नमिलेका जस्ता छन्, राम्रा इञ्जिनियर नपाएर यस्तो भएको हो कि जस्तो लाग्छ ।

bikri bhandar _01

 बिक्रि भण्डार :  हामी विद्यार्थी हुँदा खाजा खान र अन्य सामान किन्नका लागि धेरै नाम चलेको ठाउँ। अहिलेको स्थितिमा तस्बिर आफै बोल्छ।  

विद्यार्थी क्लब, छात्र/छात्रावास, बिक्रि भण्डार, चमेनागृह,  गणित,  तथ्यांक र कम्प्युटर विज्ञानको साझा भवन (नयाँ भवन), विभिन्न विभागहरुका कक्षा कोठा, शौचालयहरु हेर्ने  हो भने  त्रि.वि.को दुरावस्था थाहा पाउन धेरै मेहनत गर्नै पर्दैन । कम्प्युटर बिज्ञानको अगाडीको चमेना गृह, पुस्तकालयको चमेना गृह, रसायन शास्त्र पछाडिको चमेना गृहहरु हेर्ने हो भने हाम्रो  विश्वविद्यालयको दयनीय हैसियत देखिञ्छ । 

शिक्षा दिने ठाउँका विभागहरु अगाडी साना साना घर टहराहरु, जसमा बाहिरै कपडा सुकाईएका हुन्छन्, बाटोमा गाईबस्तु चराइएका हुन्छन्, गाडी/स्कुटी सिक्नेहरुका सिकारु वाहनहरु विभागहरुका अगाडीका बाटोमा बरालिएका हुन्छन्, विभागहरु अगाडी सूचना बोर्ड जस्ता लाग्ने –विभिन्न विद्यार्थी संगठनहरुबाट राखिएका ब्यानर पोस्टर देखिन्छ – यस्तो वातावरण ले विश्वविद्यालय जस्ता शिक्षा दिने ठाउँमा विद्यार्थी शिक्षक तथा विदेशी आगन्तुकलाई कस्तो सन्देश दिन्छ होला त !  

ghadi ghar_02

 घडीघर अगाडिको अवस्था ।

उपत्यका भित्रका क्याम्पसहरु अस्कल, त्रिचन्द्र, पाटन, आदिको पनी हालत राम्रो छैन  । 

bivag_04

त्रिविको हालत दर्शाउने चित्र सबै केन्द्रिय विभागहरुको केन्द्रमा रहेको एउटा नमुना घर ।

त्रिविको केन्द्रिय विभागहरु रहेको ठाउँमा समेत एउटा पनि पाहुना घर नहुनु अर्को दुखद कुरा हो । उपत्यका बाहिर पाहुना घर भएको भए मलाई थाहा भएन । चमेना गृह समेत नहुनु र त्यसको लागि अधिकारि, विद्यार्थी कसैबाट पनि पहल नहुनु दुर्भाग्य नै हो । 

canteen_04

हेलो क्यान्टिन : विज्ञान केन्द्रिय विभागहरुको लागि खाजा खाने ठाउँको हालत । 

त्रिविको सम्पतिको दुरुपयोग

ल्याबोरेटोरी स्कूल, आँखा अस्पताल,  प्रहरी आवास, खाने पानिको ट्यांकी,  Chinese Academy या Sciences को चौकिल्ला, आदिले त्रिवि को सम्पति गलत ढंगले प्रयोग गरिरहेका छन् । जुनसुकै बाह्य संस्थाले पनि त्रिवि को जग्गामा नै पहिलो आँखा गाड्ने गरेको जस्तो लाग्दछ र त्यहाँ उनीहरुका सम्पदा बनाएर बस्न दिन सरकार र त्रिविका पधादिकारीहरु बडो दानी बनेको देखिन्छ । 

यि त केन्द्रिय कार्यालय भएको ठाउँको अवस्था ! त्रिविले यसै गरि देशभरिका आफ्ना क्याम्पसहरुको सम्पत्तिको संरक्षण समेत गर्न सकेको छैन । केन्द्रीय कार्यालय रहेको ठाउँमा त यो हालत छ भने उपत्यका बाहिरका क्याम्पसहरुको हालत सहजै अनुमान गर्न सकिन्छ । समयमा नै सबै कामहरु नसक्नु त्रिविको सम्पतिको दुरुपयोग होइन र !

