Edukhabar
मंगलबार, ०४ बैशाख २०८१
खबर/फिचर

अख्तियारमा कसले कति तिरे ? (विवरण सहित)

बुधबार, १३ फागुन २०७१

काठमाडौं १३ फागुन / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा क्षेत्रमा भएको अनियमितताको छानविन गरी झण्डै एक करोड रुपैंया असुल उपर गराएको छ । अनियमित तवरमा भुक्तानी लिएको रकम फिर्ता गरी दाखिला गरेको अख्तियारले जनाएको छ ।

असुल उपर गराएको रकममा घटिमा १ हजार देखि बढिमा १९ लाख रुपैंया सम्म रहेको छ । यसमा भ्रमण भत्ता देखि भौतिक निर्माण र खरिद बिक्रिको हिस्सा समेत रहेको अख्तियारले जनाएको छ ।

आर्थिक बर्ष २०७०/ ७१ को अख्तियारको बार्षिक प्रतिबेदनमा यसरी असुल उपर गर्ने निकायमा अख्तियारको क्षेत्रीय कार्यालय हेटौंडा, कृषि विकास बँैक, गृह मन्त्रालय, भूमिसुधार तथा ब्यवस्था मन्त्रालय, महिला बालवालिका ताथा समाज कल्याण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा भू संरक्षण मन्त्रालय, सिंचाई मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहेको अख्तियारले जनाएको छ ।

सबै भन्दा धेरै शिक्षा मन्त्रालयको १८ शिर्षकमा असुल उपर गराएको उल्लेख छ । यसरी असुल उपर गरिएको कूल रकम ९८ लाख ८ हजार ५१ रुपैंया ५८ पैसा रहेको छ । उक्त आर्थिक बर्षमा शिक्षा मन्त्रालय सहित ११ वटा निकायबाट असुल उपर गरिएको प्रतिबेदनमा उल्लेख छ । शिक्षा पछि सबै भन्दा धेरै १६ शिर्षकमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट असल उपर गरिएको अख्तियारको प्रतिबेदनमा उल्लेख छ ।   

असुल उपर गराएको मध्ये सबै भन्दा कम रकम सिरहाका  कायम मुकायम जिल्ला शिक्षा अधिकारी कुमारी अम्बिका साहको नाममा १ हजार रुपैंया रहेको छ । तेनुवापट्टीको श्री शंकर प्राथमिक विद्यालय झोले विद्यालय रहेको र उक्त विद्यालयको नाममा रकम निकासा गरेको भन्दै अख्तियारले 
उक्त सरकारी रकम भरिभराउ गर्न लगाएको हो ।

यसैगरी उक्त आवमा सबै भन्दा धेरै १९ लाख ५८ हजार ३ सय ५७ रुपैंया असुल उपर गराएको प्रतिबेदनमा छ । उक्त रकम धनुषा जिल्लास्थित क्षीरेश्वर जनता उच्च मा.वि., सखुवा, महेन्द्रनगमा गुदरी बजार र मवेशी बजारको ठेक्का लगाउने काममा भएको अनियमितताबाट असुल उपर गराईएको हो ।

१४ परिच्छेदमा तयार भएको अख्तियारको प्रतिबेदनको परिच्छेद ८ मा असुल उपर उल्लेख गरिएको छ । उक्त परिच्छेदमा ‘सार्वजनिक पद धारण गरेको व्यक्तिले अनुचित कार्य गरी नेपाल सरकार वा सार्वजनिक संस्थालाई हानि, नोक्सानी पु¥याएकोमा त्यस्तो हानि, नोक्सानी सम्बन्धित व्यक्तिबाट भरिभराउ गर्न वा आयोगले उपयुक्त ठानेको अन्य आवश्यक कारबाही गर्नका लागि सम्बन्धित निकाय वा अधिकारीलाई लेखी पठाउन सक्ने व्यवस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १२क. मा भए अनुरूप आर्थिक वर्ष २०७०।७१ मा आयोगबाट निम्न बमोजिम गर्ने गरी अख्तियारवालाहरूलाई लेखी पठाइएको छ ।’ उल्लेख छ ।

अख्तियारले असुल उपर गराएको बिवरण जस्ताको त्यस्तै

८.    शिक्षा मन्त्रालय अन्तर्गत

८.१    त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नुवाकोट आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भरतराज अधिकारीले आ.व.२०६७।६८ मा भवन निर्माण (तला थप), स्मारिका प्रकाशन, वार्षिक उत्सव समारोह व्यवस्थापन, परीक्षा संचालन, अभ्यास शिक्षण पुस्तिका छपाइ, खेलकुद सामान खरिद आदि जस्ता विषयहरूमा अनियमित किसिमले खर्च गरेको भन्ने समेतकोे सम्बन्धमा अनुसन्धान हुँदा क्याम्पसको आ.व. २०६७।६८ को लेखापरीक्षण प्रतिवेदनमा विभिन्न ३३ (तेत्तीस) थान नगदी रसिदको हुने रकम रु.८१,५००।– आम्दानी नबाँधिएको भन्ने उल्लेख भएको सन्दर्भमा उक्त रकम नगदी रसिद काट्ने लेखा अधिकृत भगवानराज श्रेष्ठबाट असुल उपर गरी तीन महिनाभित्र जानकारी दिन आयोगको मिति २०७०।४।११ को निर्णयानुसार क्याम्पस व्यवस्थापन समितिलाई लेखी पठाइएको  ।

