Edukhabar
शनिबार, १२ साउन २०८१
खबर/फिचर

शिक्षामन्त्रीका निजी सचिव किन टिकेनन् दुई महिना पनि ?

मन्त्री श्रेष्ठले निजी सचिवालयमा प्रशासन सेवाका उपसचिवलाई विश्वास गरेर ल्याएकी थिइन

शुक्रबार, ०४ जेठ २०८१

काठमाडौँ–शिक्षामन्त्री सुमना श्रेष्ठका निजी सचिव दुई महिना पनि नटिकी बाहिरिएका छन् । सचिवालयको जिम्मेवारी सम्हालेको दुई महिनामै उपसचिव विजय सुवेदीले असन्तुष्टि जनाउँदै सचिवालय छाडेको स्रोतले जनाएको छ । 

मन्त्री श्रेष्ठले निजी सचिवालयमा प्रशासन सेवाका उपसचिव सुवेदीलाई विश्वास गरेर ल्याएका ल्याएकी थिइन ।  सुवेदीले आइतबारदेखि सचिवालय छाडेका हुन् ।  

सुवेदीले मन्त्री श्रेष्ठलाई अघिल्लो शुक्रवार भेटेर सचिवालयमा बस्न नसक्ने जानकारी गराएको स्रोतले जनाएको छ । सुवेदीले पिएचडी अध्ययनको लागि जिम्मेवारी छाड्नु परेको बताए । ‘मन्त्रीज्यूसँग काम गर्न सहजै थियो तर, विश्वविद्यालय जेठ भित्रै थेसिस सक्न भनेपछि सचिवालय छाड्नु परेको हो,’उनले भने । 

सचिवालयमा रहेका दुई शाखा अधिकृतले पनि शुक्रवारदेखि नै बोर्ड हटाएका छन् । मन्त्रीको निजी सचिवालयमा आएका प्रशासनका शाखा अधिकृतहरूले सचिवालयमा हालीमुहाली गरेको भन्दै एक अर्का बिच असन्तुष्टि बढेको थियो । उपसचिव सुवेदी उनीहरूकै हालीमुहाली देखेर छाडेको हुन सक्ने शिक्षाका एक कर्मचारीले बताए । ‘उनीहरूले लहडमा सचिवालय चल्ने भएपछि किन बस्नु भनेर सुवेदीले छाडेको हुन सक्छ,’ती कर्मचारीले भने,‘पढाई त बहाना मात्रै हो ।’ मन्त्रीले निर्णय प्रक्रियामा अधिकृतलाई सहभागी गराउने, उनीहरूसँग सल्लाह लिने र निर्णयको फलोअप गर्न र कसैलाई सम्पर्क गर्नु पर्‍यो भने मात्रै उपसचिवको खोजी हुने गरेपछि असन्तुष्टि जनाउँदै सुवेदीले छाडेको हुन सक्ने शिक्षाका ती कर्मचारीले बताए । 

मन्त्रीले प्रशासन सेवाबाट निजी सचिवालयमा कर्मचारी ल्याएर शिक्षाका कर्मचारीलाई अविश्वास गरेको, निजी सचिवालयमा रहेका शाखा अधिकृतले शिक्षाका उपसचिव, सहसचिवलाई अपमान गर्ने गरेको कर्मचारीहरूको गुनासो छ । ‘शिक्षामा योग्य व्यक्ति नै कोही नभएजस्तो भयो,’मन्त्रालयका उच्च तहका एक कर्मचारीले भने,‘शाखा अधिकृतले अपमान गरेको सहनु भन्दा कहिलेकाहीँ त जागिर छाड्दिऊ जस्तो लाग्छ ।’ 

 

 

 

प्रतिक्रिया