bhawan_05गणित, तथ्यांक शास्त्र र कम्पुटर बिज्ञानको लागि बनाउन खोजिएको भवन ।

राजनीति 

सबैभन्दा जेठो त्रिविले नेपालमा भएका जुनसुकै आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा सर्ववितितै छ । २०४६ सालको आन्दोलनको सफलता पछि, शिक्षकहरुलाई स्वतः स्थायी बनाइयो, आन्दोलनको उपलब्धी भन्दै । फेरी तिनै शिक्षकहरुलाई १५ बर्ष पछि स्वतः सहप्राधापक बनाइयो । त्यतिले पनि नपुगेर २०६३ पछि अनसनबाट (जुस करारमा) फेरी शिक्षकहरुको नयाँ नियुक्ति गरियो । यसरी त्रिविलाई भर्ति केन्द्रको रुपमा प्रयोग गरिंदै आएको कुरा सर्वविदितै छ । 

गणतन्त्र पछि पनि किन त्रिवि राजनीतिबाट मुक्त नगरिएको हो ? यो बुझ्न सकिएको छैन । सँधै भरी के  आन्दोलनको ब्याज खाइरहने हो ? यो प्रश्न हामी सबैले गर्ने बेला भएको छैन र ?  

भागबण्डा गरेर मात्र त्रिविको के उन्नती होला त ! यसो हेर्दा त त्रिवि सर्वदलीय पार्टिको कार्यालय जस्तो देखिन्छ ।

नेपालका मुख्य राजनीतिक दलहरुका प्राध्यापक संघ, कर्मचारी संगठन, विद्यार्थी संगठनहरु त्रि. वि. मा छन् । यिनीहरुको काम भनेको आ–आफ्नो संगठनलाई मजबुत बनाउने मात्र देखिन्छ । ताला लगाउने, कुर्ची रुखमा झुण्ड्याउने, भर्ना गराउने इत्यादि कुराले विश्वविद्यालयहरुलाई कहाँ पुर्याउँछ भन्ने कुराहरुले विश्वविद्यालयहरुलाई गिजोलिरहेको छ । विश्वविद्यालयमा, क्याम्पसहरुमा कुन पार्टीको उपकुलपति, कुन पार्टीको रजिष्टार, रेक्टर, कुन पार्टीको क्याम्पस प्रमुख, कुन पार्टीको डिन, सहायक डिन, सहायक क्याम्पस प्रमुख हुने भनेर छुट्याइएको छ । 

पदाधिकारीहरु राजाका पालामा राजाका मान्छे ल्याइन्थे, अहिले राजनीतिक दलका मान्छे ल्याइन्छन् । दुर्भाग्य, त्रिविले कहिले पनि ‘आफ्ना’ पदाधिकारीहरु पाएन । साधारण भन्दा साधारण पदको लागि, साना विभागीय प्रमुखहरुमा समेत राजनीतिक दलको भागबण्डा लाग्ने गरेको छ । यसरि हेर्दा विश्वविद्यालय कार्यकर्ता उत्पादन गर्ने, तीनको संरक्षण र कार्यकर्ताको भर्तिकेन्द्र नै भएको छ । नेता, शिक्षक, कर्मचारी, विद्यार्थीको चलखेलले त्रि. वि. लाई अझै कती तल पुर्याउने हो, सबैले विचार गर्नुपर्ने हो, भागबण्डा गरेर मात्र के त्रिविको के उन्नती होला त ! यसो हेर्दा त त्रिवि सर्वदलीय पार्टिको कार्यालय जस्तो देखिन्छ ।

शैक्षिक अवस्था

विश्वविद्यालयमा कति विदेशी विद्यार्थीले अध्ययन गर्दछन्, कति विदेशी प्राध्यापक छन् भन्ने कुराले पनि ठूलो महत्व राख्दछ । तर, केहि फुलब्राइट प्रोफेसर बाहेक त्रिविमा अरु आएको जस्तो मलाई लाग्दैन जसले बिश्व सामुको यसको स्तर देखाउँछ । पाठ्यक्रम र जनशक्तिको अभाव होइन व्यवस्थापनको अभाव धेरै छन् ।

अनौठो सेमेष्टर प्रणाली  

आफ्नै कमजोरीले गर्दा सेमेष्टर प्रणालीले त्रिविलाई राहत हुने आशा गरेपनि धेरै राहत हुन सकेन । यस प्रणालीमा पारदर्शिताले ठूलो भूमिका खेल्छ जसमा– आन्तरिक मुल्यांकन र अन्तिम परीक्षाको नतिजामा परीक्षार्थीले आफुले पाएको नम्बरमा चित्त नबुझेमा आफ्नो उत्तर पुस्तिका सहज तरिकाले हेर्न नपाउनु, शिक्षकले आफुले पढाएको बिषयको आँफैले मुल्यांकन गर्न नपाउनु – जस्ता कुराहरु छन् । शिक्षकलाई आफ्नो विषयको मुल्यांकन गर्न नदिनु भनेको सेमेष्टर प्रणालीमा शिक्षकलाई विश्वास नगरेको होइन र ? डिन कार्यालयमा उत्तर पुस्तिका जम्मा गरेर अनावश्यक काम भएको जस्तो लाग्दछ । आखिरमा सबै काम केन्द्रिय विभागले डिन कार्यालयमा गएर गर्ने गरेको छ ।

