Edukhabar
शनिबार, १२ साउन २०८१
खबर/फिचर

एसईई नतिजा : असार ८ भित्र सम्पूर्ण काम सक्ने लक्ष्य !

कार्यालयले यस अघि नै तय गरेको कार्ययोजना अनुसार ईण्ट्रिको काम सकेर सोमबारबाट 'मिस म्याच' हेर्नेे काम शुरु भएको छ । यसका लागि कर्मचारीहरुको समूह निर्धारण गरेर काम भईरहेको छ - परीक्षा नियन्त्रक

सोमबार, २८ जेठ २०८१

भक्तपुर -  कक्षा १० को अन्तिम परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्नु अघि सक्नुपर्ने आवश्यक सबै कार्य असार ८ गते भित्रै सक्ने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले 'कुन मिति सम्म कुन काम सक्ने भन्ने यस अघि नै निर्धारण गरेको कार्ययोजना पुरा हुँदै आएको'ले असार ८ भित्र सम्पूर्ण काम सक्ने लक्ष्य पुरा हुने दावी गरे । 

प्राविधिक काम सकेर परीक्षा बोर्डका सबै पदाधिकारीको समय मिल्यो भने ८ गते नै नतिजाको 'डेमो' देखाउने लक्ष्य राखेको उनले बताए ।

'हामीले यस अघि नै तय गरेको लक्ष्य अनुसार नै काम भईरहेको छ, ठूलै समस्या आई नपरेसम्म अबका दिनमा पनि यही रफ्तारमा काम हुँदै जानेछ' उनले दावी गरे 'त्यसैले परीक्षाफल प्रकाशित गर्नु अघि सम्पन्न गर्नुपर्ने सबै काम असार ८ गते सम्ममा सकिन्छ, यदी यो समय तालिका यसै गरी फलो हुँदै गयो भने  १० गते सम्ममा नतिजा सार्वजनिक गर्न सकिन्छ ।'  

कार्यालयले यस अघि नै तय गरेको कार्ययोजना अनुसार ईण्ट्रिको काम सकेर सोमबारबाट मिस म्याच हेर्नेे काम शुरु भएको छ । यसका लागि कर्मचारीहरुको समूह निर्धारण गरेर काम भईरहेको उनले बताए । 

गत बर्ष असार २४ मा नतिजा सार्वजनिक भएको थियो । गत चैत १५ देखि सुरु भएको परीक्षामा नियमित तर्फ ४ लाख ६७ हजार विद्यार्थीले परीक्षा दिएका छन् । त्यस्तै २१ हजार विद्यार्थी  ग्रेड वृद्धि परीक्षामा सहभागी भएका छन् । विद्यार्थीको उत्तर पुस्तिका ५२ वटा परीक्षण केन्द्रमा परीक्षण गरिएको थियो । 

यसपालि एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरेर सार्वजनिक हुने छ । सैद्धान्तिक तर्फको ७५ अंकको परीक्षामा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अर्थात् २७ अंक ल्याउनै पर्ने हुन्छ । २७ अंक ल्याउन नसके विद्यार्थीले पाउने ग्रेडसीटमा एनजी उल्लेख हुनेछ । यो भनेको विगतको श्रेणी छुट्टाएर गर्ने नतिजा फेल भए सरह हो ।

प्रतिक्रिया