८.२    उच्च माध्यमिक शिक्षा परिषद् क्षेत्रीय सम्पर्क कार्यालय, पोखराबाट आ.व. २०६८।६९ मा छात्रवृत्ति वितरण गर्ने कार्य गर्दा अनियमितता भएको भनी राष्ट्रिय पत्र पत्रिकामा प्रकाशित समाचारका साथै छात्रवृत्ति अभिभावक समूहले आयोगमा दिएको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा कार्यालय प्रमुखसँगको मिलोमतोमा (क) परीक्षा सामग्री ढुवानी गर्दा रोडा, ढुंगा, बालुवाको काम गर्ने फर्मसँग सार्वजनिक खरिद ऐन, २०६३ र तत् सम्बन्धी नियमावली, २०६४ मा उल्लेखित प्रावधान अनुसारका प्रक्रिया र विधिहरू पालना नगरी सम्झौता गरी खर्च गर्ने कार्यमा संलग्न लेखा सहायक ज्ञानु दाहाल र नक्कली सुरक्षाकर्मी खडा गरी दैनिक भ्रमण भत्ता बापत सोधभर्ना लिने प्रशासन सहायक पुष्प आचार्यबाट गैरकानुनी रूपमा लिएको रकम रु.८,५००।– को भ्रमण खर्च नियमावली, २०६४ को नियम २३ अनुसार भुक्तानी लिएको रकमको दोब्बर रकम असुल उपर गर्न आयोगको मिति २०७०।४।१७ को निर्णयानुसार उच्च माध्यमिक शिक्षा परिषद्, सानोठिमी, भक्तपुरलाई लेखी पठाइएको ।

८.३    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा ःच्क्ष् मेसिन लगायतका उपकरणहरू खरिदमा अनियमितता भएको भन्ने समेत उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा ःच्क्ष् मेसिन खरिद सम्बन्धी बोलपत्रमा भन्सार महसुल बाहेक नेपालभित्र र बाहिर लाग्ने अन्य कुनै पनि प्रकारका कर तथा शुल्कहरू त्रि.वि. शिक्षण अस्पतालले नै व्यहोर्ने भन्ने सर्त रहेको तर कन्टेनर÷भेइकल डिटेन्सन चार्ज बापत रु.३,४८,५९२।– समेत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले खर्च लेखेको देखिन अयो । उक्तानुसार कन्टेनर÷भेइकल डिटेन्सन चार्ज लाग्ने अवस्था सिर्जना हुनुको औचित्य नखुल्नुका साथै उक्त चार्ज शिक्षण अस्पतालले व्यहोर्नुपर्ने कारण स्पष्ट हुन सकेको देखिएन । तसर्थ उक्तानुसारको खर्च लेखिएको रकम रु. ३,४८,५९२।–  खर्च लेख्ने पदाधिकारीहरू तत्कालीन कार्यकारी निर्देशक केशवबहादुर सिंह र आर्थिक प्रशासन प्रमुख टहलबहादुर खड्काबाट भरिभराउ गरी अस्पतालको खातामा दाखिला गर्ने व्यवस्था गर्न आयोगको मिति २०७०।५।११ को निर्णयानुसार त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रारलाई लेखी पठाइएको ।

८.४    सरस्वती उच्च माध्यमिक विद्यालय जयगढ, अछामको भवन २०६७ सालमै निर्माण सम्पत्र गराउने गरी शान्ति मन्त्रालयबाट रु.१५ लाख प्राप्त भएकोमा हालसम्म पनि सम्पत्र नभएको, जि.शि.का.अछामबाट २ कोठे ब्लक बनाउने गरी रु.८,२५,०००।– प्राप्त भएकोमा हालसम्म पनि सो पूरा हुन नसकेको, २ कोठे शौचालय निर्माणका लागि जिल्ला शिक्षा कार्यालय अछाम समेतको सहयोगमा रु.२ लाख प्राप्त भएकोमा मापदण्ड अनुसार निर्माण नभएको हुनाले भ्रष्टाचार र अनियमितता सम्बन्धमा कारबाही गरी नेपाल सरकार र अन्य गैरसरकारी संस्थाका तर्फबाट पाउने योजना तथा अनुदान समेत रोक्का गरी पाउ“ भन्ने समेतका सम्बन्धमा अनुसन्धान हुँदा चार कोठे भवन निर्माणका लागि आएको रु.८,२५,०००।– समेत विद्यालयको खातामा जम्मा भई सोबाट विद्यालयका प्रधानाध्यापकले ठेकेदार हिमकर्ण साउदलाई सार्वजनिक खरिद ऐनको प्रावधान विपरीत  रु.६,४५,०००।– पेश्की दिएको र ठेकेदारले सो कार्य सम्पत्र नगरी जम्मा रु १,४६,३३३।– बराबरको मात्र काम गरी छाडेकोमा निजले पेश्की स्वरूप लिई निजले गरेको कामको मूल्यांकन गरी बढी हुन आउने रु.४,९८,६६७।– निजबाट भरिभराउ गर्न आयोगको मिति २०७०।६।१४ को निर्णयानुसार विद्यालयका प्रधानाध्यापक झपटसिंह रावल र विद्यालय व्यवस्थापन समितिलाई लेखी सो कार्यमा सहयोग गरिदिन जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय, अछाम समेतलाई सुझाव दिइएको  ।