सम्भावित केहि उपायहरु

१.    उपकुलपति बन्ने व्यक्तिले स्वतन्त्र रुपमा काम गर्न पाउनु पर्दछ । उसले आफ्नो टिममा रेक्टर, रजिष्टार, डिन लगायत बनाउन पाउनु पर्दछ । उपकुलपतिले पनि मनै देखि काम गर्न खोजेको आभास सबैलाई गराउनु पर्दछ ।

२.    नेता, शिक्षक, कर्मचारी, विद्यार्थी आदिबाट हुने सम्पूर्ण प्रकारका दलगत राजनीतिकरण बन्द गरि, सहिजिकरण गरिदिनु पर्दछ । 

३.    पर्याप्त मात्रामा आवश्यक बजेटको व्यवस्था हुनु पर्दछ ।

४.    केन्द्रिकृत परीक्षा प्रणालीबाट समयमा नतिजा प्रकाशनमा ढिलाइ भएको कुरा त सर्वविदितै छ, यसमा ध्यान पुर्याउनु पर्दछ । 

५.    प्राध्यापकलाई अध्यापन, गुणिस्तरीय अनुसन्धान गर्न, विद्यार्थीलाई अनुसन्धान गराउन, विद्यार्थीलाई परामर्श गर्न र परीक्षा लिने जस्ता कार्यहरुमा सक्रिय रुपमा सरिक गराउनु पर्दछ । अनुसन्धानलाई अनिवार्य गरिनु पर्दछ । विद्यार्थीलाई पनि शिक्षकको मुल्याकन गोप्य रुपमा गर्न सुरु गर्नु पर्दछ ।

६.    सेवा आयोगलाई मजबुत र सक्रिय बनाउनु पर्दछ ।

७.    सुधार कार्यको सुरुवात केन्द्रीय कार्यालय रहेको ठाउँबाट सुरु गर्दा परिणाममुखी देखिन्छ ।

८. नयाँ उपकुलपतिले ध्यान दिनु पर्ने मुख्य विषय     शिक्षक कर्मचारीहरूको सुविधा पनि हो । शिक्षक कर्मचारीहरूको न्यून तलब सुविधा सबैलाई थाहै छ ।

९.    चार वर्षलाई तीन वर्षमा ल्याउने, स्कुल  बनाउने कुराहरू गर्नु भन्दा भइरहेका कार्यक्रमहरुलाई राम्रो बनाउनु नै उचित होला । सधैंभरि गिजोल्ने काम हुँदा संसारभरि नराम्रो शन्देश जान्छ । हामीले विश्वविद्यालय बनाउन खोजेको हो विद्यालय बनाउन खोजेको होइन । 

पुनश्च

साँच्चै त्रिवि सुधार्ने हो भने, तेरो मेरो नभनिकन, नेता, शिक्षक, कर्मचारी, विद्यार्थी र स्थानीय एक भएर काम गर्नु पर्दछ । नत्र भने सबै कुरा नाटक मात्र हुनेछन् । ६५ बर्षको इतिहास बोकेको त्रिविलाई आफैले उत्पादन गरेका विद्यार्थीले संसारभरि परिचित  गराएर यसको नाम उच्च बनाइ रहेका छन् । जनशक्ति पनि कमजोर नभएकोले त्रिविलाई अघि बढाउन त्यति गाह्रो भने छैन, तर सबै मनै देखि लाग्नु आवश्यक छ । राज्यले त्रिविलाई लगानी गर्न हिचकिचाउनु हुन्न, यो सम्पूर्ण नेपालीहरुको पहिचान हो, सबैको साझा मन्दिर हो ।

एउटा उपकुलपतिले मात्र त के गर्न सक्छ र ! तै पनि नेतृत्वले चाहने हो भने केही न केही त अवश्य गर्न सकिन्छ । के गर्ने भन्ने बारेमा स्पष्ट हुँदै नयाँ उपकुलपतिले आँट गरेर आफूलाई सीमित दायरा बाहिर निकालेर काम गर्ने तर्फ ध्यान जाओस् शुभकामना !

उप्रेती, त्रिवि गणित केन्द्रीय विभागका पूर्व विभागीय प्रमुख हुन् । 

प्रतिक्रिया