Edukhabar
शनिबार, १२ साउन २०८१
खबर/फिचर

चलखेल रोक्न सफ्टवेयरबाट परीक्षा केन्द्र [ कुन विद्यालयको परीक्षा केन्द्र कहाँ विवरण सहित ]

विद्यालयको परीक्षार्थी संख्या कम्तीमा एक सय र बढीमा दुई सय भन्दा बढी एकै केन्द्रमा नपर्ने गरी परीक्षा केन्द्र निर्धारण

शुक्रबार, ०७ बैशाख २०८१

काठमाडौँ–शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चलखेल रोक्न प्रविधिको सहायताले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण गरेको छ । 

मन्त्रालय र बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’ को रूपमा सफ्टवेयरबाट काठमाडौँका कक्षा १२ का १ सय ४४ परीक्षा केन्द्र स्वचालित विधिबाट छानेको हो । काठमाडौँका ५ सय १३ विद्यालयका नियमित तर्फ ५९ हजार १ सय ६७ र आंशिक तर्फ ५ हजार ७ सय १७ विद्यार्थी  परीक्षामा सहभागी हुँदै छन् । 

दुई सय भन्दा बढी विद्यार्थी भएको विद्यालयका विद्यार्थी फरक सेन्टरमा छरिएर राख्ने गरी सफ्टवेयरबाटै केन्द्र निर्धारण गरिएको हो । यसअघि धेरै विद्यार्थी भएको विद्यालयको विद्यार्थी तीन वटा केन्द्रसम्म राख्ने गरेकोमा यसपालि नौ वटासम्ममा केन्द्र निर्धारण भएको छ । 

हरेक विद्यालयमा परीक्षार्थीको संख्या र परीक्षा केन्द्रको सिट संख्या, विद्यालय र केन्द्रको गुगल म्यापबाट लिएको दुरी, विद्यालयबाट नजिक पर्ने केन्द्र, एक विद्यालयको परीक्षार्थी संख्या कम्तीमा एक सय र बढीमा दुई सय भन्दा बढी एकै केन्द्रमा नपर्ने गरी परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ । 

परीक्षा केन्द्र निर्धारण गरिएको अर्को आधार आफ्नै विद्यालयमा केन्द्र नहुने, दुई विद्यालयका परीक्षार्थीको केन्द्र एक अर्कामा पर्न नहुने, एकै स्वामित्व र व्यवस्थापनको भनी पहिचान भएका केन्द्रमा नपर्ने बनाइएको परीक्षा बोर्डले जनाएको छ । स्वचालित विधिबाट पहिलो चरणमा काठमाडौँमा पारदर्शी रूपमा परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षामन्त्री श्रेष्ठले बताइन । 

‘यस विधिबाट परीक्षा केन्द्र छान्दा परीक्षा केन्द्रसँग सम्बन्धित अनियमितताहरू निरुत्साहित हुनेछ भने विद्यार्थीको हैरानी पनि कम हुनेछ,’मन्त्री श्रेष्ठले भनिन । प्रत्येक पटक परीक्षा केन्द्र तोक्न प्रोग्राम चलाउँदा फरक फरक नतिजा आउने गरी ‘¥यान्डमाइज’ गरिएको मन्त्री श्रेष्ठले बताइन । 

मन्त्रालय र बोर्डले प्रयोग गरेको विधिलाई उनले सार्वजनिक गरेकी छिन् । ‘ओपन सोर्सको मान्यता अनुरूप पारदर्शी रूपमा राखिएको यसलाई ‘गिटहब’ मा राखिएको छ । यो सफ्टवेयरको प्रक्रिया अझै सबल र पूर्ण स्वचालित बनाउन सुझाव दिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय आव्हान गर्दछ,’उनले भनिन् । 

 

प्रतिक्रिया