पोखरा - अटिजम भएका बालबालिकाका लागि पोखरा महानगरपालिकाले नमूना विद्यालय स्थापना गरेको छ । महानगरपालिका - १७ स्थित महत गौंडामा रहेको जानकी माध्यमिक विद्यालय अन्र्तगत श्रोत कक्षा रहने गरी विद्यालय स्थापना गरिएको हो ।
गत बर्ष नगर कार्यपालिकाबाट कार्यविधि पारित गरी गत भदौ २२ गतेबाट उक्त नमूना विद्यालय शुरु गरिएको थियो । सोमबार एक कार्यक्रम बिच नगर प्रमुख धनराज आचार्यले विद्यालयको औपचारिक उद्घाटन गरेका छन् ।
महानगरका तर्फबाट एक जना फिजियोथेरापिष्ट, चार जना आया र चार जना कार्यालय सहयोगीका लागि मासिक तलब निकाशा हुँदै आएको छ । फिजियोथेरापिष्टलाई माध्यमिक तहको शिक्षकको तलब बराबर र अन्य आठ जनालाई नेपाल सरकारको स्केल अनुसार तलब हुने गरी महानगरले रकम उपलब्ध गराउँदै आएको शिक्षा अधिकृत रामप्रसाद तिवारीले बताए ।
अटिजम भएका ४० जना विद्यार्थीलाई भर्ना गरिएको छ । एक सय २० जनाको आवेदनबाट आवश्यकता र गम्भिरताका आधारमा ती ४० जना छनोट गरिएको विद्यालयका पूर्व अध्यक्ष हरी बास्तोलाले जानकारी दिए ।
अटिजम भनेको रोग नभई अवस्था हो भन्ने समाज र राज्यलाई बुझाउन निकै कठिन भएको बताउँदै उनले विद्यालय स्थापना भए पछि त्यस्ता बालबालिकालाई सहज हुने विश्वास पनि व्यक्त गरे ।
संघीय सरकारले त्यस्ता बालबालिकाका लागि यसै आर्थिक बर्ष भित्र सातै प्रदेशमा एक-एक नमूना विद्यालय स्थापना गर्ने घोषणा गरेको छ । विश्व अटिजम सचेतना दिवसको अवसर पारेर तीन महिना अघि तत्कालिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त नीति सार्वजनिक गरेको थियो ।
अटिजम भएका बालकालिकाका लागि स्थापना गरिने नमूना विद्यालय स्थापना तथा सञ्चालन एवं व्यवस्थापन गर्ने सन्दर्भमा अवधारणापत्र तयारीका लागि शिक्षा मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक रोशन श्रेष्ठको संयोजकत्वमा विज्ञहरू सम्मिलित ६ सदस्यीय प्राविधिक समिति गठन गरेको थियो । करिब तीन महिना लगाएर तयार प्रतिवेदन गत विहीबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई बुझाएको छ । प्रतिवेदन बुझ्दै मन्त्री पोखरेलले चाँडै कार्यान्वयनमा जाने बताएका थिए ।
सरकारले “अटिजम बेस्ड मोडल स्कुल” मा विशेष शैक्षिक पद्धति, प्रशिक्षित शिक्षक, मनोवैज्ञानिक सहयोग तथा बालमैत्री पूर्वाधारको व्यवस्था गरिने बताएको छ । त्यस्ता विद्यालयहरूले अटिजम भएका बालबालिकाको सिकाइ शैली अनुसार अनुकूल वातावरण प्रदान गर्ने योजना छ ।
नेपालमा हालसम्म अटिजम भएका व्यक्तिहरूको कुनै यकिन वा आधिकारिक राष्ट्रिय तथ्यांक छैन । राष्ट्रिय जनगणना वा अन्य सरकारी सर्वेक्षणहरूमा अटिजमलाई छुट्टै विधाका रूपमा विस्तृत रूपमा समेटिएको छैन जसले गर्दा यसको वास्तविक दर पहिचान हुन नसके पनि विश्वव्यापी प्रतिवेदनका आधारमा प्रत्येक ३६ बालबालिका मध्ये एक जनामा अटिजम स्पेक्ट्रम डिसअर्डर देखिने गरेको छ ।
हाल नेपालमा अटिजम भएका बालबालिकाका लागि पर्याप्त शैक्षिक संस्था र सेवा उपलब्ध छैनन् ।
प्रतिक्रिया