८.५    काठमाडौं जिल्ला अन्तर्गत क्षेत्रपाटीमा रहेको जुद्धोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यराज शाक्यले नियम विपरीत शिक्षक नियुक्ति गरेको एवं व्यवस्थापन समितिको गठन गरेको, अवकाशपछि पनि व्यवस्थापक प्रमुख भई मासिक चालीस हजार भत्ता नियम विपरीत खाएको, विद्यालयको एऋँ कोटामा शिक्षक भर्ना नगरी रकम हिनामिना गरेको, विद्यालयको भाडा रकम हिनामिना गरेको भन्ने समेतको सम्बन्धमा अनुसन्धान हुँदा जुद्धोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक पदमा कार्यरत सूर्यराज शाक्य मिति २०६८।७।१३ गतेबाट मा.वि.द्वितीय श्रेणीको पदबाट अनिवार्य अवकाश पाई नियमानुसार पाउने निवृत्तिभरण खाइआएकोमा विद्यालय व्यवस्थापन समितिको सदस्यमा आपूm समेत सदस्यको रूपमा बसी मिति २०६८।६।९ र २०६८।१०।२५ को निर्णयले क्रमशः प्रधानाध्यापक र व्यवस्थापक प्रमुखमा नियुक्त भई रु.३९,०००।– तलब पाउने गरी कामकाज गरेबाट निजको नियत गलत रहेको देखिन आयो । निजको सम्बन्धमा आयोगबाट अनुसन्धान सुरु भएपछि निजले मिति २०७०।४।१६ बाट लागू हुने गरी राजीनामा दिएकोमा मिति २०७०।४।१७ गतेबाट राजीनामा स्वीकृत भएको विद्यालयको मिति २०७०।४।२३ को पत्रबाट देखिएको छ । निजले विद्यालयबाट तलब बापत प्रतिमहिना रु.३९,०००।– का दरले मिति २०६८।७।१४ गतेदेखि मिति २०७०।४।१६ गतेसम्म १ वर्ष ९ महिनासम्मको हुन आउने रकम रु.८,१९,०००।– बुझिलिएको देखिन्छ । उक्त अवधिमा निजले प्राप्त गर्ने मा.वि.द्वितीय श्रेणीको तलब स्केल रु.२१२७५।– रहेको र सो अवधिभित्र निजले रु.४४६७७५।– पाउनुपर्नेमा तोकिए भन्दा बढी रकम बुझेको देखिंदा निजले पाउने खुद रकममा बढी बुझेकोे रकम घटाउँदा रु.३,७२,२२५।– बढी रकम बुझेको देखिन आएकोले बढी बुझेको रकम रु.३,७२,२२५।– एक महिनाभित्र पूर्व प्र.अ. सूर्यराज शाक्यबाट भरिभराउ गर्न आयोगको मिति २०७०।६।१५ को निर्णयानुसार जिल्ला शिक्षा कार्यालय, काठमाडौंलाई लेखी पठाइएको ।

८.६    उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमी भक्तपुर सम्बन्धन शाखाका सह–सचिव देवीप्रसाद बारकोटीले पदको दुरुपयोग गरी परीक्षा नियन्त्रक हुँदा भारतमा प्रश्नपत्र छपाएर करोडौं भ्रष्टाचार गरेको भन्ने सम्बन्धमा अनुसन्धान हुँदा मिति २०६६ सालको कक्षा ११ को मौका परीक्षाको प्रश्नपत्र छपाइका लागि रु.४ लाखको ड्राफ्ट प्रेम प्रिन्टिङ प्रेस नयाँदिल्ली भारतको नाममा र ४० हजार टि.एम.पी. छपाइ गरी ल्याउने कार्यका लागि रु.१४,२०,८००।– प्रेम प्रिन्टिङ प्रेस लखनऊ भारतको नाममा ड्राफ्ट बनाई मिति २०६६।८।१५ मा रु.१९,००,८००।– पेश्की बुझेकोमा निज देवीप्रसाद बारकोटीले बैंक ड्राफ्ट बाहेक प्रेम प्रिन्टिङ प्रेस लखनऊलाई थप भा. रु.२६,००२।२० (बराबर ने.रु.४१,६०३।–) र न्युदिल्लीलाई भा. रु.८९८६।५० (बराबर ने.रु. १४,३७८।–) गरी जम्मा नगद भा.रु. ३४,९८९।–(बराबर ने.रु. ५५,९८१।–) समेत भुक्तानी गरेको बिल भरपाइ संलग्न गरी पेश्की फछ्र्यौट गरेको देखिन आयो ।

यसैगरी मिति २०६७।१।१६ गतेदेखि जेठ ११ गतेसम्म संचालित कक्षा १२ र ११ को परीक्षाको प्रश्नपत्रको छपाइ कार्यका लागि निज देवीप्रसाद बारकोटीले मिति २०६६।१२।३ मा रु. १ करोड १० लाख रुपैयाँ समेत गरी जम्मा रु.१,२५,९८,०००।– पेश्की बुझेको देखिन आयो भने दै.भ्र.भ. बापत रु. ३,१४,५९३।७५, भन्सार महसुल बापत रु.१,००,८९०।– र अन्य बैंक कमिसन, नेपालगन्जबाट गाडी ढुवानी, प्रेम प्रिन्टिङ प्रेसलाई बैंक ड्राफ्टबाट भा. रु.७४,४०,०००।– र नगद भा. रु.२,८५,८८५।– गरी जम्मा भा.रु.७७,२५,८८५।– बराबरको ने.रु.१,२३,६१,४१६।– लगायत समेत गरी जम्मा रु.१,२८,२६,७४३।७५ खर्च देखाई रु.२,२५,२६३।७५ सोधभर्ना बापत बुझी मिति २०६७।६।४ मा निजले पेश्की फछ्र्यौट गरेकोमा आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ७६ बमोजिम पेश्की फछ्र्यौट भएको अवस्था देखिन आएन ।

