Edukhabar
शुक्रबार, २१ बैशाख २०८१
विचार / विमर्श

विद्यार्थी मूल्याङ्कनमा नवीनता : शिक्षकमा आधारित मूल्याङ्कन प्रणाली

प्रमाणपत्र दिने प्रणाली परिवर्तन गर्नु पर्छ । पुरानो प्रणालीमा धेरै समस्या देखिए । विद्यार्थीको सम्पूर्ण गतिविधी शिक्षकलाई थाहा हुन्छ । बाहिरी व्यक्तिलाई होइन । ३६५ दिन सिकाउने शिक्षकले मूल्याङ्कन नगरी घोकेर लेखेको आधारमा मूल्याङ्कन गर्ने प्रणाली अब थोत्रो  भयो । परिमार्जन  गर्नु पर्छ ।

शनिबार, ०८ बैशाख २०८१

१८ महिनासम्म नतिजा आएन ! अंक / प्रतिशत / ग्रेड उच्च छ ! तर काम गर्न केही आएन !

विद्यार्थी पटक्कै व्यवहारिक छैनन् ! अनुशासन  छैन !

पास भएको प्रमाणपत्र लिन पनि गार्हो छ ! परीक्षा नियन्त्रण कार्यालयहरु भद्रगोल छ्न ! परीक्षाहरु खर्चिला छन् ! 

यस्ता अनेक गुनासा सुनिन्छ्न ।  यस्ता गुनासालाई निरुपण  गर्न सकिन्छ । शिक्षकमा आधारित मूल्याङ्कन प्रणाली यसको समाधान हो । विश्वका धेरै मुलुक र धेरै शैक्षिक संस्थामा यस्तो प्रचलन छ । नेपालमा पनि मूल्याङ्कन प्रणालीमा नवीनता ल्याउनु पर्छ । अब ढिला गर्नु हुन्न ।

विकल्प 

३/४ घण्टाको लिखित परीक्षा वा मौखिक परीक्षा वा प्रयोगात्मक परीक्षाबाट  मात्र होइन; फरक ढंगबाट पनि  विद्यार्थीको मूल्याङ्कन गर्न सकिन्छ । पुरानो  मूल्याङ्कन प्रणालीलाई सुधार गर्नु पर्छ । विद्यालय देखी विश्वविद्यालय सम्मको विद्यार्थी मूल्याङ्कन प्रणालीमा  शिक्षकलाई जिम्मेवार बनाउनु पर्छ । विद्यार्थीका सम्पूर्ण गतिविधि नजिकबाट चिन्ने र बुझ्ने भनेको शिक्षक नै हो । शिक्षकको सिफारिसमा विद्यार्थीलाई योग्यताको प्रमाणपत्र दिनु पर्छ ।

कापीमा लेखेको आधारमा सैद्धान्तिक ज्ञान परीक्षण भएता पनि व्यवहारिक ज्ञान परिक्षण हुन सक्दैन । त्यसैले हाम्रा शैक्षिक संस्था बेरोजगार उत्पादन गर्ने कारखाना भए ।

केहि घण्टा लेखेको आधारमा फेल र पास छुट्याई प्रमाणपत्र दिने प्रणाली परिवर्तन गर्नु पर्छ । पुरानो प्रणालीमा धेरै समस्या देखिए । विद्यार्थीमा अनुशासन, सिर्जनात्मकता, मौलिकता, काम गर्ने सीप, क्षमता÷ दक्षता, स्मरण शक्ति लगायत सबै पक्षको मूल्याङ्कन कक्षा शिक्षकले गर्नु पर्छ । विद्यार्थीको सम्पूर्ण गतिविधी शिक्षकलाई थाहा हुन्छ । बाहिरी व्यक्तिलाई होइन । ३६५ दिन सिकाउने शिक्षकले मूल्याङ्कन नगरी घोकेर लेखेको आधारमा मूल्याङ्कन गर्ने प्रणाली अब थोत्रो  भयो । परिमार्जन  गर्नु पर्छ । अंक र प्रतिशतलाई भन्दा प्रत्यक्ष व्यवहार अवलोकनलाई मूल्याङ्कनको  मुख्य आधार बनाईनु पर्छ ।

शिक्षकले घटनावृत अभिलेख, रुजु सुची, श्रेणी मापन, संचित अभिलेख, आत्म– मूल्याङ्कन आदिका आधारमा  आफ्ना विद्यार्थीको निरन्तरता मूल्याङ्कन  गर्न सक्छन् । कापीमा लेखेको आधारमा सैद्धान्तिक ज्ञान परीक्षण भएता पनि व्यवहारिक ज्ञान परिक्षण हुन सक्दैन । त्यसैले हाम्रा शैक्षिक संस्था बेरोजगार उत्पादन गर्ने कारखाना भए । दैनिक गृहकार्य, परियोजना कार्य, प्रस्तुति कार्य, assignment मार्फत शिक्षकले आफ्ना विद्यार्थीको क्षमता हर क्षण परीक्षण गरिरहेका हुन्छन् । दैनिक क्रियाकलापमा देखाएका व्यवहारहरु, अनुशासन, कार्यशैली, कार्यकौशलता, सामाजिकिकरण, समस्या समाधान सीप, सिर्जनात्मक सीप, वौद्धिक क्षमता आदिको मुल्यांकन  शिक्षकले  कक्षा– कोठा र विद्यालयमा गर्न सक्छन् । यहि कुरालाई मनन गरेर कक्षामा पढाउने काम मात्र हुँदैन । मुल्यांकनका यस्ता काम  पनि हुन्छन् भनी राम्रा विश्वविद्यालयको  अभ्यासलाई अनुशरण  गरि नेपालका विश्वविद्यालय तहमा  पनि दिनमा दुई पिरियड मात्र पढाउने व्यवस्था गरेको  हुनु पर्छ ! तर कक्षा सकियो भन्दै टाप कस्छन् शिक्षक, प्राध्यापकहरु । बुझाई र गराईमा यहि समस्या छ । दैनिक पढाउने÷ सिकाउने  शिक्षक भन्दा अरु व्यक्तिको मूल्याङ्कन भरपर्दो र विश्वासिलो हुन सक्दैनन् । यो कुरा सरोकारवालालाई सम्झाउनु पर्ने छ । बुझाउनु पर्ने छ । 

