Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
सम्पादकीय

अक्षर ग्रेडिङ्को अलमल

बुधबार, ०८ पुस २०७२

८३ वर्षसम्म अंक ग्रेडिङ्मा चल्दै आएको कक्षा १० मा लिइने एसएलसी परीक्षाको नतिजा यस वर्षदेखि अक्षर ग्रेडिङ्मा बदलिएको छ । यसपाली एसएलसी दिने विद्यार्थीले आफ्नो लब्धांक पत्रमा अंकको साटो अक्षरमा आफ्नो मूल्यांकन पाउने छन् । वर्षौ अघि गर्नु पर्ने यो काम ढिलै भए पनि सुरुवात भएको छ र यो किन स्वागत योग्य कदम हो भने यसले कम्तीमा एसएलसीका कारण विद्यार्थीमा छाउने निरासपन, अपमानित मनोविज्ञान र आत्महत्याको सोचबाट जोगाउन प्रेरित गर्नेछ ।

अहिले सम्म विद्यालयको कुनै तहमा पनि यसको अभ्यास नगरी एकै पल्ट राष्ट्रिय परीक्षा मार्फत लागू गर्ने सरकारी निर्णयले भने शिक्षक, विद्यार्थी, अभिावक लगायत सरोकारवाला अन्यौलमा परेका छन् । अक्षर ग्रेडिङ्ले दुई खालको अन्यौल सिर्जना गरेको छ, एउटा नपढे पनि पास भइन्छ भन्ने र अर्को यसले सही मूल्यांकन गर्दैन भन्ने ।

दुवै अन्यौललाई चिर्न शिक्षा मन्त्रालयले माताहतका निकाय र सरोकारवालासित छलफल तत्काल थाल्नु पर्ने जरुरी देखिएको छ । प्रष्ट्याउने काम जति सक्दो छिटो भयो त्यसले लागू गर्न लागिएको नयाँ पद्दतीलाई थप मजबुद बनाउन सघाउने छ ।

तथ्यांक अनुसार संवत १९९० पछि अहिले सम्म नियमित तर्फ सहभागी ६२ लाख ४१ हजार २ सय ९० विद्यार्थी मध्ये २८ लाख ९ हजार ६ सय ४८ विद्यार्थी सित मात्रै पास भएको प्रमाणपत्र छ । आंशिक, पुरक र मौका परीक्षामा सहभागी समेतको तथ्यांक जोड्ने हो भने देशमा एसएलसी पासको संख्या करिब ३४ लाख देखिन्छ । यसरी हेर्दा नियमित तर्फ सहभागी भएका ३४ लाख ३१ हजार ६ सय ४२ विद्याथी एसएलसीमा असफलताको टीको लगाएर बसेका छन् । कुनै एक विषयमा अनुतीर्ण भएकाहरुले एसएलसी पास नभएकै कारण पाउनु पर्ने अवसरहरु गुमाएका छन् । अक्षर ग्रेडिंगले कम्तीमा यो बाधालाई फुकाएर विषय सक्षमहरुलाइ अवसर दिनेछ ।

विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) मा उल्लेख भए अनुसार विद्यालयको तहगत ढाँचाको परिवर्तन घोषणासँगै कक्षा १० मा एसएलसी नरहने पक्का पक्की थियो र शिक्षा मन्त्रालयले कक्षा १० को एसएलसीलाई अक्षर ग्रेडिंगमा लाने कुरा सन् २००९ मै घोषणा गरेको हो । त्यसअघि माध्यमिक शिक्षा परियोजनाले पनि अक्षर ग्रेडिङ्का लागि मन्त्रालयलाई सिफारिस गरेको थियो । तर त्यसको आन्तरिक तयारी भने शून्यमा सीमित भयो । प्राथमिक तहदेखिनै गर्नु पर्ने निरन्तर मूल्यांकन गर्न शिक्षा मन्त्रालय चुक्यो । मन्त्रालयले यसबारे सरोकारवाला सित कहीँ कतै कहिल्यै चर्चा समेत गरेन । परिणाम अहिलेको अन्यौल सिर्जना भयो ।