तसर्थ प्रश्नपत्रको छपाइ कार्य गर्ने प्रेम प्रिन्टिङ प्रेसलाई ड्राफ्ट मार्फत भुक्तानी दिए पनि सामान डेलिभरी हुने सोही दिन भा.रु.२,८५,८८५।– (बराबर ने.रु.४,५७,४१६।–) नगद भुक्तानी गरेको सम्बन्धमा नगद भुक्तानी गरिएको विदेशी मुद्रा भा.रु.को सटही पुष्टि हुन सकेको देखिएन भने निज देवीप्रसाद बारकोटीले त्यस्ता नगदै बुझाइएका भनिएका रकमहरू भा.रु.मा नै नबुझाई सम्बन्धित पार्टी नेपाल आएको बेलामा ने.रु. नै बुझाएको हो, तत्काल सामान डेलिभरी गर्ने समयमा बुझाइएको होइन भनी आयोग समक्ष उल्लेख गरिदिए अनुसार थप भुक्तानी गरिएको भनिएको ने.रु. भुक्तानीको पुष्टिका कागजात पेश हुन सकेको देखिन आएन । यसरी भारतीय नगद रुपैयाँ बुझाएको भनिएका संलग्न रसिद बमोजिमका रकम भा.रु.३४,९८९।– र भा.रु.२,८५,८८५।– गरी जम्मा भा.रु.३,२०,८७४।– बराबर ने.रु. ५,१३,३९८।– निज देवीप्रसाद बारकोटीले जानी जानी लापरबाहीका साथ कुनै निर्णय वा आदेश गर्दा बाध्यात्मक रूपले अपनाउनुपर्ने कार्यविधिको पालना नगरी आपूmलाई प्राप्त अधिकार अर्कै उद्देश्य वा कार्यमा प्रयोग गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ को उपदफा (ख) र (ग) द्वारा परिभाषित अनुचित कार्य गरेको देखिएकोले रीतपूर्वक भुक्तानी नगरी पेश्की फछ्र्यौट प्रयोजनार्थ मात्र कागजातहरू संलग्न गरेको कार्यबाट सम्बन्धित पार्टीलाई भुक्तानी नगरिएको बिल भरपाई पेश गरिएको देखिँदा उक्त बिल भरपाइबाट भएको पेश्की फछ्र्यौटलाई नियमसम्मत मान्न नमिल्ने हुँदा सम्बन्धित पार्टीलाई भुक्तानी नगरिएको ने.रु.५,१३,३९८।– निज देवीप्रसाद बारकोटीबाट भरिभराउ गर्न आयोगको मिति २०७०।९।४ को निर्णयानुसार शिक्षा मन्त्रालयलाई लेखी पठाइएको ।

८.७    त्रिभुवन आदर्श उच्च माध्यमिक विद्यालयको नाममा धनुषा जिल्ला विन्धी गा.वि.स.–६ मा रहेको पोखरी अतिक्रमण गरेको, विद्यालयको शौचालय निर्माणमा अनियमितता गरेको, परीक्षा शुल्क, प्रमाण पत्र शुल्क, विद्यालयको कोषमा जम्मा नगरी हिनामिना गरेको, विद्यालयको भौतिक पूर्वाधारका काम नगरी नक्कली बिल भरपाइ बनाई कोषको रकम दुरुपयोग गरेको, शिक्षा ऐन र नियम विपरीत शिक्षक नियुक्ति गरेको भन्ने विषयको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा आरोपित व्यक्तिहरूको बयान कागज, जि.शि.का.धनुषा, नापी कार्यालय धनुषा तथा उक्त विद्यालयबाट प्राप्त निर्णय पुस्तिका, लेखापरीक्षण प्रतिवेदन समेतका प्रमाणहरूलाई अध्ययन विश्लेषण गर्दा सो विद्यालयको ०–०–११ जग्गामध्ये ०–०–५ क्षेत्रफलको जग्गा अतिक्रमण भएको देखिएकाले यसरी विद्यालयको स्वामित्वमा रहेको अतिक्रमित ०–०–५ क्षेत्रफलको जग्गा अतिक्रमण गर्नेहरूलाई हटाई विद्यालयले कम्पाउण्ड वाल (पर्खाल) लगाई संरक्षण गर्न र अनुसन्धानको क्रममा पूर्व प्र.अ. (हाल गोगलप्रसाद उ.मा.वि. बसहिया, धनुषामा कार्यरत शिक्षक) रवीन्द्र चौधरीले उक्त उ.मा.वि. मा प्र.अ. रहेको अवस्थामा सो विद्यालयको स्वामित्वमा रहेको माछा पोखरी ठेक्का लगाए बापत ठेकेदार रामनाथ मुखियाबाट प्राप्त भएको रु.८०,०००।– विद्यालयको कोषमा दाखिला नगरी आफूखुसी प्रयोग गरेकोले सो रकम निजबाट भरिभराउ गरी विद्यालयको कोषमा दाखिला गर्न आयोगको मिति २०७०।९।४ को निर्णयानुसार जिल्ला शिक्षा कार्यालय धनुषालाई लेखी पठाइएको ।

८.८    खप्तड बहुमुखी क्याम्पस मसुरिया कैलालीमा २०६३ सालदेखि क्याम्पस प्रमुख पदमा कार्यरत मदनराज जोशीले विगत लामो समयदेखि एकै स्थान तथा परिसरमा संचालनमा रहेका जनप्रिय उच्च माध्यमिक विद्यालय तथा खप्तड बहुमुखी क्याम्पस मसुरिया कैलाली समेतमा गरी दुवै शैक्षिक संस्थानमा गैरकानुनी ढंगले कार्यरत रहेको भन्ने उजुरी उपर अनुसन्धान हुँदा निज मदनराज जोशीले जनप्रिय उ.मा.वि. मा अनुदान कोटामा पनि कार्यरत रही एउटै व्यक्ति दुईवटा निकायमा कार्यरत रहेको भन्ने विषयका बारेमा निजसँग सोधनी गर्दा “बिहान ६.३० बजे देखि १०.३० बजे सम्म जनप्रिय उच्च मा.वि. र साँझ ४.०० बजेपछि खप्तड बहुमुखी क्याम्पसमा अध्यापन कार्य गर्नका लागि हालैमात्र जिल्ला शिक्षा कार्यालय, कैलालीबाट अनुमतिपत्र लिएको” भन्ने जानकारी दिएको । कहिलेदेखि दुईवटा शैक्षिक निकायमा पढाउन अनुमति लिएको हो भन्ने बारेमा जिल्ला शिक्षा कार्यालय कैलालीसँग बुझ्दा सो कार्यालयको मिति २०७०।५।११ को निर्णयले साविकमा कार्यरत विद्यालयको नियमित पठन पाठनमा असर नपर्ने गरी अनुमति हालै मात्र दिएको पाइयो । विद्यालयको वार्षिक लेखापरीक्षण प्रतिवेदनहरूमा “विद्यालय व्यवस्थापन समितिको मिति २०६५।६।९ को निर्णय अनुसार मा.वि.तहको अध्यापन गरेबापत रु.१,०००।– मात्र अतिरिक्त पारिश्रमिक–भत्ता प्रति कक्षा बापत दिने” भन्ने निर्णय गरिएकोमा व्यवस्थापन समितिको निर्णय स्वीकार नगरी निजले २०६६ मंसिरदेखि २०६८ आश्विन महिनासम्म एउटै संस्थासित आबद्ध रही पटक–पटक दोहोरो तलब–भत्ता, दशंै खर्च समेत विद्यालयबाट लिने गरेको देखियो । मा.वि. र उच्च मा.वि.तहको एउटै संस्थाको पूर्णकालीन शिक्षक भई तलबी रकम लिनु कानुनसम्मत देखिंदैन । यसरी दोहोरो तलब सुविधा उपयोग गर्न प्रचलित आर्थिक कार्यविधि ऐन तथा नियमावली तथा शिक्षा नियमावली, २०५९ ले पनि छुट नदिएको सन्दर्भमा एउटै संस्थासित आबद्ध शिक्षकले पाउने अतिरिक्त काम बापतको भत्ता समेतलाई हिसाब समायोजन गर्दा यस अवधिमा निजबाट रु.२,८२,५५०।– असुल उपर गरी विद्यालयको आम्दानी जनाउनुपर्ने” भन्ने उल्लेख भएको देखिन्छ ।

