Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

मुसलमान र दलितलाई निःशुल्क प्राविधिक शिक्षा

आइतबार, १७ फागुन २०७१

भक्तपुर १७ फागुन / सरकारले कर्णालीका दलित र देशभरका चेपाङलाई यस बर्ष निःशुल्क प्राविधिक शिक्षा प्रदान गर्ने भएको छ । बिगतमा तराईका बिपन्न र पिछडिएका छात्र छात्रालाई मात्रै निःशुल्क पढाउदै आएकोमा यो बर्ष कर्णाली अञ्चलका एसएलसी पास गरेका दलित, नेपाल भरका चेपाङ, अनी लोपोन्मुख जातिका छात्र छात्रालाई तथा तराईका नवलपरासी र कञ्चनपुर जिल्लाका दलित र विपन्न मुसलमान छात्राहरुलाई सित्तैमा पढ्न पाउने गरी बिशेष कार्यक्रम थप भएको हो ।

गत बर्ष करिब ८ सय जनालाई पढाएकोमा यस बर्ष थप चार सय जनालाई पढाउन लागेको प्राविधिक शिक्षाा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) का सदस्य सचिव डा. रामहरी लामिछानेले बताए । यस बर्षका लागि विद्यार्थी छनौट प्रक्रिया सुरु गरिसकेको उनले बताए ।

बिशेष कार्यक्रममा छनौट भएका विद्यार्थीले नर्सिङ, समान्य चिकित्सा, सिभिल इन्जिनियरिङ विषयमा निःशुल्क अध्ययनको अवसर दिएको छ ।
विगतमा यो कार्यक्रम सुरु भएका जिल्लामा यथावत् हुने सीटीईभीटीले जनाएको छ । पिछडिएका वर्ग र समुदायका जनताको पहुँच विस्तार र वृद्घि गर्न दलित र मुस्लिम समुदायका बालबालिकाका लागि परिषद्ले आर्थिक वर्ष ०६६/६७ देखि विशेष कार्यक्रम सुरु गरेको हो । पहिलो वर्षमा तराईका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीको दलित, मस्लिम छात्राहरूलाई स्वास्थ्य तर्फ स्टाफ नर्स र अनमी, कृषितर्फ जेटीए र निर्माणतर्फ सिभिल सब ओभरसियर विषयमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

यो कार्यक्रमलाई सरकारले आर्थिक वर्ष ०६७/६८ देखि कपिलवस्तु र बाँकेमा समेत विस्तार ग¥यो । ०६८/०६९ देखि मोरङ र बर्दियामा ०७०/७१ मा सुनसरी र रुपन्देहीमा समेत विस्तार गरी दलित र मुसलमान छात्रालाई समेत समेटिएको थियो । यस वर्ष नवलपरासी र कञ्चनपुर समेटिएका हुन् ।

यो कार्यक्रममा अध्ययन गर्ने विद्यार्थीले छनौट हुन लिखित परीक्षामा ३२ प्रतिशत ल्याउनुपर्ने हुन्छ । स्टार्फ नर्स अध्ययन गर्न एसएलसीमा ४५ प्रतिशत ल्याएको हुनपर्छ । विपन्नका लागि गाविस, नगरपालिका वा गरिबी निवारण कोषको सिफारिस पेस गर्नुपर्ने व्यवस्था छ ।

विशेष कार्यक्रममा छनौट भएका विद्यार्थीले मासिक ३ हजार ५ सय भत्ता पाउँछन् । अध्ययन अवधि भर ३ हजार यातायात खर्च र पोसाक खर्च पनि पाउने व्यवस्था छ । विशेष कार्यक्रमबाट ३ हजार भन्दा बढीले अवसर पाइसकेको लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया