Edukhabar
आइतबार, २९ भदौ २०८२
अन्तैवाट

सूचना प्रविधिमा सघाउन जापान इच्छुक

बुधबार, ०६ माघ २०७२

काठमाडौँं, ७ माघ । जापानले नेपालको सूचना प्रबिधि तथा सञ्चार क्षेत्रमा सघाउने इच्छा व्यक्त गरेको छ ।  सूचना तथा सञ्चारमन्त्री शेरधन राईसँग उनकै कार्यकक्षमा बुधबार भएको शिष्टाचार भेटमा नेपालका लागि जापानका राजदूत मासासी ओगावाले नेपालको आवश्यकताअनुसार सूचना प्रविधिको क्षेत्रमा सघाउन जापान तत्पर रहेको बताए ।

भेटमा राजदूत ओगावाले जापानको सहयोग निरन्तर रहने र सञ्चार प्रविधिको विकासमा थप सहयोग गर्न जापान इच्छुक रहेको बताए ।  राजदूत ओगावाले नेपालमा जारी अघोषित नाकाबन्दी र इन्धन सङ्कटका कारण जापानले भूकम्प प्रभावित जनतालाई दिँदैआएको मानवीय र भौतिक सहायता कार्य प्रभावित भएको समेत उल्लेख गरे । 

राजदूत ओगावाले चाँडै नै नेपालमा सबै पक्ष सहमत भएर अहिलेको असहज अवस्था अन्त्य हुने विश्वास पनि व्यक्त गरेका थिए ।  मन्त्री राईले भूकम्पपछिको राहत, उद्धार र पुनःनिर्माणमा जापानले गरेको सहयोगको प्रशंसा गर्दै सञ्चार क्षेत्रमा जापानको सहयोग आवश्यक रहेको बताए । 

मन्त्री राईले मध्यपहाडी राजमार्गलाई अप्टिकल हाइवे बनाउने आफ्नो योजना सुनाउँदै भविष्यमा जापानसँग सहकार्य गर्न नेपाल सरकार इच्छुक रहेको बताए ।  बनेपा–बर्दिबास जोड्ने बिपी राजमार्ग निर्माण र अप्टिकल फाइबर बिछ्याउने काममा जापानको सहयोगको स्मरण गर्दै मन्त्री राईले भने, “जापानसँग दीर्घकालीन रुपमा सञ्चार प्रविधि सुदृढीकरण गर्ने काममा सहकार्य गर्न हामी तत्पर छौँ ।” 

बुधबार नै मन्त्री राईसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत चो योङ जीनले पनि शिष्टाचार भेट गरेका थिए ।

रासस 

 

प्रतिक्रिया