Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

शिक्षकलाई मासिक तलब दिने सरकारको नीति तथा कार्यक्रममै राख्ने तयारी

संघीय सरकारले शिक्षकको तलब भत्ता स्थानीय तहमा पठाउँदै आएको छ । शिक्षामा सुधार गर्न अग्रसर केही स्थानीय सरकारले मासिक भुक्तानी समेत थालेका छन् ।

शुक्रबार, ०९ चैत्र २०८०

काठमाडौं - शिक्षकलाई मासिक रुपमै तलब दिने गरी नीति निर्धारण गर्न शिक्षा मन्त्रालयले तयारी थालेको छ । यसका लागि सरकारको आगामी बर्षको नीति तथा कार्यक्रममा उक्त विषय समाबेश गर्ने गरी आन्तरिक तयारी भईरहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । 

नीति तथा कार्यक्रमकै आधारमा बजेट निर्माण हुने भएकोले मन्त्रालयले उक्त विषयलाई नीतिमै समेट्न लागेको हो । 

शिक्षकलाई मासिक तलब दिने गरी नीति तथा कार्यक्रमको मस्यौदा अघि बढाईएको छ मन्त्रालय स्रोतले भन्यो । सुमना श्रेष्ठ मन्त्री भएपछि सरकोकारवालासंगको छलफलमा सहभागीहरुले शिक्षकलाई मासिक तलब दिने व्यवस्था गर्नु पर्ने सुझाव दिएका थिए । संघीय सरकारले शिक्षकको तलब भत्ता स्थानीय तहमा पठाउँदै आएको छ । शिक्षामा सुधार गर्न अग्रसर केही स्थानीय सरकारले मासिक भुक्तानी समेत थालेका छन् ।

‘निजामती कर्मचारी होस् वा निजी क्षेत्रमा काम गर्ने कर्मचारीले मासिक तलब पाउने अनि शिक्षकले चौमासिक पाउने कुनै आधार नभएकोले हामीले मन्त्रीज्यूलाई जानकारी गराएका थियौँ’ शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले भनिन् ‘शिक्षकलाई मासिक तलब दिने हो भने केही न केही उर्जा मिल्नेछ ।’ 

शिक्षकलाई चार महिनाका एक पटक तलब दिँदा खर्च व्यवस्थापनमै समस्या हुने गरेको गुनासो आउने गरेको उनले बताइन् । अन्य कर्मचारी सरह सेवा सुविधा र मासिक तलब दिएर विभेद हटाउनु पर्ने उनले बताइन् । यस अघिका शिक्षा मन्त्रीलाई पनि शिक्षकको गुनासोमा मासिक तलब दिने व्यवस्था गर्नु पर्ने माग राख्दै आएको उनले बताइन् । 

चौमासिक तलब खुवाउँदा शिक्षकको मनोविज्ञानमा असर पुगेको मात्र नभएर शिक्षण सिकाइमा पनि असर पुगेको मन्त्रालयको निष्कर्ष छ । शिक्षकको तलब भत्ता मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन भन्दै मन्त्रालयले ०७३ माघ ३ मा पनि तत्कालिन शिक्षा विभागलाई निर्देशन दिएकोे थियो । शिक्षा नियमावली २०५९ को नियम १०१ को उपनियम १ मा शिक्षकले प्रत्येक महिना भुक्तान गरे पछि तलब र भत्ता पाउने प्रावधान छ । 

प्रतिक्रिया