Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

एसएलसी सकेकै दिन थाह हुन्छ, गल्ति भए नभएको

विहीबार, २१ माघ २०७२

- श्रीधर पौडेल / एसएलसी दिने विद्यार्थीले आफूले भरेको व्यक्तिगत विवरण गल्ति भए नभएको परीक्षा सकेकै दिन थाह पाउने भएका छन् । यसका लागि परीक्षा नियन्त्रण कार्यालयले यो बर्ष एसएलसीमा सहभागि सबै विद्यार्थीको विवरण सहितको 'मेमो' उपलब्ध गराउने भएको छ । उक्त 'मेमो'मा विद्यार्थीको नाम, थर, जन्म मिति र परीक्षा दिने विषय उल्लेख गरिने छ ।

उदाहरणका लागि माथिको तस्विर हेर्नुहोस् ।

हरेक विद्यार्थीलाई परीक्षाको अन्तिम दिन उक्त 'मेमो' दिईने छ । उक्त विवरण र आफ्नो प्रवेश पत्रमा भएको विवरण बिच फरक परेमा विद्यार्थीले परीक्षा सकिएको १५ दिन भित्र सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा विवरण सच्याउनका लागि अनुरोध गर्न सक्नेछन् ।

जिल्ला शिक्षा कार्यालयले नियन्त्रण कार्यालयमा पठाएपछि विद्यार्थीको गलत विवरण केन्द्रबाट सच्चिने छ ।

यो ब्यवस्था पछि विवरण सच्याउनका लागि विद्यार्थीले बेहोर्ने झण्झट कम गर्न सघाउ पुग्ने अपेक्षा गरिएको नियन्त्रक खगेन्द्र नेपालले बताए । एसएलसीमा सहभागि विद्यार्थीको नामको हिज्जेमा (स्पेलिङ्) हुने गल्तिका कारण धेरै विद्यार्थीले हैरानी भोगेको देखेर यो ब्यवस्था गरेको उनले बताए ।

'नाम थर, जन्म मिति, विषय जस्ता कुरामा हुने गल्ति स्पेलिङ् सच्याउन दूर दराज देखि काठमाडौं धाउने विद्यार्थीको हैरानी देख्दा केही त सुधार गर्नै पर्छ भन्ने लागेर यो ब्यवस्था गरेका हौं' उनले भने, 'विद्यार्थीले परीक्षा फारममा भरेको विवरण यहाँ ईण्ट्रि हुँदा गल्ति भएको रहेछ भने बेलैमा थाह पाएर सुधारको मौका पाईने छ ।'

यो व्यवस्थाले विद्यार्थीको विवरण नमिलेकै कारण परीक्षाफल रोकिने क्रम समेत घटाउने अपेक्षा गरिएको छ ।

एसएलसीको तयारी

यस वर्ष एसएलसीमा ६ लाख १५ हजार हाराहारी विद्यार्थी सहभागि हुने अनुमान गरिए पनि अन्तिम तथ्याङ्क तयार भै नसकेको नेपालले बताए । परीक्षाका लागि देश भरी १ हजार ४ सय ४३ केन्द्र निर्धारण गरिएको छ । जस मध्ये सबै भन्दा धेरै काठमाडौंमा ९५ केन्द्र निर्धारण गरिएको छ भने सबै भन्दा कम मनाङ् र मुस्ताङ्मा एक एक केन्द्र निर्धारण गरिएको छ ।

यस अहिले सम्म ५० जिल्लामा एसएलसी परीक्षाका लागि आवश्यक कापि पुर्याई सकिएको र बाँकी जिल्लामा केही दिनमै पुर्याईने कार्यालयले जनाएको छ । परीक्षाका लागि आवश्यक सामाग्रीको ब्यवस्थापन गर्ने काम अन्तिम चरणमा पुगेको छ । प्रश्नपत्र छपाईको काम एक दुई दिनमै शुरु गर्ने योजना रहेको नियन्त्रक नेपालले बताए ।

प्रकाशित मिति २०७२ माघ २१ गते

प्रतिक्रिया