Edukhabar
आइतबार, २९ भदौ २०८२
अन्तैवाट

शिक्षा नीतिमा योग समावेश गर्ने !

शनिबार, ०२ माघ २०७२

काठमाडौँ, २ माघ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नयाँ शिक्षा नीतिमा राष्ट्रलाई समृद्धितर्फ लैजाने योग शिक्षा समावेश गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।  राजधानीमा शुक्रबार आयोजित प्रथम राष्ट्रिय योग दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने “योगलाई प्राविधिक ढङ्गले हेरेर पाठ्यक्रममा राख्नुपर्छ, योगको सही ज्ञान अर्को पुस्तालाई हस्तान्तरण गर्न पनि पाठ्यक्रम निर्माण गरेर अध्ययन अध्यापन आवश्यक छ ।” 

नेपाल हिमालको सौन्दर्य, जैविकखेतीबाट उत्पादित अन्न र जडबिुटी बेचेर धनी बन्न सक्ने भएकाले योग पर्यटन प्रवद्र्धन हुने गरी नीति निर्माण गरिनेमा पनि उनले जोड दिए ।

पूर्वमन्त्री तथा बरिष्ठ साहित्यकार डा मोदनाथ प्रश्रितले योगको जन्म भएको राष्ट्रमा पुनःजागरणका लागि मन्त्रालयले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए । “आयुर्वेदको ग्रन्थ संहितामा नेपालको हिमालय क्षेत्रमा २८ जना ऋषिले योग र आयुर्वेदका विषयमा अनुसन्धान गरेको उल्लेख छ, विश्वका जुनसुकै ठाउँमा हुने वृक्ष यहाँ पाइन्छ, योग र आयुर्वेद नेपालको सम्पत्ति भएकाले यसको संरक्षणमा नेपाल संस्कृत विश्वविद्यालयले प्राथमिकता दिनुपर्छ”– उनले भने । 

शिक्षा सचिव विश्वप्रकाश पण्डितले योगले काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य जस्ता तत्वलाई घोटेर सुक्ष्म पार्दै आत्मसँग साक्षात्कार गराउन सहयोग पु¥याउने बताए ।  शान्ति तथा पुनःनिर्माण मन्त्रालयका सचिव ईश्वरीप्रसाद पौडेलले योग विद्याको अभावमा हरेक क्षेत्रमा द्वन्द्व हुने गरेको बताए । 

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले स्वस्थ्य जीवनका लागि योग अपरिहार्य भएकाले माध्यमिक तहदेखि नै अनिवार्य विषयका रुपमा राखिनुपर्ने धारणा राखेका थिए । 

योग मिसन नेपालका प्रमुख डा. हरिप्रसाद पोखरेलले सरुवा रोग बाहेकका रोगबाट मुक्तिका लागि नियमित योग अभ्यास औषधि भएको बताए ।  यस्तै मन्त्रालयका सहसचिव डा हरिप्रसाद लम्साल, ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका उपाध्यक्ष रामसिंह ऐर, पतञ्जलि योग समितिका अध्यक्ष सालिकराम सिंह र केन्द्रीय प्रभारी लवदेव मिश्रलगायतले नेपालमा योग पर्यटनको प्रवद्र्धन गरी विश्वका योग सिक्न आउन चाहनेका लागि हिमाल र पहाडका बीच भागमा योग आश्रम, रिसोर्ट र ध्यान केन्द्रको स्थापना गरिनुपर्नेमा जोड दिएका थिए ।

रासस

प्रतिक्रिया