Edukhabar
आइतबार, १३ माघ २०८१
खबर/फिचर

त्रिवि जग्गा खोजबिन  समितिले सिफारिस गरेकालाई कारबाही गरिने

समितिले अधुरै राखेको जग्गाको खोजी गर्न अर्को समिति गठन गर्ने

मंगलबार, ०२ पुस २०८१

काठमाडौं–प्रधानमन्त्री केपी ओलीले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन  समितिले अधुरै राखेको जग्गाको खोजी गर्न अर्को समिति गठन गर्ने बताएका छन् । 

विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन  समितिले सिफारिस गरे अनुसार कारबाही अगाडि बढाउने र अधुरै रहेको अनुसन्धान गर्न अर्को समिति बनाउने ओलीले बताएका हुन् । समितिले मंसिर १४ मा छानबिन सकेर तयार गरेको प्रतिवेदन मंगलबार प्रधानमन्त्री ओलीलाई बुझाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र विश्वविद्यालयका पदाधिकारीसहितको उपस्थितिमा आयोगका संयोजक महेन्द्र थापाले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई मंगलबार प्रतिवेदन बुझाएका हुन् । 

समितिले त्रिविको एक हजार रोपनी विभिन्न संघ संस्थालाई भोगचलन गर्न दिएको जानकारी प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेको छ । त्यस्तै ललितपुरको लुभुमा तीन सय ७५ रोपनी जग्गा पत्ता लागे पनि समय अभावले खोजीलाई पूर्णता दिन नसकेको जानकारी समितिले गराएको छ । नैकापको एक सय २५ रोपनी जग्गा त्रिविको भए पनि व्यक्तिले प्रयोग गरिरहेको प्रतिवेदनमा उल्लेख छ । 

सरकारले सारदा त्रितालको संयोजकत्वमा समिति बनाएको भए पनि त्रिताल बिरामी भएपछि महेन्द्र थापालाई संयोजक तोकिएको थियो ।  प्रतिवेदनले विसं २०१३ सालदेखिका त्रिविको कीर्तिपुर, नैकाप, लुभु लगायत  काठमाडौँ उपत्यकाका २१ क्याम्पसका जग्गाको अवस्था, दुरुपयोग र उपयोगका लागि समाधानका उपायहरूसमेत सुझाएको छ । समितिले जग्गाको दुरुपयोग भएका सम्बन्धमा अख्तियार दुरुपयोग आयोग र  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा लेखी पठाउन पनि सुझाव दिइएको छ ।
 

प्रतिक्रिया