शिक्षा नियमावलीको नियम १३३ को व्यवस्था अनुसार समय नखप्टिने गरी जिल्ला शिक्षा कार्यालय, कैलालीबाट अनुमति लिएर मात्र अध्यापन गर्न सकिने व्यवस्थालाई समयमा पालना गरेको पनि नदेखिएको हुँदा विद्यालयको लेखापरीक्षण प्रतिवेदनले निज मदनराज जोशीबाट असुल हुनुपर्ने भनी औल्याइएको बेरुजु रकम कानुन अनुसार असुल हुनुपर्ने नै देखिन्छ । जनप्रिय उच्च मा.वि. विद्यालय व्यवस्थापन समितिका केही व्यक्तिहरूलाई प्रभावमा लिएर सो विद्यालयको नाममा रहेको लाखांै रकम निजले व्यक्तिगत रूपमा प्रयोग गरेको भन्ने आरोपका बारेमा उक्त विद्यालयको नाममा रहेका बंैक खाताहरू तथा लेखापरीक्षण प्रतिवेदनहरू अध्ययन गर्दा आ.व. २०६७।६८ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भई आएको विद्यालय व्यवस्थापन समितिको मिति २०६४।३।३१ र २०६५।६।९ को निर्णय अनुसार ऋण सापटीमा अनुमोदन भई खप्तड बहुमुखी क्याम्पसलाई ऋणस्वरूप रु.८,६८,९५९।– प्रदान गरेको मध्येमा रु.४,००,०००।– मात्र विद्यालयको मुद्दति हिसाबमा जम्मा भई रु.४,६८,९५९।– सोधभर्ना गर्न बाँकी रहेको देखिन्छ । सो रकम मिति २०६४।३।३२ मा खप्तड बहुमुखी क्याम्पसका क्याम्पस–प्रमुखले नगदै बुझिलिएको विद्यालयको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएको उक्त रकम असुल भएको छ छैन भन्ने सम्बन्धमा सम्बन्धित विद्यालयसँग सोधनी गर्दा निजबाट असुल हुनुपर्ने बेरुजु रकम फछ्र्यौट गर्न पत्राचार गर्दा हालसम्म पनि असुल उपर नभएको भन्ने उल्लेख भै आएको हुँदा निजले दोहोरो तलब भत्ता सुविधा बापतको रु.२,८२,५५०।– तथा ऋण सापटी बापत रु.४,६८,९५९।– गरी कुल रु.७,५१,५०९।– निजबाट तीन महिनाभित्र असुलउपर गरी जानकारी पठाउन आयोगको मिति २०७०।९।४ को निर्णयानुसार जिल्ला शिक्षा कार्यालय, कैलालीलाई लेखी पठाइएको ।

८.९    पोखरा विश्वविद्यालयमा भारतीय नागरिकलाई शिक्षकमा नियुक्ति गरेको, इन्जिनियरिङ भवन निर्माण गर्दा सार्वजनिक खरिद ऐनको प्रक्रिया अवलम्बन नगरेको भन्ने समेतको सम्बन्धमा अनुसन्धान हुँदा विश्वविद्यालयसँग गरेको कबुलियत बमोजिम अध्यापन कार्यमा नफर्की विदेशमै रहनुभएका उपप्राध्यापक यज्ञप्रसाद सुवेदीले २०६४।९।३० गतेदेखि तलबभत्ता बापत भुक्तानी लिएको रु.६,२२,२१४।७६ र सो को १० प्रतिशतले हुने ब्याज समेत निजबाट कानुन बमोजिम फिर्ता गरी विश्वविद्यालय कोषमा जम्मा गर्न आयोगको मिति २०७०।१०।७ को निर्णयानुसार पोखरा विश्वविद्यालय कार्यकारी परिषद्लाई लेखी पठाइएको ।

८.१०     काठमाडांै जिल्ला छैमले गा.वि.स.–३ स्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा आ.व. २०६६।६७ मा दलित विद्यार्थीका लागि प्राप्त रकम अन्यत्र खर्च गरेको, भवन निर्माणका लागि प्राप्त रकम तथा सांसद विकास कोषबाट प्राप्त रकम अनियमित ढंगले खर्च गरेको भन्ने समेत व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा श्रीकृष्ण माध्यमिक विद्यालय छैमलेबाट प्राप्त कागजात अनुसन्धानका क्रममा अध्ययन गरी हेर्दा जिल्ला शिक्षा कार्यालय काठमाडौंबाट आ.व. २०६६।६७ मा दलित विद्यार्थीका लागि प्राप्त रकम, भवन निर्माणका लागि प्राप्त रकम तथा सांसद विकास कोषबाट प्राप्त रकम अनियमित ढंगले खर्च गरेको देखिन   आएन । विद्यालयको आ.व. २०६७।६८ को लेखापरीक्षण प्रतिवेदनमा प्रधानाध्यापक जगदीशप्रसाद सिंहको पारिश्रमिक कर बापतको रकम रु.१,६२३।९० दाखिला नभएको भन्ने उल्लेख भएको हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दपmा १२क. बमोजिम प्रधानाध्यापक जगदीशप्रसाद सिंहबाट भरिभराउ गर्न र विद्यालयको अतिरिक्त क्रियाकलाप शीर्षकमा खर्च भएको रु.९,०००।– को बिल पेश हुनुपर्ने अन्यथा असुल उपर गर्नुपर्ने भन्ने उल्लेख भएको हुँदा लेखापरीक्षण प्रतिवेदनको दपmा १४ मा औल्याइए अनुसार कारबाही हुन र विद्यालयको लेखा प्रणाली व्यवस्थित रूपमा राख्न लगाउन आयोगको मिति २०७०।१०।८ को निर्णयानुसार जिल्ला शिक्षा कार्यालय काठमाडांैलाई लेखी पठाइएको । 

