Edukhabar
आइतबार, ०६ जेठ २०८१
खबर/फिचर

शिक्षा आयोगबारे बहस : प्रधानमन्त्री भन्छन् नीति बनाउँदा नक्कल नगरौं

आइतबार, १६ फागुन २०७२

ललितपुर - प्रधानमन्त्री केपी शर्मा वलीले नेपालको शिक्षा नीति तय गर्दा अन्य देशको नक्कलबाट नगर्ने बताएका छन् । संघीय नेपालको नयाँ शिक्षा नीतिका लागि राष्ट्रिय शिक्षा आयोग विषयक शिक्षा मन्त्रालयद्धारा आयोजित राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै वलीले अरुको नक्कलबाट नभई देशको आवश्यकताका आधारमा नीति तय गर्नु पर्ने बताएका छन् ।

'शिक्षामा नक्कल थोपर्ने र नक्कल स्विकार्ने गर्दा नै समस्या भएको उनको निष्कर्ष छ । उहिले उहिले हामीलाई नक्कल थोपरियो, पछि पछि हामीले नक्कल स्विकार्यौं, नक्कल गर्नु हाम्रो आदत भईसक्यो, हाम्रो आवश्यकता भन्दा हामी अनुकरण मन पराउने भयौं ।' उनले भने 

अरुबाट सिक्नु पर्ने तर सिक्दा नक्कल गरेर भन्दा आवश्यकता अनुसार सिक्नु पर्ने उनको भनाई छ । 'मेरो जोडदार आग्रह छ यहाँहरुलाई सफल भएका देशबाट, उपलब्धि प्राीत गरेका ठाउँहरुबाट ठ्याम्मै नक्कल नगरौं, अनुकरण नगरौं अनुसरण गरौं ति सफलताका कुरालाई , हाम्रो आवश्यकता अनुसार' उनले भने, 'कुन कुन ढाँचा कुन कुन विधि प्रविधिबाट उहाँहरुले सफलता प्राप्त गर्नु भो त्यसको अनुसरण गरौं  तर हाम्रो देशको आवश्यकता अनुसार मौलिक ढंगले त्यसलाई अनुसरण गरौं नक्कल नगरौं ।'

जीवन उपयोगी शिक्षालाई बढावा दिनु पर्ने बताउँदै उनले शिक्षण संस्थालाई पसल जस्तो बनाउन रोक्नु पर्ने बताए । नाफामात्रै कमाउने उद्धेश्यबाट कमाउने ठाउँमा मात्रै खुल्ने शिक्षण संस्थालाई नाफा नहुने ठाउँमा पनि खोल्नु पर्ने गरी नीतिगत ब्यवस्था गर्नु पर्ने उनको भनाई थियो ।

देशलाई कुन कुन क्षेत्रमा के कस्तो जनशक्ति आवश्यक हो त्यसको निर्धारण गरेर त्यहि अनुसार नीति निर्माण गर्नु पर्ने पनि उनले बताए । प्रविधिको बढ्दो विकासले अहिले बनाएको नीति केही बर्षमै पुरानो कुन सक्ने तर्फ सजग रहन समेत आग्रह गर्दै वलीले कार्यशालाले संघीयताका सन्दर्भमा शिक्षाको स्पष्ट खाका तय गर्ने अपेक्षा गरेको पनि बताए ।

कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले ब्यवस्था बदलिएसँगै शिक्षाको  नीति के हुने भन्ने कुरा महत्वपूर्ण भएको बताउँदै जग देखि टुप्पो सम्म  पुर्ननंरचनाको माग गर्ने भएकोले विषय विज्ञहरुकै माझबाट नीति निर्माणको विधि शुरु गरेको बताए । समयसँगै शिक्षाका नीति र मान्यता बदलिनु पर्ने भए पनि लामो समय सम्म नेपालमा शिक्षाको नयाँ नीति तय हुन सकेको छैन । खास गरी ब्यवस्था बदलिए सँगै बदलिनु पर्ने शिक्षाका मुद्धालाई शिक्षा आयोग बनाएरै सम्बोधन गर्न भन्दै मन्त्रालयले सरोकारवालाहरुविच कार्यशालाको आयोजना गरेको हो ।

शिक्षा सचिव विश्वप्रकाश पण्डितले नीति निर्माण शिक्षा मन्त्रालयको एक्लो प्रयासले प्रभावकारी नहुने ठानेर सरोकारवालाहरु विचबाटै शुरु गरिएको बताए । राजनीतिक रुपमा प्रतिवद्धता नआईञ्जेल शिक्षामा सुधार नहुने भन्दै दल र तीनका नेताहरु शिक्षाका मुद्धामा स्पष्ट नहुञ्जेल नीति निर्माणले मात्रै खासै अर्थ नरहने उनको भनाई थियो ।

कार्यक्रममा शिक्षाविद्हरु, पेशागत क्षेत्रका प्रतिनिधि, शिक्षामा काम गर्ने राष्ट्रिय अन्र्तराष्ट्रिय संस्थाका प्रतिनिधि, पत्रकार, सरकारी निकायका प्रतिनिधि लगायतको उपस्थिती छ । उद्घाटन सत्र पछि भएको समूह विभाजनमा हुने विषयगत छलफल मन्त्रालयलाई बुझाईने छ ।

विभिन्न क्षेत्रका विषय विज्ञहरु सम्मिलित ४ समूहले तय गरेको अवधारणालाई नीति निर्माणमा समाबेश गर्ने अवधारणा बनाईएको शिक्षा विभागका महानिर्देशक खगराज बरालले बताए ।

प्रकाशित मिति २०७२ फागुन १६ गते

प्रतिक्रिया