Edukhabar
विहीबार, २७ बैशाख २०८१
खबर/फिचर

चुनावका लागि दुई दिन विद्यालय विदा

'दुई दिनका लागि विद्यालयमा सार्वजनिक विदाको व्यवस्था मिलाउन मुख्य सचिव मार्फत नेपाल सरकारमा लेखि पठाउने' आयोगको निर्णयमा भनिएको छ ।

मंगलबार, २७ चैत्र २०८०
फोटो : निर्वाचन आयोग

काठमाडौं - आगामी बैशाख १५ गते हुने उप निर्वाचनका लागि दुई दिन विद्यालय विदा गर्ने प्रकृया शुरु गर्न निर्वाचन आयोगले मुख्य सचिव मार्फत् सरकारलाई लेखि पठाउने निर्णय गरेको छ । मंगलबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले गरेको सिफारिसका आधारमा उक्त निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । 

इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नं १ (१) मा बैशाख १५ गते उपचुनाव हुँदै छ । उक्त चुनावका लागि मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले विदा गर्नु पर्ने भएको आयोगले जनाएको छ ।

'मिति २०८१/१/१३ देखि मिति २०८१/१/१४ सम्म दुई दिनका लागि विद्यालयमा सार्वजनिक विदाको व्यवस्था मिलाउन मुख्य सचिव मार्फत नेपाल सरकारमा लेखि पठाउने' आयोगको निर्णयमा भनिएको छ ।

१५ गते शनिबार परेकाले दुई दिन मात्रै विदा गर्न लागिएको हो । 

आयेगको बैठकले उपनिर्वाचनको सुरक्षा व्यवस्था सम्बन्धमा पनि विभिन्न निर्णय गरेको छ । निर्वाचन आचार संहिताको पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सम्बन्धमा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्ति मार्फत आवश्यक सूचना र विवरण लिई तत्काल कार्वाही गर्ने आयोगको निर्णय छ । राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरणहरू जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला सम्बन्धी विषय, सवारी साधनको प्रयोग र संचार माध्यमको प्रयोग सम्बन्धी विषय र निर्वाचन खर्च सम्बन्धी विषयमा दैनिक विवरण लिने आयोगको निर्णय छ । अनुगमन अधिकृत र जिल्ला आचार संहिता अनुगमन समितिले आचार संहिता उलंघनको विषयमा तत्काल कारवाही गर्ने र कुनै द्विविधा उत्पन्न भएमा टेलिफोन, एस.एम.एस., एवम् इमेल वा अन्य कुनै उपयुक्त माध्यम मार्फत आयोगबाट निकासा लिई कारवाही टुंग्याउने छन् ।

मतगणना सम्पन्न नभएसम्म चुनाव हुने जिल्ला भित्र मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवनलाई नियन्त्रण गरिने छ । उपयुक्त सुरक्षा व्यवस्था अवलम्बन गरी सार्वजनिक यातायात सञ्चालन तथा ब्यवस्थापन गर्न सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिले आवश्यक व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयमा लेखी पठाउने पनि आयोगको निर्णय छ ।

इलाम–२ मा एमालेबाट निर्वाचित पूर्वसभामुख सुवास नेम्वाङको भदौ २६ गते हृदयघातबाट निधन भएको थियो । यस्तै बझाङ–१ को प्रदेश सभामा नेपाली कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको असार २५ गते सवारी दुर्घटनामा परी निधन भएको थियो । रिक्त उक्त दुई स्थानमा चसनाव हुन लागेको हो । 

प्रतिक्रिया