८.११    त्रियुगा उच्च माध्यमिक विद्यालय, गाईघाट, उदयपुरका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलदेव चौधरीले मिति २०६६।३।२४ मा क्याम्पस धरौटी भनी रु.१२ लाख र इन्जिनियरिङ क्याम्पस धरौटी भनी रु.१८ लाख २३ हजार पेश्की रकम लिएकोमा पेश्की फछ्र्यौट भई विद्यालयको खातामा रकम जम्मा नगरेको भनी परेको उजुरीका विषयमा अनुसन्धान हुँदा उजुरीमा उल्लेखित पेश्की रकममध्ये १२ लाख रुपैयाँ रा.वा.बैंक उदयपुरबाट मिति २०६६।३।२९ मा बलदेव चौधरीले भुक्तानी लिएको देखिन्छ भने इन्जिनियरिङ क्याम्पस धरौटीको नाममा उजुरीमा उल्लेख भएको पेश्की रु.१८,२३,०००।– बैंकबाट भुक्तानी लिएको देखिंदैन । साथै त्रियुगा उच्च माध्यमिक विद्यालयका सम्बन्धमा उल्लेखित पेश्की लगायतका अन्य शीर्षकका खर्चहरू समेतका विषयमा आवश्यक छानबिन गर्न आयोगमा यसभन्दा पूर्व उजुरी परेको र सो विषयमा अनुसन्धान भई आयोगको मिति २०७०।२।१४ को बैठक संख्या ५३२ को निर्णयबाट निज बलदेव चौधरीका नाममा आ.व. २०६६।६७ मा धरौटी, निर्माण र इँटा पेश्की भनी रु.३२,००,०००।– पेश्की रहेको, विद्यालयको हाताभित्र सञ्चालित बरुवा क्याम्पसलाई विभिन्न मितिमा सापटी दिएको रु.११,०९,३२०।– हालसम्म फिर्ता नभएको भनी यकिन गरिसकेको देखिंदा प्रस्तुत उजुरीमा उल्लेखित पेश्की रकमलाई पुनः समावेश गरी हिसाब गर्नुपर्ने देखिन नआए तापनि त्रियुगा उच्चमाध्यमिक विद्यालयको आ.व.२०६८।६९ को लेखापरीक्षण प्रतिवेदनमा गत वर्षको पेश्की रकम रु.६७,५१,५०९।३४ बिल भरपाईको आधारमा फछ्र्यौट गरिएको तर नापी किताब, प्राविधिक मूल्यांकन, कार्यसम्पन्न प्रतिवेदन लगायतका कागजातहरू पेश नभएको भनी बेरुजुसमेत औंल्याएको देखिएकोले आंैल्याएका बेरुजुहरू तत्काल फछ्र्याैट गर्ने गराउने तथा निज बलदेव चौधरीबाट पेश्की फछ्र्यौटका लागि पेश भएको बिल भरपाइको अधारमा पेश्की फछ्र्यौट र नियमित गर्नुपर्ने रकम नियमानुसार पेश्की फछ्र्यौट तथा नियमित गरी बाँकी हुन आउने पेश्की रकम निज बलदेव चौधरीको घर घरानाबाट ३ तीन महिनाभित्र असुल फछ्र्यौट गरी आयोगलाई जानकारी दिन र बरुवा क्याम्पस, गाईघाटले त्रियुगा उच्च माध्यमिक विद्यालयबाट लिएको सापटी रकम रु.११,०९,३२०।– मध्ये फिर्ता भएको रकम रु.७,८५,०००।– कट्टा गरी बाँकी हुन आउने रकम रु.३,२४,३२०।– उक्त क्याम्पसबाट तत्काल फिर्ता माग गर्ने तथा फिर्ता प्राप्त हुन नआएमा सापटी दिन संलग्न रहेका निज बलदेव चौधरी र त्रियुगा उच्च माध्यमिक विद्यालयका तत्कालीन प्र.अ.सत्यनारायण झाको घर घरानाबाट दामासाहीले असुल उपर गर्न गराउन आयोगको मिति २०७०।१०।८ को निर्णयानुसार जिल्ला शिक्षा कार्यालय उदयपुरलाई लेखी पठाइएको ।

८.१२    बारा जिल्लास्थित नेपाल राष्ट्रि«य माध्यमिक विद्यालय देवापुर बहुअर्वाका तत्कालीन प्र.अ. विन्देश्वरीप्रसाद साह समेतले विद्यालयको आयव्ययको जानकारी नगराउने तथा २०६४ सालदेखि २०६७ सम्म लेखापरीक्षण हिसाब किताब फछ्र्याैट नगरी रकम हिनामिना गरेको भन्ने उजुरी उपर अनुसन्धान हुँदा आ.व.२०६१।६२ देखि २०६६।६७ सम्म विद्यालयको आयव्ययको लेखापरीक्षण गराएको पाइयो । जिल्ला शिक्षा कार्यालय बाराबाट निकासा भएको रकम हिनामिना भएको नदेखिएको तथा विद्यालयमा कार्यरत शिक्षकहरूले नियमानुसार कट्टी हुने कर्मचारी संचय कोष नगदै बुझेको र पारिश्रमिकमा लाग्ने आयकर समेत कट्टी नगरिएको भनी विभिन्न आ.व.का लेखापरीक्षण प्रतिवेदन र छानबिन प्रतिवेदनबाट देखिन आएको । आ.व.२०६६।६७ को लेखापरीक्षण प्रतिवेदनले विन्देश्वरीप्रसाद साहले लिएको पेश्की रकम रु.१७,४३६।६० र नगद रु.१,०५०।१२ फछ्र्याैटका लागि पेश गरेका बिल भरपाइहरू रीतपूर्वक नभएकोले पेश्की फछ्यौट गर्न नमिल्ने भनी औल्याइएको पाइयो ।

