Edukhabar
आइतबार, १८ कार्तिक २०८१
खबर/फिचर

शिक्षकसँग पाठ्यक्रम कसरी सञ्चालन गरिन्छ ?

कक्षामा शिक्षकले भोग्ने समस्या सिधै पाठ्यक्रम विकास केन्द्रमा गुनासो गरेपछि विषय विज्ञसँग छलफल गरी सम्बोधन गर्ने कार्यक्रम अघि सारिएको हो ।

आइतबार, ११ कार्तिक २०८१

काठमाडौँ - शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले आफ्नो एक सय दिनको प्रगतिमा समावेश गरेको शिक्षकसँग पाठ्यक्रम कार्यक्रमको निर्देशिका स्वीकृत भएर कार्यान्वयनको चरणमा अघि बढाइएको छ । 

विद्यालय तहको पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्य सामाग्रीको उपयोग तथा विद्यार्थी मुल्याङकनमा शिक्षकलाई सहजीकरण गरी विद्यार्थीको सिकाइ स्तरमा एकरुपता कायम गर्न शिक्षकसँग पाठ्यक्रम कार्यक्रम अघि सारिएको छ । शिक्षकलाई प्राविधिक क्षमता प्रदान गरी विद्यार्थीको सिकाइ स्तर वृद्धि गर्ने यो कार्यक्रमको लक्ष्य छ । पाठ्यक्रम तथा पाठ्यसामाग्री निर्माण, विकास तथा अद्यावधिक कार्यक्रम शिक्षकहरूको सहभागिताबाट पाठ्यक्रम तथा पाठ्यसामग्रीमा सुधार गर्नको लागि यो कार्यक्रम अघि सारेको केन्द्रले जनाएको छ । 

यो कार्यक्रम कार्यान्वयन गर्न कार्यान्वयन कार्यविधि स्वीकृत गरिसकेको छ । शिक्षकको जिज्ञासा तथा पृष्ठपोषण संकलन गर्ने, सम्बन्धित विज्ञबाट सहजीकरण तथा छलफल गर्ने, स्थलगत रूपमा अन्तरक्रिया र छलफल सञ्चालन गर्ने कार्यक्रमको लक्ष्य छ । 

यो कार्यक्रमले पाठ्यक्रममा आधारित सिकाइ, पाठ्यपुस्तकको कार्यान्वयन, विद्यार्थी मैत्री व्यवहार र सिकाइ विधिको प्रयोग, सन्दर्भ तथा स्रोत सामाग्रीको प्रयोग, विद्यार्थी मुल्याङकन, सिकाइका मुल्याङकन, आन्तरिक र बाह्य मुल्याङकनको बारेमा शिक्षकलाई जानकारी दिने उद्देश्य लिइएको छ । त्यस्तै प्रयोगात्मक र परियोजना कार्य, नयाँ शिक्षण सिकाइको विधिको पक्षमा यो कार्यक्रमले सहयोग गर्ने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । 

शिक्षकलाई सहयोग गर्न केन्द्रले विषय विज्ञको व्यवस्था गर्ने प्रस्ताव गरिएको छ । पाठ्यक्रम तथा पाठ्यपुस्तक विज्ञहरूलाई नै यही कार्यक्रम कार्यान्वयनको लागि परिचालन गर्न सकिने भएको छ । त्यस्तै शिक्षकलाई सहायता प्रदान गरी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न केन्द्रका छुटै प्राविधिक सहायता कक्षको निर्देशिकामा प्रस्ताव गरेको छ । 

यो कार्यक्रम अनलाइन र अफलाइन दुवै तरिकाबाट सञ्चालन गर्न सकिने निर्देशिकामा उल्लेख छ ।

पाठ्यक्रम र पाठ्यपुस्तकको बारेमा शिक्षकले पाठ्यक्रम विकास केन्द्रको वेबसाइट, टेलिफोन र इमेलबाट जिज्ञासा राख्न सकिने व्यवस्था गरेको छ । त्यस्तै केन्द्रको सूचना अधिकारीलाई इमेल र टेलिफोनबाट सिधै फोन गर्न सकिने व्यवस्था पनि निर्देशिकामा राखिएको छ ।

शिक्षकले गरेको गुनासो संकलन गरी विषय क्षेत्र, कक्षागत, विषयगत छुटाइनेछ । त्यसपछि विषय विज्ञ मार्फत शिक्षकको जिज्ञासा पुरा गर्ने कार्यक्रमको लक्ष्य लिएको छ । 

पाठ्यक्रम, पाठ्यसामाग्री तथा मूल्याङ्कनको प्रभावकारी कार्यान्वयन गरी विद्यार्थी सिकाइको गुणस्तर एकरूपता र सान्दर्भिकता अभिवृद्धि गर्ने, शिक्षण सिकाइका क्षेत्रमा विकास भएका नयाँ खोज, अनुसन्धान, प्रविधि र प्रयोगबारे शिक्षकलाई प्राविधिक सहायकता प्रदान गरी शिक्षण विधि र सिकाई सुधार ल्याउन यो कार्यक्रम अघि सारेको केन्द्रले जनाएको छ । त्यस्तै अन्तर्राष्ट्रिय स्तरको मानक अनुसार सिकाई उपलब्धि हासिल गरी मुलुकभरको सिकाइ उपलब्धि वृद्धि गरी सिकाई स्तरमा समानता कायम गर्ने कार्यक्रमको उद्देश्य राखिएको छ । 

यो कार्यक्रम कार्यान्वयनलाई प्रभावकारिता बनाउन शिक्षा मन्त्रालयको सचिव संयोजक रहेको निर्देशक समिति रहने भएको छ । समितिमा मन्त्रालयका विद्यालय महाशाखाका सहसचिव, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक, नेपाल शिक्षक महासंघका अध्यक्ष रहनेछन् । कार्यक्रम सञ्चालन गर्न १० लाख बजेट बिनियोजन गरिएको छ । 

प्रतिक्रिया