Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तर्वार्ता

दल आवद्ध शिक्षकलाई स्पष्टीकरण, चित्त बुझ्दो जवाफ नदिए कारवाही : जिशिअ नेपाल

विहीबार, २४ मंसिर २०७२

- ज्ञानमणी नेपाल, जिल्ला शिक्षा अधिकारी, लमजुङ्

- दुई बर्ष पाँचथरको जिशिअ हुँदा निकै चर्चामा आउनु भयो, लमजुङ सरुवा भएको २ महिना भयो, के पाउनु भयो यहाँको अवस्था ? 

लमजुङ्को शिक्षा अवस्था पुर्ण रुपमा सुध्रिसकेको छैन । तर अहिले देशव्यापी रुपमा देखिएको जस्तो धेरै विग्रेको पनि छैन यहाँ । अहिले नराम्रो भन्दा केही सुध्रिएको छ । लमजुङको शिक्षा अवस्था औषत खालको पाएँ ।

- पाचँथरमा छँदा नुमना विद्यालयका आधारणामा काम गर्नु भएको थियो । त्यो अवधारणलाई देशै भरी लैजानु पर्छ पनि भन्नुहुन्थ्यो, लमजुङमा पनि यस्तै केही नयाँ अवधारणा लागू गर्दै हुनुहुन्छ ? 

पाचँथरमा त्यसरी गर्दा सजिलो र सबैले हामी गर्न सक्छौँ भनेर लागेका थिए । केही विद्यालयहरुमा भएका सुधार र व्यवस्थापन अरु विद्यालयमा पनि गर्न सकिन्छ भन्ने उदाहरण हुन् ती । लमजुङमा म आएको दुई महिना मात्र भयो । बुझ्दै छु । केही राम्रा विद्यालय अनुगमन र त्यसलाई थप सुधार गर्नतिर ध्यान दिइरहेको छु । बाँकी हेर्दै जाउँ । के के गर्न सकिन्छ । निरन्तर लागि रहेपछि हुन्छ जस्तो लाग्छ । 

मुख्यतया म अहिले विभिन्न विद्यालयमा पुगेर त्यहाँको अवस्थाका बारेमा बुझिरहेको छु । विद्यालयमा शिक्षकहरुले नियमित पढाईरहेका छन् कि छैनन् ? सरसफाई कस्तो छ ? शिक्षक पुग अपुग ? व्यवस्थापन, शिक्षकको हाजिरी कस्तो छ ? यी बारेमा बुझ्दै छु । सकेसम्म अनियमित भएका शिक्षकलाई नियमित हुन भनिरहेको छु । मनोमानी रुपमा विद्यालय नआउने शिक्षकलाई तुरन्तै स्पष्टीकरण लिइरहेको छु । यसक्रममा अहिलेसम्म ६ जनासंग एक हप्ताको अल्टिेमेटम दिएर स्पष्टीकरण सोधेको छु । चित्त बुझ्दो जवाफ नदिए आवश्यक कारबाही गर्ने तयारीमा पनि छु ।

- को को हुन् तपाईले स्पष्टीकरण सोधेका शिक्षक ?

मैले स्पष्टीकरण सोधेको छु । अहिले नै नाम सार्वजनिक नगरौँ । प्राय राजनीतिक दलका भातृ संगठनमा आवद्ध शिक्षकहरु नै छन् ।

- राजनीति गर्ने शिक्षकका कारण सामुदायिक शिक्षा विर्गेको भनिन्छ, यहाँको अवस्था के पाउनु भो ? 

हो । केही रुपमा राजनीति हाबी भएको पनि हो । राष्ट्रिय राजनीति विग्रिएको अवस्थामा स्थानीय तहमा राजनीति हाबी हुने नै भयो । तर त्यो भन्दा पनि महत्वपूर्ण कुरा शिक्षामा नियमित अनुगमन, नियुक्तिमा दलीय भागबण्डाका साथै यो हाम्रो भन्ने भावना अलिकति हराएको हो । जसले जे गरेपनि हुने पढाए पनि हुने नपढाए पनि हुने जस्तो भइरहेको छ । यसैमा राजनीति घुसेको हो । त्यसैले यस्तो तत्वलाई सुधार्ने हो भने राजनीतिलाई विकास र सुधारमा लिन सकिन्छ । विकास र शैक्षिक सुधारका लागी राजनीति सकारात्मक हुनुपर्यो ।

- जिल्लाको समग्र शिक्षा सुधारमा तपाईले प्रक्रियागत रुपमा थप के कस्ता कदमहरु चाल्दै हुनुहुन्छ त ?