नेपाल राष्ट्रि«य माध्यमिक विद्यालय देवापुर बहुअर्वा बाराका तत्कालीन प्र.अ विन्देश्वरीप्रसाद साह र कार्यरत शिक्षकहरूले आ. व. २०६१।६२ देखि २०६६।६७ सम्म नियमानुसार कट्टी हुने कर्मचारी संचय कोष कट्टा गरेको देखिएन । यसैगरी नियमानुसार पारिश्रमिक भुक्तानी गर्दा लाग्ने आयकर कट्टी भएको पनि नदेखिएको हुँदा नियमित गर्न र निज सेवानिवृत्त प्र.अ विन्देश्वरीप्रसाद साहको नाममा रहेको पेश्की रु.१७,४६३।६० र निजले लिएको नगद रु.१,०५०।१२ गरी कुल रु.१८,४८६।७२ हालसम्म फछ्र्याैट भएको नदेखिएकोले निजबाट असुल उपर गर्न आयोगको मिति २०७०।१०।२३ को निर्णयानुसार जिल्ला शिक्षा कार्यालय बारालाई लेखी पठाइएको । 

८.१३ धनुषा जिल्लास्थित क्षीरेश्वर जनता उच्च मा.वि., सखुवा, महेन्द्रनगर, धनुषाका निमित्त प्रधानाध्यापक बलराम प्रसाद यादव समेतले अनियमितता गरेको भन्ने सम्बन्धमा अनुसन्धान हुँदा क्षीरेश्वर जनता उच्च मा.वि., सखुवा, महेन्द्रनगरको जग्गामा आ.व.२०६७।६८को लागि गुदरी बजार र मवेशी बजारको ठेक्का लगाउन मिति २०६७।२।१ मा टेण्डर आह्वान भई गुदरी बजारको रु.१६ लाख न्यूनतम बोल राखिएकोमा गुदरी बजारको रु.१७,०७,७५७।– मा ठेक्का कबोल भएको र मवेशी बजारको रु.४१ लाख न्यूनतम बोल राखिएकोमा रु.७१,२५,५००।– ठेक्का कबोल गरेको भए तापनि मवेशी बजारबाट रु.५७,२१,५००।– उठी बाँकी रु.१४,०४,०००।– र गुदरी बजारबाट रु. ११,५३,४००।– उठी बाँकी रु.५,५४,३५७।– उठाउनुपर्ने देखिंदा सो सम्बन्धमा कारबाही गरिरहेको भनी क्षीरेश्वर जनता मा.वि.का निमित्त प्रधानाध्यापक बलरामप्रसाद यादव र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनकुमार सिंह समेतको बयानमा उल्लेख गरेको देखिएकोले उक्त बाँकी रकम रु.१९,५८,३५७।– ठेक्का कबोल गर्ने ठेकेदारहरूबाट तीन महिनाभित्र असुल उपर गरी जानकारी पठाउन जिल्ला शिक्षा कार्यालय, धनुषालाई लेखी पठाइएको  ।

क्षीरेश्वर जनता उच्च मा.वि.को आ.व.२०६६।६७ को लेखापरीक्षण प्रतिवेदन समेतमा असुल गर्नुपर्ने भनी उल्लेख भए अनुसार ठेकेदारहरू राम किसुन महतो, कृष्णकुमार साह, प्रमोदकुमार शाह, रामप्रकाश यादव, रामप्रकाश महतो लगायत सुकदेव सिंह समेत २५ जनासँग जम्मा रु.३८,८०,८२१।१३ असुल उपर गर्नुपर्ने र राम जुलुम यादव, वेचन विराजी र बलराम प्रसाद यादव सहित ३१ जनाको नाममा रहेको पेश्की रु.५,९९,६७५।८८ फछ्र्यौट वा असुल उपर गर्नुपर्ने देखिँदा निजहरूबाट तीन महिनाभित्र उक्त रकम असुल उपर गरी जानकारी पठाउन आयोगको मिति २०७०।११।१६ को निर्णयानुसार जिल्ला शिक्षा कार्यालय, धनुषालाई लेखी पठाइएको ।

८.१४.    लमजुङ जिल्ला मालिङ गा.वि.स.का सचिव परमानन्द लम्साल र पूर्व उपाध्यक्ष खजिन्द्र गुरुङ  समेतले गा.वि.स.मा विद्युत् विस्तार एवं बाटो निर्माणको रकम हिनामिना गरेको, गा.वि.स. सचिवले विवाह दर्ता र नागरिकताको सिफारिस गर्दा रकम लिएको, शारदा माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका लागि उठाएको रकम हिनामिना गरेको भन्ने समेतका सम्बन्धमा अनुसन्धान हुँदा लमजुङ जिल्ला मालिङ गा.वि.स.–३ स्थित शारदा माध्यमिक विद्यालयको स्वर्ण महोत्सव २०६७ मनाउने क्रममा संकलन भएको रकममध्येबाट देवीमाया घलेले रु.११,००,०००।– प्रधानाध्यापक रघुनाथ गुरुङले रु.१६,००,०००।– र खजिन्द्रबहादुर गुरुङले रु.२,००,०००।– कपाली तमसुक खडा गरीे सापटी लिएको देखिएकोले उक्त कार्य अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दपmा ३ (छ) बमोजिम आफ्नो पदको प्रकृति अनुसार पालन गर्नुपर्ने कर्तव्य पालना नगरी अनुचित कार्य गरेको देखिएकोले निजहरूबाट उक्त रकम लिएको मितिबाट कानुन बमोजिमको ब्याज र सावा समेत एक महिनाभित्र भरिभराउ गर्न आयोगको मिति २०७०।१२।९ को निर्णयानुसार जिल्ला शिक्षा कार्यालय लमजुङलाई लेखी  पठाइएको ।

