Edukhabar
मंगलबार, १८ बैशाख २०८१
खबर/फिचर

एमाले अध्यक्ष ओलीले भाग खोज्दा त्रिविको रेक्टर र रजिस्ट्रार नियुक्ति ढिलाइ

त्रिविको रेक्टर र रजिस्ट्रार नियुक्तिको छलफलमा ओली सहभागि

शुक्रबार, २३ चैत्र २०८०

काठमाडौँ–एमाले अध्यक्ष केपी ओलीले त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रारमा पार्टी निकटका प्राध्यापकलाई नियुक्ति गर्नु पर्ने अडान राखेपछि उपकुलपतिले सिफारिस गरेको नाममा सहमति हुन सकेको छैन । 

विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले चैत १५ मा रजिस्ट्रारमा प्राध्यापक केदार रिजाल र रेक्टरमा प्रा.डा. खड्ग केसीको नाम नियुक्तिको लागि कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिफारिस गरेका थिए । 

शुक्रवार साँझ त्रिविको रेक्टर र रजिस्ट्रार नियुक्ति प्रक्रिया बारे सत्ताधारी दलका शिर्ष नेताहरु बिच बालुवाटारमा भएको छलफलमा एमाले अध्यक्ष ओली समेत सहभागी भएको स्रोतले जनाएको छ । सहकुलपति एवं शिक्षामन्त्री सुमना श्रेष्ठ, उपकुलपति बराल सहित भएको छलफलमा सिफारिस भएको नाम ओलीले स्वीकार नगरेपछि नियुक्ति हुन नसकेको हो ।

‘प्रधानमन्त्रीज्यू विश्वविद्यालयले सिफारिस गरेको व्यक्तिलाई मान्न तयार हुनुहुन्छ,’प्रधानमन्त्री निवास स्रोतले भन्यो,‘उपकुलपतिले आफ्नो टिम आफै बनाउन खोज्नु भएको छ । छोड्दिऊ भन्नुहुन्छ तर, ओली बा ले रेक्टर र रजिस्ट्रार छनोट प्रक्रिया सच्याएर नयाँ ढंगबाट गर्नु पर्ने भन्नुहुन्छ ।’  

ओलीले एमाले निकट प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष वेदराज केसीलाई रजिस्ट्रार बनाउन चाहेका छन् । उनी नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसका फिजिक्सका प्राध्यापक हुन् । प्राध्यापकको नेता भएपछि कलेजमा कमै मात्रै उपस्थित भएर काठमाडौँमा राजनीति गर्न व्यस्त छन् । नेपालगन्ज र कोहलपुरको आधा दर्जन कलेजमा उनको लगानी रहेको स्रोतको दाबी छ । 

कक्षामा नियमित पढाउने र अनुसन्धानमा पोख्त व्यक्ति भन्दा पनि कार्यकर्ता प्राध्यापकलाई विश्वविद्यालयको पदाधिकारीमा नियुक्ति गर्न नहुनेमा उपकुलपतिको अडान छ । छलफलमा बरालले आफूले सिफारिस गरेको व्यक्ति नियुक्ति नभएमा राजीनामा दिने सम्मको धम्की दिँदा पनि ओलीले आफ्नो अडान नछाडेको स्रोतले जनाएको छ । ‘उपकुलपतिले सिफारिस गरेको व्यक्तिलाई रेक्टर र रजिस्ट्रार बनाएमा विश्वविद्यालयका काम गर्नै नसक्ने र नदिने कुरा ओलीले राख्नु भयो,’स्रोतले भन्यो,‘ओली र प्रधानमन्त्रीले उपकुलपतिलाई गलाउन खोजेका छन् ।’ 

 

प्रतिक्रिया