Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

शिक्षा समितिको नयाँ सभापति निर्वाचन मिति तय

एकिकृत समाजवादीका सांसद अम्मर बहादुर थापालाई समितिको सभापति बनाउने उक्त दलको निर्णय, यदी सत्ताधारी गठबन्धनमा विमती नभएमा उनी नै सभापति हुने लगभग निश्चित छ ।

सोमबार, ०५ चैत्र २०८०

काठमाडौं - प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिको निर्वाचन बुधबार हुने भएको छ । 

यस अघिका सभापति भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएपछि समितिको सभापति पद रिक्त छ । समितिको सभापतिमा जोशी कै दल एकिकृत समाजवादीको दावी छ ।

एकिकृत समाजवादीले आफ्ना सांसद अम्मर बहादुर थापाको* नाम तय गरेको छ । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका सदस्य रहेका थापालाई शिक्षा समितिको सभापति बनाउने निर्णय भएको उक्त दलका नेता राजेन्द्र पाण्डेले बताए । यदी सत्ताधारी गठबन्धनमा विमती नभएमा उनी नै सभापति हुने लगभग निश्चित छ ।  समितिको सभापतिका लागि आफ्नो उम्मेद्वारी हुने थापाले बताए । उनी दैलेख १ का सांसद हुन् ।  

समितिमा विद्यालय शिक्षा विधेयक, नेपाल विश्वविद्यालय विधेयक, सुरक्षित मुद्रण, सार्वजनिक सेवा प्रशारण विधेयक छलफलककै क्रममा रहेका छन् । समिति सभापति विहीन भएपछि यी विधेयक माथि छलफल हुन सकेको छैन । 

प्रतिनिधि सभाको सोमबार बसेको बैठकले सभापति निर्वाचनको मिति तय गरेको हो । सभापतिको निर्वाचन सम्बन्धी तालिका संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले सार्वजनिक गर्नेछन् ।

*सच्याईएको - सं.

प्रतिक्रिया