८.१५    कास्की जिल्ला लेखनाथ नगरपालिका–१३ गगनगांैडास्थित गोगन उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बरालले विद्यालयमा व्यापक अनियमितता गरेको सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन प्रधानाध्यापक मोहन बरालको जिम्मा रहेको भनी आ.व.२०६६।६७ देखि २०६८।६९ सम्मको लेखापरीक्षण प्रतिवेदनमा देखाइएको रु.३,९७,२४०।२२ असुल उपर गर्न जिल्ला शिक्षा कार्यालयको धरौटी खातामा निजले राखेको धरौटी रकमबाट विद्यालयको खातामा जम्मा गरी बाँकी रकम निजबाट सरकारी बाँकी सरह असुल उपर गर्न गराउन तथा लेखापाल विष्णुप्रसाद खनालको जिम्मा रहेको रकममध्ये जिल्ला शिक्षा कार्यालयको धरौटी खाताबाट विद्यालयको खातामा जम्मा गर्न भनिएको रकम विद्यालयको खातामा जम्मा नभएको भए १५ दिनभित्र जम्मा गरी जानकारी गराउन आयोगको मिति २०७०।१२।९ को निर्णयानुसार जिल्ला शिक्षा कार्यालय, कास्कीलाई लेखी पठाइएको ।

८.१६    सिरहा जिल्ला, तेनुवापट्टी गा.वि.स.–२ तेनुवापट्टी अवस्थित श्री शंकर प्राथमिक विद्यालय २०६७ सालमा अनुमति पाई विद्यालय संचालनमा नरहेको, विद्यालयको आफ्नो जग्गा तथा भवन समेत नभएको, विभिन्न आर्थिक वर्र्षहरूमा जिल्ला शिक्षा कार्यालयबाट रकम निकासा भएको, सरकारी रकमको दुरुपयोग भएको, आयोगबाट खटिई गएको टोलीले गरेको स्थलगत निरीक्षणको क्रममा समेत विद्यालय नभेटेको भनी अनुगमन टोलीले पेश गरेको प्रतिवेदन सम्बन्धमा अनुसन्धान हुँदा कायम मुकायम जिल्ला शिक्षा अधिकारी कुमारी अम्बिका साहको कार्यकालमा रु.१,०००।– र कार्यक्रम अधिकृत गुदर महतोको कार्यकालमा रु.१२,२३५।– सरकारी रकम निकासा गरी गराई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ (ख) (घ) अनुसारको कसुर गरेको देखिन आएको हुँदा निजहरूको हकमा सोही ऐनको दफा १२क. बमोजिम हानि नोक्सानी गरी गराएको सरकारी रकम भरिभराउ गर्न आयोगको मिति २०७१।२।२८ को निर्णयानुसार अख्तियारवाला समक्ष लेखी पठाइएको ।

८.१७    सर्लाही जिल्ला मदनपुर स्रोतकेन्द्र अन्तर्गत पर्ने श्री रामचन्द्र सतीमाई प्राथमिक विद्यालयमा भएको सरकारी अनुदानको रूपमा प्राप्त बजेट रकम हिनामिना गरेको भन्ने सम्बन्धमा आयोगका तर्पmबाट स्थलगत निरीक्षण हुँदा विद्यालयको पढाई ब्रम्हस्थान मन्दिरको हवन गर्ने ठाउँमा कहिले काहीं हुने गरेको भनी स्थानीय व्यक्तिको भनाइ रहेको र उक्त विद्यालयको आफ्नो जग्गा भवन, फर्निचर, शौचालय लगायतका आवश्यक पूर्वाधार नभएको अवस्थामा तत्कालीन जिल्ला शिक्षा अधिकारी महेन्द्र महताले कक्षा २ को कक्षा थप अनुमति दिनुका साथै रु.२७,०२५।– निकासा गरेको, लेखापाल सुरप्रसाद दंगालले सो विद्यालयमा रु.४५,०००।– मसलन्द समेतमा दोहोरो निकासा गरेको र तत्कालीन जिल्ला शिक्षा अधिकारी सुकदेव सापकोटाले कक्षा ३ अपग्रेड गरी संचालनमा नरहेको विद्यालयलाई रु.८५,३२०।– निकासा समेत गरी अनुचित कार्य गरेको देखिंदा निजहरूबाट उक्त रकम असुल उपर गर्न आयोगको मिति २०७१।३।१ को निर्णयानुसार शिक्षा मन्त्रालयलाई लेखी पठाइएको ।

८.१८    सर्लाही जिल्ला मलंगवा स्रोतकेन्द्र अन्तर्गत सामुदायिक प्रा.वि. भाडसर–४, सर्लाहीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक समेतले विद्यालयमा अनियमितता गरेको भन्ने सम्बन्धमा तत्कालीन जि.शि.अ. महेन्द्र महतो, सुकदेव सापकोटा र वर्तमान जि.शि.अ.राजकुमार वि.क.ले संचालनमै नरहेको उक्त विद्यालयलाई रकम निकासा गरेकोमा निजहरूको उक्त कार्य अनुचित भएको देखिंदा का.मु. जि.शि.अ. महेन्द्र महतोबाट रु.७६,६८८।–, जि.शि.अ. सुकदेव सापकोटाबाट रु.३७,०६५।– र जि.शि.अ. राजकुमार वि.क.बाट रु.४०,०३३।– भरिभराउ गर्न आयोगको मिति २०७१।३।१ को निर्णयानुसार शिक्षा मन्त्रालयलाई लेखी पठाइएको ।

प्रतिक्रिया