Edukhabar
सोमबार, १७ बैशाख २०८१
खबर/फिचर

गुनासो सुन्न शिक्षा मन्त्री शाखामै !

सेवा प्रवाहका आधारमा छुट्टा छुट्टै सात वटा झ्याल निर्धारण गरेर काम गर्न निर्देशन

विहीबार, ०१ चैत्र २०८०

भक्तपुर - वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) वितरण गर्ने शाखाको सेवा प्रवाहमा पटक पटक आउने गुनासो सुन्न शिक्षा मन्त्री सुमना श्रेष्ठले बिहीबार विहानै उक्त शाखाका कर्मचारी र सेवाग्राही विद्यार्थीसँग छलफल गरेकी छन् । विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि आवश्यक पर्ने एनओसी प्राप्त गर्न धेरै झण्झट भएको भन्दै विद्यार्थीले मन्त्रीसँग गुनासो गरेका छन् । 

विहान साढे आठ बजे मन्त्री शाखामा पुग्दा सेवाग्राही विद्यार्थीको लाम शुरु भईसकेको थियो । 

'एनओसी लिन आयो, न डाउनलोड हुन्छ, न कताबाट के सेवा लिने भन्ने थाहा पाउन सोधपुछ कक्ष नै छ' ईटहरीबाट सेवा लिन आएकी एक छात्राले मन्त्रीलाई आफ्नो समस्या सुनाउँदै भनिन् 'कति बेर लाईन लाग्नु पर्छ र कति बेरमा काम सकिन्छ भन्ने कुनै टुगों हुँदैन, उभिदाँ उभिदाँ हैरान भईन्छ ।' 

ती छात्राले मन्त्रीलाई गुनासो सुनाईरहँदा साथमै रहेका शाखा प्रमुख वासुदेव वस्तीले सेवा प्रवाहका लागि शाखाले बनाएको सिष्टमका बारेमा प्रष्ट्याए । एनओसी लिन आउने अधिकाँश विद्यार्थी कन्सल्टेन्सि मार्फत् आउने भएकाले कन्सल्टेन्सिहरुले आवश्यक प्रकृया पुरा नगरि नै पठाईदिदाँ पनि विद्यार्थीले सेवा पाउन नसकेको उनको तर्क छ । शाखाको काम अनलाईन सिष्टमबाट हुने भए पनि विद्यार्थी कन्सल्टेन्सिको भर परेर मात्रै पुरै काम नसकि वा आवश्यक कागजात विनै शाखामा आउँदा काम नभएको उनले दावी गरे । 

NOC_student_12_01

'विद्यार्थीले कन्सल्टेन्सि मार्फत् काम गर्छन्, तर कतिपय कन्सल्टेन्सिहरुले एकै पटक धेरै विद्यार्थीको फारम भरेर पटक पटक थिच्दा डाउनलोड हुँदैन' ती छात्राको समस्याका बारेमा प्रष्ट पार्दै उनले भने '६ पटक भन्दा बढि डाउनलोड बटन थिच्यो भने फर्म डाउनलोड हुन्न ।' 

सेवा लिन आएका अन्य विद्यार्थीले बस्ने ठाउँ नभएको, धुलो भएको, कुन सेवा कहाँबाट लिने हो भन्ने थाहा पाउन नसकिने जस्ता गुनासो सुनाएका थिए । शाखामा दिनमा दुई हजार सेवाग्राही आउँछन् । उनीहरुलाई सेवा दिन शाखामा पर्याप्त जनशक्ति छैन । सेवाग्राहीको चाप बढे पछि मन्त्रालयले बेला बेला अन्य कार्यालयबाट अस्थायी रुपमा कर्मचारीलाई खटाउँदै आएको छ । जनशक्ति अभावका बारेमा मन्त्री सँग शाखाका कर्मचारीले पनि गुनासो गरे ।

