Edukhabar
आइतबार, २९ भदौ २०८२
अन्तैवाट

विद्यालय शिक्षालाई निःशुल्क गर्नुपर्नेमा जोड 

सोमबार, ११ माघ २०७२

काठमाडौँ, ११ माघ । विद्यालय शिक्षालाई निःशुल्क गर्नुपर्नेमा आइतबार  आयोजित कार्यक्रममा सरोकारवालाले जोड दिएका छन् ।  शिक्षा मन्त्रालय र शिक्षा पत्रकार सञ्जालको आयोजनामा विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) माथि भएको छलफलमा सरोकारवालाले विद्यालयस्तरदेखि नै प्राविधिक शिक्षालाई विस्तार र सुधार गर्दै लैजानुपर्ने बताए । 

नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष हरिभक्त शर्माले सम्पूर्णरुपमा विद्यालय शिक्षा निःशुल्क गर्नुपर्नेमा जोड दिँदै निजी क्षेत्रसँगको समन्वयमा विद्यालयस्तरमा व्यावसायिक विषयको अध्ययन गराउनुपर्ने सुझाव दिए ।  

नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य रञ्जित आचार्यले शिक्षा क्षेत्रमा गरिने लगानी सुरक्षित हुन्छ भन्नेमा सरकारले सुनिश्चित गर्नुपर्ने बताउँदै लगानी हुने विषयका लागि सरकारले छुट्टै बजेट छुट्याउनुपर्ने आवश्यकता औँल्याएका थिए ।  

नेपाल चेम्बर अफ कमर्सका सदस्य टीकाराम शर्माले सर्वप्रथम शिक्षा क्षेत्रलाई राजनीतिबाट पर राखिनुपर्ने बताउँदै शैक्षिक पात्रोलाई सोहीअनुसार परिमार्जन गरेमात्र शिक्षा क्षेत्रको विकास हुने बताए ।  

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) का अध्यक्ष लक्ष्यबहादुर केसी, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनका अध्यक्ष कर्णबहादुर शाही, उच्च मावि एसोसिएसनका उपाध्यक्ष रमेश सिलवाल, नेपाल अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीलगायतले विद्यालय क्षेत्र विकास कार्यक्रम लागू गरिँदा शिक्षा क्षेत्रमा कार्यरत निजी क्षेत्रलाई बेवास्ता गरिन नहुनेमा जोड दिए ।  

रासस 

 

प्रतिक्रिया