Edukhabar
सोमबार, ३१ भदौ २०८१
खबर/फिचर

शिक्षकलाई सेवा प्रवेश तालिम अनिवार्य, प्रशिक्षक र पाठ्यक्रम तयारीमा मन्त्रालय

एक महिने सेवा प्रवेश तालिमको १५ दिन अवधि आमनेसामने, अनलाइन वा मिश्रित विधिबाट र बाँकी १५ दिन अवधि विद्यालयमा आधारित हुनेछ ।

आइतबार, ०९ भदौ २०८१

काठमाडौं - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकलाई सेवा प्रवेश तालिम दिने तयारी गरेको छ । लोकसेवा पास भएर सेवामा जानु अघि निजामती कर्मचारीलाई तालिम दिए जस्तै शिक्षकलाई पनि तालिम दिने अवधारणा मन्त्रालयले अघि सारेको हो । नवप्रवेशी शिक्षकले यो तालिम अनिवार्य रूपमा लिनुपर्ने गरी मन्त्रालय प्रशिक्षक र पाठ्यक्रम तयारीमा जुटेको छ ।  

शिक्षक सेवा आयोगबाट नियुक्तिका लागि सिफारिस भई पदस्थापनाका लागि पठाइएका नवप्रवेशी शिक्षकहरूलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट विकास गरिएको तालिम पाठ्यक्रममा आधारित भई एक महिनाको सेवा प्रवेश तालिम सञ्चालन गर्ने अवधारणा ल्याएको हो । एक महिने सेवा प्रवेश तालिमको १५ दिन अवधि आमनेसामने, अनलाइन वा मिश्रित विधिबाट र बाँकी १५ दिन अवधि विद्यालयमा आधारित हुनेछ । 

मन्त्रालयले यस बर्ष सेवाकालिन तालिम सञ्चालन गर्नको लागि ५० जना प्रशिक्षक तयार गर्न बजेट छुट्याएको छ । प्रशिक्षक तयार गर्न १८ लाख बजेट विनियोजन गरिएको छ । एक महिना सेवा प्रवेश तालिम सञ्चालनको लागि सात दिनको प्रशिक्षक प्रशिक्षण सञ्चानलन गर्ने योजना बनाएको छ । प्रदेश शिक्षा तालिम केन्द्रसँग समन्वय गरेर सहभागिको छनोट गर्ने तयारी मन्त्रालयको छ । त्यस्तै सेवाकालिन तालिम सञ्चालन र प्रशिक्षण सञ्चालनको छुट्टै पाठ्यक्रम बनाउन लागेको छ । राष्ट्रिय र अन्तराष्ट्रिय अभ्यास, शिक्षण सिकाइमा भएका नवप्रवर्तन, शिक्षक सक्षमता, प्रारुप र विद्यालय पाठ्यक्रमको बारेमा तालिममा सिकाउने लक्ष्य लिइएको छ । 

नयाँ बनाइने पाठ्यक्रम शैक्षिक जनशक्ति परिषद्बाट पारित गर्नु पर्ने हुन्छ । पाठ्यक्रम बनाउन मन्त्रालयले ६ लाख बजेट छुट्याएको छ । नवप्रवेशी शिक्षकहरूलाई पेशागत जिम्मेवारी, दायित्व र भूमिका प्रति सचेत गराई शिक्षण पेशा प्रति नवीन र सकारात्मक सोच विकास गर्ने, सिकाइ सहजीकरण सिप विकास गर्ने, अपाङ्गता भएका र विभिन्न सिकाइ आवश्यकता भएका बालबालिकाको विकास तथा सिकाइमा सहजीकरण गर्ने सिप विकासको कुरा तालिममा सिकाइने मन्त्रालयले जनाएको छ । 

सेवा प्रवेश तालिम प्रदेश शिक्षा तालिम केन्द्रबाट प्रदान गरिने भएको छ ।

फोटो : एआई 

प्रतिक्रिया