Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

एसएलसीमा खटिनेको भत्ता बढ्यो

मंगलबार, १९ फागुन २०७१

भक्तपुर १९ फागुन / यस बर्षको एसएलसी परीक्षामा खटिने कर्मचारीको भत्ता बढेको छ । परीक्षामा खटिने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरिक्षक, सुरक्षाकर्मी र कार्यालय सहयोगीको भत्ता बढेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

दैनिक ५ सय भत्ता पाउने केन्द्राध्यक्षले यो बर्ष ८ सय रुपैंया पाउने छन् । यस्तै दैनिक ३ सय ५० पाउने सहायक केन्द्राध्यक्षले ५ सय, दैनिक २ सय पाउने नीरिक्षकले ३ सय ५०, दैनिक ५० रुपैंया पाउने सुरक्षाकर्मीले १ सय ५० रुपैंया र दैनिक १ सय पाउने कार्यालय सहयोगीले २ सय रुपैंया पाउने कार्यालयले जनाएको छ ।

समय सापेक्ष हिसाबमा भत्ता बृद्धि गरिएको नियन्त्रक विष्णुबहादुर द्धारेले बताए । ‘महँगी लगायतका कारणले भत्ता बढ्नु पर्ने माग उठिरहेको थियो, त्यहि कुरालाई सम्बोधन गरिएको हो’ उनले भने ।

कापी परिक्षणको भत्ता भने यस अघिनै बढाईसकिएको छ । प्रति कापी परिक्षणको १५ रुपैंया दिईदैँ आएकोमा यस बर्ष देखि २० रुपैंया र सम्परिक्षणको ४ बाट ५ रुपैंया पुर्याईएको छ । 

यस बर्षको एसएलसीका लागि निर्धारण गरिएको १ हजार ८ सय ६२ केन्द्रमा एक एक जना केन्द्राध्यक्ष, २ हजार ४ सय ४० जना सहायक केन्द्राध्यक्ष, २ हजार ३ सय १४ जना निरिक्षक, ७ हजार ६ सय ९९ जना कार्यालय सहायक, २७ हजार ९ सय ३० सुरक्षाकर्मी परिचालन गरिने उनले बताए ।

परीक्षाका सबै भन्दा धेरै काठमाडौंमा ९१ र सबै भन्दा थोरै मनाङ् र मुस्ताङ्मा एक एक वटा केन्द्र निर्धारण गरिएको छ ।
गत बर्ष १ हजार ८ सय ३६ केन्द्र थियो । विद्यार्थी संख्या बढेकाले केन्द्र थप भएको बताउँदै द्धारेले यस बर्ष हरेक केन्द्रमा १५ जना सुरक्षाकर्मी परिचालन गरिने बताए । गत बर्ष एउटा केन्द्रमा १० सुरक्षाकर्मीको ब्यवस्था गरिएको थियो । 

परीक्षामा नियमित र आशिंक गरी ५ लाख ७४ हजार ६ सय ८५ विद्यार्थी सहभागि हुदैँछन । नियमित तर्फ ४ लाख २६ हजार २ सय १४ र एक्जाम्टेड तर्फ १ लाख ४५ हजार १ सय ८३ विद्यार्थी सहभागि हुने कार्यालयले जनाएको छ ।

मनाङ्मा सबै भन्दा थोरै ७४ जना र सबै भन्दा धेरै काठमाण्डौंमा ३४ हजार ५ सय ८७ विद्यार्थीले एसएलसी दिदैं छन् । यस बर्षबाट शुरु भएको प्राविधिक धार तर्फ ३ हजार २ सय ८८ विद्यार्थी सहभागि हुँदैछन् ।

प्रतिक्रिया