Edukhabar
शनिबार, १२ साउन २०८१
खबर/फिचर

शिक्षा विधेयक पास गरे थप २० अर्ब लाग्ने

बजेटमै व्यवस्था गरिएको छैन भने भोली यो कानून लागू भयो भने गर्न सक्छौं कि सक्दैनौं ?

मंगलबार, २९ जेठ २०८१

काठमाडौं - संसदीय समितिमा छलफलकै क्रममा रहेको विद्यालय शिक्षा विधेयक पास गरेर कार्यान्वयनमा लैजाने हो भने थप २० अर्ब भन्दा बढि रकम लाग्ने समितिका सभापति अम्मरबहादुर थापाले दावी गरेका छन् । आगामी बर्षको बजेट माथि मंगलबारबाट शुरु भएको मन्त्रालयगत छलफलमा भाग लिदैं प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति थापाले उक्त आँकलन गरेका हुन् । 

'विद्यालय शिक्षा विधेयकको भावना बुझ्ने हो र पास गर्ने हो भने हामीलाई २० अर्ब भन्दा बढि लाग्छ, त्यति भयो भने व्यवस्थापन गर्न सकिएला' उनले प्रश्न गरे 'चालु अवस्थामै भएको बजेटमै व्यवस्था गरिएको छैन भने भोली यो कानून लागू भयो भने गर्न सक्छौं कि सक्दैनौं ?' 

शिक्षामा गौरब गर्नका लागि लगानी गर्न जरुरी रहेको बताउँदै कर्मकाण्डि रुपमा अघि बढाएर सम्भव नहुने उल्लेख गरे । कार्यक्रममा प्राथमिककीरण गर्ने तर बजेटमा प्राथमिकीकरण नगरिएको भन्दै नीति बनाउँदा आदर्शका कुरा गर्ने तर व्यवहारमा ध्यान नदिने क्रम रहेको बताउँदै उनले संविधानमा राखिएको मौलिक हकका कुरा व्यवहारमा ल्याउन सकिन्छ की सकिँदैन भन्ने ध्यान दिनु पर्ने बताए ।  

'व्यवहारमा नल्याउने कानून बनायौं भने अघि बढ्दैन' उनले भने । 

आगामी बर्षको बजेटमा शिक्षालाई २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन गरिएको छ । 

शिक्षा क्षेत्रमा बजेट नबढाएसम्म सुधार नहुने उनको बताउँदै उनले शिक्षण पेशालाई मर्यादित बनाउन राज्यले ध्यान नदिएका आरोप लगाए । कहिँ रोजगारी नपाए पछि बल्ल शिक्षक बन्ने वातावरण राज्यले गरेको उनको आरोप छ । 

'शिक्षक भएर देशमा सम्मानित व्यक्ति हुन्छु भन्ने भावना जगाउने तर्फ सरकारले ध्यान दिनु पर्छ' उनले भने 'फष्ट डिभिजन पास गरेका मान्छे माष्टर बन्छु भन्ने भावना कसरी जगाउने ?'

प्रतिक्रिया