विद्यालयको तल्लो तह देखिनै विद्यार्थीको निरन्तर मूल्यांकनको अभ्यास सुरु गर्नु पर्ने थियो, भएन । लागू गरिएको निरन्तर मूल्यांकन पद्दती (क्यास) लाई बुझाउन नसक्दा त्यो ‘भर्ना भए पास’ पारामा चलिरहेको छ । अक्षर ग्रेडिङ् यस्तै निरन्तर मूल्यांकनहरुको अन्तिम रुप हो भन्ने शिक्षा मन्त्रालय र यससित सम्बन्धित निकायले कहिल्यै बुझेनन् । त्यसैले यसवर्षको उत्तरपुस्तिका परीक्षणमा अक्षर ग्रेडिङ्का विशेषता कार्यान्वयन हुने छैनन् । उही पुरानै अंग ग्रेडिङ् शैलीमा उत्तर पुस्तिकाको परीक्षण हुनेछ र त्यही अंकलाई अक्षरमा बदलेर विद्यार्थीको ग्रेडिङ् गरिनेछ । किन भने अक्षर ग्रेडिङ्मा कम्तीमा ६० प्रतिशत मूल्यांकन विद्यालयले आन्तरिक रुपमा निरन्तर मूल्यांकनका आधारमा गरेको हुनु पर्छ ।  तीन घण्टाको परीक्षालाई आधार मानेर अक्षर ग्रेडिङ् गर्ने हो भने यो सरासर गलत काम हो । अक्षर ग्रेडिङ् लागू भएकाले तत्काल तल्ला तहहरुमा निरन्तर मूल्यांकन र अक्षर ग्रेडिङ्को सुरुवात अबको आवश्यकता हो । यसमा जति चुकिन्छ, कक्षा १० को एसएलसीको अक्षर ग्रेडिङ् अंकलाई अक्षरमा फेर्ने काम मात्रै हुन्छ । त्यसको कुनै अर्थ रहँदैन ।

शिक्षक, विद्यलाय सञ्चालक, अभिभावक र विद्यार्थीले बुझ्नै पर्ने कुरा के हो भने अक्षर ग्रेडिङ् फेल नहुने मूल्यांकन पद्दती होइन । त्यही तहमा पढ्नु नपर्ने तर न्यूनतम ग्रेड कायम हुँदा त्यस पछिको अध्ययनलाई निरन्तरता दिन त्यति सजिलो छैन । यो पद्दती विद्यार्थीको सिकाइ र क्षमतालाई मूल्यांकन गर्ने पद्दती हो । त्यसैले कमजोर नतिजाका विद्यार्थी कमजोर नै हुन्छन् । अब्बलले जस्तो अवसर पक्कै पनि उनीहरुले पाउँदैनन् । तल्लो तहमा ग्रेड गरिएका विद्यार्थीका लागि कस्तो साधारण शिक्षाको अवसर प्रदान गर्न सकिन्छ राज्यले सोचेकै छैन । अहिलेको अक्षर ग्रेडिङ्को निर्णय हतार र अलमल अलमल बीच आएको छ । अलमल नचिरे सम्म यसले विद्यार्थीको सही मूल्यांकन गर्न सक्दैन ।

अबको चुनौति भनेको निरन्तर मूल्यांकनकै हो । शिक्षकलाई निरन्तर मूल्यांकनमा प्रोत्साहित नगरेसम्म त्यो सम्भव छैन । निरन्तर मूल्यांकन गर्दा शिक्षकको सक्रियता बढी जरुरी हुन्छ जुन हाम्रा विद्यालय र शिक्षकमा देखिँदैन ।

लागू त भइनै सक्यो, अब यसलाई कसरी प्रभावकारी बनाउने तिर शिक्षा मन्त्रालय लाग्नु जरुरी छ । विद्यार्थीको सिकाइ र क्षमता मूल्यांकन गरी अक्षर ग्रेडिंगको मर्म कायम राख्नु अवको चुनौति हो । ग्रेडिङ् भने पनि हामी अझै अंकमै सोचिरहेका छौं । अंकमा सोचुञ्जेल अक्षर ग्रेडिङ्को कुनै अर्थ रहँदैन । बरु अलमल कायम रहन्छ ।

मन्त्रालयले अक्षर ग्रेडका लागि आवश्कय पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण र मूल्यांकन शैली सुधार गर्दै लानु जरुरी छ । त्यही अनुसार सारोकारवालाहरुलाई अभिमुखीकरण गर्नुलाई मन्त्रालयले आफ्ना दायित्व सम्झिनु पर्छ । मात्रै अंकको नतिजा अक्षरमा बदलेर त्यो अक्षर ग्रेडिङ् हुन सक्दैन ।

अक्षर ग्रेडिङ्ले जन्माएका हरेक प्रश्नको जवाफ मन्त्रालयले दिनु पर्छ । जसले गर्दा अक्षर ग्रेडिङ्को निर्णय प्रत्युत्पादक नहोस् भन्नेमा मन्त्रालय समयमै सचेत रहेर अहिलेका सबै भ्रम र अलमल चिर्नु जरुरी छ ।

तस्विर ईन्टरनेट

प्रकाशित मिति २०७२ पुस ८ गते

प्रतिक्रिया