मैले त्यसरी खाका नै बनाएर त लागेको छैन । तर मुख्य गरी भएका कमी कमजोरी सुधार्ने, सबैलाई आ आफ्नो दायित्वप्रति जिम्मेवार बनाउने, जिम्मेवार नभएकालाई स्पष्टीकरण सोध्ने, कारबाही गर्ने, नियमित अनुगमनलाई बढाउने लगायतका काम गरिरहेको छु । त्यस बाहेक अहिलेसम्म व्यवस्थित विद्यालयलाई थप उत्कृष्ट बनाई नमुनाका रुपमा पेश गर्ने र त्यही अनुसारको वातावरण, अध्ययन अध्यापन, शिक्षण सिकाई, अनुशासन, आचार संहिता अन्य विद्यालयमा पनि लागु गर्ने योजना छ ।

- जिल्लामा आएपछि कतिओटा विद्यालयमा पुग्नु भयो ? त्यहाँको अवस्था कस्तो पाउनुभयो ?

सदरमुकाम बेसिशहर र आसपास गाविसका सबै विद्यालयमा पुगेको छु । केही विद्यालयहरु निकै टाढा छन् समय भएसम्म गुनासा आएसम्म ती विद्यालयमा पनि पुगेको छु । सामान्यतया विद्यालयमा मैले दुईओटा कुरा मुख्य पाएँ । एउटा विद्यार्थी पढ्न इच्छुक छ, तर वातावरण छैन । शिक्षक नियमित नआउने, नियमित नपढाउने, पढाए पनि विद्यार्थीलाई नजिक गएर बुझ्ने गरी पढाएको छैन । अर्को अनुगमन फितलो, विद्यार्थीले गुनासो गरेपनि त्यसको समाधान गरिएको छैन । सबैले लापरबाही गरेका छन् । अनि विद्यार्थी आत्मिय भएर पढ्न चाहेको छ । आफ्नो समस्या शिक्षकलाई सुनाउन चाहेको छ तर उसलाई त्यो मौका र वातावरण दिइएको छैन । मैले विद्यालयमा जादाँ हाकिम होइन साथी भन्छु । विद्यार्थी सबैसंग हात मिलाउछुँ । साथी भन्छु । अनि सबैले मलाई साथी भनेर बोलाउँछन् । यसरी साथी भन्दा उनीहरुले आफ्ना समस्या र अनुभवहरु मलाई निर्धक्क भन्ने गरेका छन् ।

मैले मेरो मोबाइल नम्बर र फेसबुक अकाउण्ट उनीहरुलाई शेयर गरेको छु । अनि भएका समस्या उनीहरुले मलाई भन्छन् । कुन शिक्षकले पढायो कुन शिक्षकले पढाएन ? मलाई सिधै एसएमएस गर्छन् । अनि मैले त्यस बारेमा बुझ्न र त्यो समस्या तत्कालै समाधान गर्न पनि सजिलो भएको छ । अहिलेको प्रविधिलाई पनि अनुगमनको पाटो बनाउदाँ अभिभावकहरुले पनि सजिलै आफ्नो सन्तानले पढ्ने विद्यालयको अवस्थाका बारेमा मलाई सोध्ने र भन्ने गरेका छन् । यसले मलाई हौसला त दिएको छ नै गल्ती गर्ने, विद्यार्थीको भविष्य माथी खेलबाड गर्ने शिक्षक र विद्यालयलाई समेत सचेत गराएको पाएको छु ।

- तर संस्थागत विद्यालयको तुलनामा सामुदायिक शिक्षा त खस्किरहेको छ । यसको मुख्य कारण के हो र सुधार कसरी गर्न सकिन्छ जस्तो लाग्छ ?

