Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

कार्यदलको एजेन्डा परीक्षा प्रणाली सुधार गर्ने

मंगलबार, १२ फागुन २०७१

काठमाडौं, १२ फागुन/उच्च माध्यमिक शिक्षा परिषद् सुधार गर्न मंगलबार गठित उच्च स्तरीय कार्यदलले परीक्षा प्रणाली व्यवस्थित गर्ने मुख्य एजेन्डा अघि सारेको छ ।

परिषद्को परीक्षा, शिक्षक व्यवस्थापन, पाठ्यक्रम परिमार्जन लगायतको समस्या छ । वैशाखमा भएको परीक्षाको नतिजा माघमा हुन थालेपछि परिषद्को काम माथि चौतर्फी आलोचना हुन थालेको थियो । यसलाई व्यवस्थित गर्न मंगलबार शिक्षामन्त्री स्तरीय बैठकले सभाषद् एवं उच्च माध्यमिक विद्यालय संघ हिसानका अध्यक्ष उमेश श्रेष्ठको संयोजकत्वमा ९ सदसीय समस्या समाधान उच्च स्तरीय कार्यदल गठन गरेको हो । परिषद्को बोर्ड बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

कार्यदलमा कसलाई राख्ने भन्ने चाहि परिषद् अध्यक्ष एवं शिक्षामन्त्री चित्रलेखा यादवलाई जिम्मेवारी दिइएको थियो ।  बैठकको निर्णय अनुसार मन्त्रीले सरोकारवालालाई समटेर कार्यदल गठन गरेकी हुन् । कार्यदलमा शिक्षा विभाग, अभिभावक संघ, सामुदायिक विद्यालयका प्रधानाध्यापक, निजी प्लस टु सञ्चालक, हिसान, हिस्टान, उच्च माध्यमिक शिक्षा परिषद् र परीक्षा सञ्चालन समितिका प्रतिनिधि रहेको छ । कार्यदललाई तीन महिनाको समय दिइएको छ ।  

कार्यदलका संयोजक श्रेष्ठले परिषद्मा परीक्षा प्रणाली अस्तव्यस्त भएकोले व्यवस्थित गर्ने उपाय सहितको सुझाव दिने बताए । ‘परीक्षा प्रणाली व्यवस्थित गर्नु मुख्य काम हुनेछ,’उनले भने,‘विद्यार्थीले उत्तरपुस्तिका हेर्न पाउनु पाउनु पर्ने व्यवस्था गर्न सुझाव दिन्छौ ।’ 

अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले कार्यदलले आफैले कार्यक्षेत्र तय गरेर सुधारको बाटो पहिल्याउने बताए । हिस्टानका अध्यक्ष दिपक सुवेदीले अर्थमन्त्रालयले २ हजार ७ सय सामुदायिक उच्च माध्यमिक विद्यालयमा १ जनाको दरले पनि दरबन्दी नपुग्ने गरी दरबन्दी स्वीकृत गर्न लागेकोले आफूले यही एजेन्डा अघि सार्ने बताए । उनका अनुसार अर्थ मन्त्रालयबाट २ हजार शिक्षकको दरबन्दी स्वीकृत हुन लागेको छ ।  

प्रतिक्रिया