कार्यालयको बाहिर हुने सेवाग्राहीको चापले धुलो उड्ने र काम गर्न नै वाधा पर्ने उनीहरुको गुनासो थियो । आफूहरु दिन रात नभनी काम गर्दा पनि पर्याप्त सेवा दिन नसकिएको स्विकार गर्दै कर्मचारीले सेवा दिन नसक्दा विद्यार्थीले धम्कि दिने गरेको समेत गुनासो गरेका छन् । 

विद्यार्थी र कर्मचारीको गुनासो सुनिसके पछि मन्त्री श्रेष्ठले विद्यार्थीले धम्क्याउने जस्ता कृयाकलाप गरे भने आफूलाई सिधै फोन गर्न भनिन् । साथै उनले कार्यालयमा कुन सेवा कहाँबाट कसरी वितरण हुन्छ भन्ने जानकारी दिने गरी नोटिस बोर्ड राख्न र ईण्टरनेट सेवा सहितको सोधपुछ कक्ष व्यवस्थित बनाउन निर्देशन समेत दिईन् । सेवा प्रवाहका आधारमा छुट्टा छुट्टै सात वटा झ्याल निर्धारण गरेर काम गर्न पनि उनले प्रमुख वस्तीलाई निर्देशन दिएकी छन् । 

'काम गर्ने विधि परिवर्तन गर्नुस्, कामको प्राथमिकीकरण गर्नुहोस्, सोही अनुसार सेवा प्रदान गर्नुहोस्' निर्देशन दिदैं उनले भनिन् 'यो शाखामा नागरिकता देखि पासपोर्ट भेरिभिकेसन सम्मको काम गर्नु पर्ने रहेछ, यो काम शिक्षा मन्त्रालयको हैन, अरु मन्त्रालयको काम पनि गर्नु पर्दा चाप भएको देखियो यस बारेमा म सम्बन्धित मन्त्रालयसँग पनि कुरा गर्छु ।'  

NOC_office12_01

अहिले शाखामा १० हजार विद्यार्थी सेवाको पर्खाईमा छन् । शाखाले टिकट लिईसकेका वा चाँडै नै पढाई शुरु हुने विद्यार्थीको लागि चाँडो सेवा दिने व्यवस्था गरेको छ । केही समय अघि सर्भरमा समस्या आए पछि विद्यार्थीको प्रत्यक्ष उपस्थितिमा 'भेरिफिकेसन' गरी 'एप्रुभल'  गर्दै आएको भए पनि हाल प्रणालीमा सुधार भइसकेकाले साविक बमोजिम सेवा प्रवाह भईरहेको शाखाले जनाएको छ । 

अनलाईन फारम भर्दा प्राप्त हुने निर्धारित दिन र समयमा मात्र सक्कल नागरिकता, एक तह मुनिको सक्कल ट्रान्सक्रिप्ट, समकक्षता आवश्यकता पर्नेको हकमा सोको सक्कल, २०८० जेठ १ गते (२०२३ मे १५) भन्दा अघि एनओसी जारी भएको भए त्यसका सक्कल प्रतिहरू, वैदेशिक मुद्रा सटहीको सुविधा लिइसकेको भए रिफण्ड भएको बैंक स्टेटमेण्ट अनलाईन सिष्टममा अपलोड गर्नै पर्ने हुन्छ । मेडिकलको हकमा आवश्यक कागजात सहित उपस्थित भएर सेवा लिन सकिने शाखाले जनाएको छ । 

तर फारम भर्दा प्राप्त तोकिएको दिन र समय भन्दा अगावै कन्सल्टेन्सिहरुले विद्यार्थीलाई सेवा लिन पठाउने गर्दा अनावश्यक भिडभाड भएको र त्यसले सेवा प्रवाहमा वाधा उत्पन्न हुने शाखाले जनाएको छ । त्यसैले तोकिएको दिन र समय भन्दा अघि आउने सेवाग्राहीलाई सेवा दिन नसकिने शाखाले स्पष्ट पारेको छ । 

प्रतिक्रिया