मुख्य कारण सबैले आ आफ्नो जिम्मेवारी पुरा नगरिदिएर हो । अभिभावक, शिक्षक, विद्यालय अनि हामी सबै । एउटैलाई दोष दिएर हुदैन । अहिले जसरी विद्यालय विग्रिएको छ,  त्यसलाई राम्रोसंग सुधार्न पनि सकिन्छ । शिक्षकले राम्रोसंग पढाईदिने हो, अभिभावकले पनि विद्यालय र विद्यार्थीको ख्याल गरिदिने हो र शिक्षालाई गम्भिर भएर निरन्तर उच्च प्राथमिकताका साथ निर्वाध चल्न दिने हो भने अहिले विग्रिएको विद्यालय सुधार्न गाह्रो छैन । सरकारी विद्यालयमा विद्यार्थीले आफुले चाहे जसरी पढ्न नसकेपछि अभिभावकले निजीमा विद्यार्थीलाई पढाएका हुन् । यो बाध्यता हो र देशभरी नै समस्या छ । यसलाई समाधान गर्न दुईओटा कुरामा ध्यान दिनुपर्छ । पहिलो कुरा सरकारी विद्यालयलाई पुर्ण रुपमा सुरक्षित, व्यवस्थित, नियमित र अहिलेको आवश्यकता बमोजिम बनाउनुपर्छ ।

विद्यार्थीलाई अनुशासनमा राखेर पढाउन अभिभावक, विद्यालय प्रशासन र शिक्षकले मेहनत त गर्नुपर्छ नै त्यसलाई नियमित अनुगमन पनि गर्नुपर्छ । यस अलावा अहिले मनोमानी बढेको छ । शिक्षाका सवांहकहरुले जागिरे प्रवृत्ति त्याग्नुपर्छ । १० देखि ५ बजेसम्मको जागिरे प्रवृत्तिलाई त्यागियो भने पनि यो धेरै हदसम्म समाधान हुन्छ । त्यससंगै सरकारी विद्यालयमा आफु शिक्षक हुने तर छोराछोरीलाई नीजिमा पढाउने शिक्षकलाई कडा निगरानीमा राख्नुपर्छ । आफ्नो छोराछोरी सरकारी विद्यालयमै पढाएर विद्यालय सुधार्नुपर्छ । यो नमान्नेलाई दुर्गम जिल्लामा सरुवा गरिदिनुपर्छ । यसको शुरुवात पनि म गर्दैछु । यी दुईओटा कुरालाई जोड दियो भने धेरै हदसम्म यो समस्याको समाधान हुन्छ ।

- तपाईले पटक पटक कारवाहिको कुरा गर्नु भयो, यो गर्न तपाईलाई कुनै चुनौती  छैन ?

राम्रो काम गर्दा चुनौति त भैहाल्छ । तर, भलाई हुने काममा आम मानिसहरुको समर्थन हुन्छ । र त्यो सहयोग अनि विश्वास जित्न सकियो भने सजिलै चुनौति पार लाग्छ । गल्ती गर्नेलाई सजाय दियो, अनियमिततालाई रोकियो, मेरो र तेरो नभनिकन हाम्रा लागी गरियो भने आफै निडर भईदोँ रहेछ । कसैले यो गर त्यो गर भन्नुपर्दैन । त्यसैले अन्य भन्दा केही फरक र निडर भएर गर्न सही कुरा जे हो, जुन हुनुपर्ने हो त्यो भएको छैन भने त्यसलाई तुरुन्तै गर्नुपर्छ ।

अनि कहाँ कहाँ गल्ती भएको छ त्यहाँ सच्चाउने हो । सायद यति गरियो भने चुनौति पार लाग्छ । सबैले त्यस कामलाई समर्थन गर्न थाल्छन् । आफुले मात्र काम गर्ने होइन सबैलाई काम गर्न उत्प्रेरणा जगाउने हो । बाध्य बनाएर भन्दा पनि रहर जगाएर काम गर्दा छिटो सफलता र परिणाम हात लाग्छ ।

प्रकाशित मिति २०७२ मंसिर २४ गते

प्रतिक्रिया