शिक्षक र शैक्षिक संस्थाको भुमिका

शिक्षक  सबै खाले पूर्वाग्रह र  प्रभावबाट  मुक्त  हुनु पर्छ । नातावाद, कृपावाद र लोभबाट टाढा बस्नु पर्छ । इमानदारिता र नैतिकता हर क्षण परीक्षण  हुन्छन् । पल पलमा जिम्मेवारी वोध हुनु पर्छ ।  दुधको दुध, पानीको पानी छुट्याउने क्षमता हुनु  पर्छ । यी सबै काम गर्न शिक्षक क्षमतावान हुनु पर्छ । आफ्नो विषयमा विज्ञ हुनु पर्छ । शिक्षक दुनियाँकै गुरु हो । गुरु नै हुनु पर्छ । शिक्षकले आफ्नो सामाजिक मूल्य बढाउन कोशिश गर्नु पर्छ । यो शिक्षकको लागि अवसर  हो । शिक्षकले विद्यार्थीको मूल्याङ्कन मात्र गरेको होइन, आफ्नो पनि मूल्याङ्कन गरेको ठान्नु पर्छ । जथाभावी मूल्याङ्कन गरेमा समस्या थपिनेछन् । मूल्याङ्कन झन् गञ्जागोल हुनेछ ।  शिक्षकमा आधारित  मूल्याङ्कन प्रणाली असफल बनाउने  मुख्य कारण  यहि हुनुपर्छ । धेरै जसो शिक्षकले आफुलाई असल शिक्षक बनाउनै सकेनन् । जागिरे मात्र बनाए । शिक्षकको भुमिका परिभाषित गर्नु पर्छ । शिक्षकलाई जिम्मेवार बनाउने प्रणाली विकास गर्नु पर्छ ।

शिक्षकमा आधारित मूल्याङ्कन प्रणालीलाई सफल बनाउन शैक्षिक संस्थाको पनि भुमिका हुन्छ । शैक्षिक नेतृत्वले आफ्ना शिक्षकलाई गलत  नगर्न र  इज्जत जोगाउन आवश्यक पर्यो भने निर्देशन दिनु पर्छ । सजग गराई रहनु पर्छ । शैक्षिक संस्थाहरु स्रोत र साधनले  पूर्ण हुनु पर्छ । Teacher based evaluation लाई सफल बनाउन शिक्षक मात्र होइन; विद्यार्थी पनि ईमानदार हुनु पर्छ । अंक कम दिएको आधारमा  शिक्षक कुट्ने, हुल हुज्जत गर्ने, शैक्षिक सस्थामा आगो लगाउने प्रवृत्ति अन्त्य गर्नु पर्छ । अन्यथा यो मूल्याङ्कन प्रणाली बेकामे हुन्छ । केवल एउटा बौद्धिक विलासको बिषय हुन्छ । 

दुनियाँमा सफल हुने– नेपालमा नहुने प्रश्न नै छैन । मात्र सोचमा परिवर्तन जरुरी छ । शिक्षक– विद्यार्थी र अभिभावकको सोच उन्नत हुनु पर्छ । नैतिकता र ईमानदारीता हुनु पर्छ ।

उपलब्धि 

शिक्षकमा आधारित विद्यार्थी मूल्याङ्कन प्रणाली विकास गर्न सके कापी हराउने, पुन परीक्षा लिने, समयमा नतिजा दिन नसक्ने, प्रमाणपत्र लिदाँ हुने हैरानी लगायतका समस्याको निराकरण हुन्छ । परीक्षाको काम गर्ने निकायलाई  धेरै राहत हुन्छ ।  शिक्षकको मूल्याङ्कनबाटै विद्यार्थीको श्रेणीकरण गरि  प्रमाणपत्र दिने  व्यवस्था  मिलाउन सक्दा उत्तम हुन्छ । यसले मूल्याङ्कन प्रणालीलाई सरलीकरण गर्छ । विद्यार्थी मूल्याङ्कन वास्तविक हुन्छ । अन्य झण्झबाट  मुक्ति दिन्छ । मूल्याङ्कनमा नवीनता आउँछ । समयले मूल्याङ्कनमा नवीनता खोजेको छ ।

त्रिभुवन विश्वविद्यालयमा कार्यरत दाहाल, पाठ्यक्रम तथा मुल्यांकनमा स्नातकोत्तर हुन् । 

प्रतिक्रिया